१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

विद्युत् कटौतीले उपभोक्ता हैरान

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा विद्युत् कटौतीको समस्याले उपभोक्ता आजित भएका छन् । चर्को गर्मीबीच विद्युत् कटौती र कम भोल्टेजको समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ । तुलनात्मक रूपमा जिल्लाको उत्तरीभन्दा दक्षिणी क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या छ ।

विद्युत् कटौतीले उपभोक्ता हैरान

मुलुक लोडसेडिङ मुक्त घोषणा गरिए पनि त्यस्तो अनुभूति गर्न नपाएको कविलासी नगरपालिका–७ सिर्सियाका शम्भु रायले बताए । रातभरि विद्युत् नहुँदा गर्मीले निदाउनै नसकिएको उनको गुनासो छ । छिनछिनमै विद्युत् जाने र रातभरि नआउने समस्या बढेपछि सिर्सियाका स्थानीयले केही दिनअघि सडक अवरुद्ध गरे । त्यसपछि केही दिन विद्युत् आपूर्तिमा खासै समस्या नदेखिए पनि फेरि छिनछिनमै विद्युत् जाने आउने भइरहेको रायले बताए । ‘मुलुक लोडसेडिङमुक्त भएको भनिएको छ, हामी रातभरि गर्मीले बेहाल भइरहेका छौं, फेरि पनि आन्दोलन नै गर्नुपर्नेजस्तो भएको छ,’ उनले भने ।

जिल्ला उत्तरी क्षेत्रमा समेत बिहीबार दिनभरि विद्युत् अवरुद्ध बन्यो । ३३ केभीमा समस्या आएको भन्दै लालबन्दी वितरण केन्द्रले दिनभरि विद्युत् छोडेन । बिहानै कटेको विद्युत् बिहीबार साँझ मात्र आपूर्ति भयो । विद्युत् नियमित नहुँदा दिनभरिको टन्टलापुर घामले यस क्षेत्रका सर्वसाधारणले सास्ती भोग्नुपर्‍यो । बिहान खेतमा काम गरेर आराम गर्ने बेलामा विद्युत् नहुँदा रूखको छहारीमा ओत लाग्नुपरेको हरैयाका विष्णु राउतले बताए । जिल्लामा केही दिनदेखि पटक–पटक विद्युत् आउने जाने समस्या हुँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो छ । विद्युत् अनियमित भएकै कारण विद्युतीय सामग्री खराब हुन थालेको सदरमुकाम मलंगवामा सञ्चालनमा रहेको अमन कोल्ड स्टोरका सञ्चालक अजित सिंहले बताए । बिजुलीबाट चल्ने व्यापार, व्यवसाय प्रभावित भइरहेका छन् ।

विद्युत् प्राधिकरणले भने मागअनुसार आपूर्ति हुन नसक्दा विद्युत्को अनियमित कटौती भइरहेको जनाएको छ । विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख विनोद यादवलाई अनियमित विद्युत् कटौतीका बारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । मलंगवा वितरण केन्द्रमा नागरिकको गुनासो नै नसुन्ने गरेको सर्वसाधरण बताउँछन् । नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले प्राधिकरणमा नागरिकको पहुँच हुने नसकेको बताए । ‘गर्मीमा अनियमित विद्युत् कटौतीका बारेमा बुझ्न मलंगवा वितरण केन्द्रमा फोन गरे पनि जवाफ नै पाइँदैन,’ उनले भने ।

प्रकाशित : भाद्र ५, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?