कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वीरगन्जमा २० वर्षपछि लाखे नाच

शंकर आचार्य

पर्सा — ‘धेरै वर्षको अन्तरालपछि वीरगन्जमा पनि लाखे नाच्यो र लाखे नाचले निरन्तरता पायो,’ प्राध्यापक सुशील भट्टराईले शुक्रबार लाखे नाचको तस्बिरसहित फेसबुकमा स्टाटस लेखे ।

वीरगन्जमा २० वर्षपछि लाखे नाच

अर्का स्थानीय सुरजराज पन्तले पनि स्टाटस लेखे, ‘लाखे नाचले बाल्यकालको यादलाई ताजा बनाइदियो, अरूको संस्कृतिको पछि लाग्न छाडेर हामीले हाम्रो संस्कृतिको संरक्षण गर्नतर्फ ध्यान दिन जरुरी छ, होइन भने हाम्रो पहिचान मेटिन बेर लाग्दैन ।’

लाखे नाच हेरेर रमाउने धेरै वीरगन्जवासीले शुक्रबार साँझदेखि नै सामाजिक सञ्जालबाट आफ्नो खुसी बाँडे । बिर्तामाई संरक्षण समिति मुख्य आयोजक रहेको लाखे नाच कार्यक्रमको सहआयोजकमा खड्की समाज, नेवा दे दबुलगायतका अन्य संस्था थिए । कृष्ण जन्माष्टमीका अवसर पारेर आयोजित लाखे नाचको मज्जा लिनेमा अन्य समुदाय पनि थिए । अधिकांशले वीरगन्जमा यसरी लाखे नाचेको दृश्य जीवनकै पहिलो पटक देखेका थिए ।

वीरगन्जको गणेशमान चोक, माइस्थान, आदर्शनगर, बिर्ता मन्दिर क्षेत्रमा नाच देखाइएको थियो । लाखेसँगै भैरव र भैरवनीको टोलीले नृत्य प्रदर्शन गरेको थियो । नाच हेर्न भीड नै लाग्यो । नेवा दे दबु वीरगन्जका पूर्वअध्यक्ष सुन्दर श्रेष्ठले वीरगन्जमा नेवारी संस्कृति र संस्कार बचाइराख्ने उद्देश्यले लाखे नाचको टोलीलाई काठमाडौंबाट बोलाएर नाच देखाइएको बताए । ‘मलाई सम्झना भएसम्म वीरगन्जमा करिब २० वर्षपछि लाखे नाचेको हो, पहिलो मधेस आन्दोलनभन्दा अघि यहाँ एकपटक लाखे नाचेको सम्झना छ,’ उनले भने, ‘नेवार मात्र नभई गैरनेवारले पनि लाखे नाचको आनन्द लिए ।’

सामाजिक अभियन्ता प्रकाश थारूले वीरगन्ज जातीय र भाषिक विविधता भएको ठाउँ भएकाले यहाँ हरेक जातिको संस्कृति, कला, परम्परा र पहिचानको संरक्षण र संवर्द्धन आवश्यक रहेको बताए । ‘अझ नेवारी कला र संस्कृति समृद्ध छ, यहाँका नेवारले आफ्नो कला र संस्कृति जोगाउन सक्दो प्रयास गरेका छन्,’ उनले भने, ‘हाम्रो पनि यसमा समर्थन र साथ छ ।’

प्रकाशित : भाद्र ५, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?