१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भूमिहीनलाई जग्गा वितरण अन्तिम चरणमा

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीका दुई पालिकाका करिब ५ हजार भूमिहीनलाई जग्गा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जिल्लाको आठवटा पालिकामा काम गरिरहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सर्लाहीले पहिलो चरणमा लालबन्दी र वाग्मती नगरपालिकाका करिब ५ हजार भूमिहीनलाई जग्गा वितरणको तयारी थालेको हो । 

भूमिहीनलाई जग्गा वितरण अन्तिम चरणमा

आयोगले जिल्लाको वाग्मती, हरिवन, लालबन्दी, ईश्वरपुर, बरहथवा, हरिपुर, कविलासी नगरपालिका र चन्द्रनगर गाउँपालिकासँग सम्झौता गरी काम गरिरहेको छ । जसअनुसार पहिलो चरणमा वाग्मती नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी ४ हजार ३ सय ७८ जनालाई ८ हजार ७ सय ५७ कित्ता जग्गा नापजाँच गरी वितरणको अन्तिम तयारीमा रहेको आयोगले जनाएको छ । वाग्मतीमा भूमिहीनहरूका लागि १० धुरदेखि १ कट्ठासम्मको घडेरी र ५ कट्ठा खेतीयोग्य जग्गा प्रदान गरिनेछ ।

यस्तै, पहिलो चरणअन्तर्गत नै लालबन्दी नगरपालिकामा ३ सय ५७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई प्रतिव्यक्ति करिब १ कट्ठाका दरले वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता मदनबहादुर विश्वकर्माले जानकारी दिए । उनले १५–१५ दिनको दुईवटा सूचना र एक हप्ताको अर्को एकवटा सूचना प्रकाशित भएपछि भूमिहीन सुकुम्बासीले जग्गा प्राप्ति गर्ने बताए । ‘वाग्मती र लालबन्दी नगरपालिकामा पहिलो चरणमा हामीले भूमिहीनलाई जग्गा बाँड्न लागेका छौं, यसका लागि सूचना मात्र निकाल्न बाँकी छ,’ उनले भने, ‘पहिलो पटक प्रकाशित सूचनाको मितिले ३६ दिनभित्रमा जग्गासहित लालपुर्जा पाउनेछन् ।’

सम्झौता भएका अन्य ६ पालिकामा पनि प्रक्रियागत काम भइरहेको जनाउँदै आयोगका जिल्ला अध्यक्ष चन्द्रप्रसाद वाग्लेले विभिन्न बाधा अवरोधको सामना गर्नु परिरहेको जनाएका छन् । वाग्लेले प्रविधि प्रयोग गरेर काम गर्नुपर्दा अहिलेको विकसित प्रविधि प्रयोग गरी पुर्जा बनाउन सक्ने अमिन र सर्वेक्षक नहुँदा भने समस्या भइरहेको बताए । उनले कतिपय स्थानी तहमा जग्गा नापजाँच र पुर्जा बाँड्न अत्यन्तै चुनौतीपूर्ण रहेकाले त्यहाँका जनप्रतिनिधिले नै चासो र उत्सुकता नदेखाउँदा समस्या भइरहेको गुनासो पोखे ।

‘पहिलो चरणमा आठवटा स्थानीय तहमा सुकुम्बासीका लागि काम अगाडि बढाएका छौं, जसमा केही स्थानीय तहका जनप्रतिनिधिले सहयोग गरिरहेका छन्, भने केही स्थानीय तहका जनप्रतिनिधि चुनौती रहेको जनाउँदै उत्सुकता देखाइरहनुभएको छैन,’ उनले भने, ‘उत्सुकता नदेखाएका स्थानीय तहमा काम गर्न असहज भइरहेको छ ।’ यी ८ पालिकामा मात्र भूमिहीन दलित ३ हजार २ सय ३७ जना, भूमिहीन सुकुम्बासी ७ हजार ५ सय ८१ जना, अव्यवस्थित बसोबासी ३० हजार ७ सय ८० जना र अधुरा अपूरा ६ सय १९ जनाको लगत संकलनको तथ्यांक आयोगको जिल्ला समितिमा छ ।

प्रकाशित : भाद्र ६, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?