कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रादेशिक अस्पतालको जग्गा विवाद

‘सम्झौताका सर्तहरु पालना गर्नुको साटो मधेस सरकारले दाता परिवारको मानमर्दन गर्‍यो’
भरत जर्घामगर

सिरहा — लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल प्रादेशिक अस्पतालमा रुपान्तरण भएपछि अस्पतालले चर्चिएको जग्गाको स्वामित्वको विवाद बल्झिएको छ । लहानका अग्रणी व्यापारिक घराना मुरारका र शारडा परिवारले पूर्व–पश्चिम राजमार्गमैं टाँसिएको जग्गा संयुक्त रूपमा खरिद गरी ४१ वर्षअघि भवन निर्माण गरेर अस्पताललाई हस्तान्तरण गरेका थिए ।

प्रादेशिक अस्पतालको जग्गा विवाद

भवन हस्तान्तरण गरे पनि त्यत्तिखेर १ बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा नामसारी नगरी दुवै परिवारका अग्रज व्यक्तित्वको सम्झनामा रामकुमार उमाप्रसाद स्मारक अस्पताल नाम राखी सञ्चालन गरिएको थियो ।

जग्गा दुलिचन्द शारडा, महेश्वरी र परमेश्वरीलाल मुरारकाको संयुक्त नाममा छ । नामसारी गरिएको छैन । जग्गा नामसारी नभए पनि स्वास्थ्य सेवा विभागले १५ शय्यास्तरको सेवा, सुविधा र बजेट दिँदै २०३८ सालदेखि नै अस्पताल सञ्चालन गर्दै आएको छ । दाता परिवारको तर्फबाट आत्माराम मुरारका र शिवरतन शारडा तथा सरकारको तर्फबाट स्वास्थ्य सेवा विभागका तत्कालीन निमित्त प्रशासकीय अधिकृत मदनदेव आचार्यबीच २०३५ भदौ २९ मा सम्झौता भएको थियो ।

सम्झौतामा भएका सर्तहरूमध्ये दाता परिवारहरूले आफूहरूलाई अस्पताल विकास समितिमा मनोनीत गर्नुपर्ने र अस्पताललाई २५ शय्यासरहको सेवा सुविधा उपलब्ध गराउनुपर्ने सर्त सरकारको तर्फबाट पालना नभएको भन्दै अस्पताल र त्यसले चर्चिएको जग्गा सरकारलाई हस्तान्तरण गर्न मानेका थिएनन् । तर, सम्झौताको बुँदा नम्बर १ मा दाता परिवारले खरिद गरेको जग्गा तथा निर्माण सम्पन्न भएको भवन २०३८ सालमा सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ ।

‘अस्पतालको नाममा जग्गा हस्तान्तरण नहुँदा अस्पतालको सेवा सुविधा थप गर्न नसकेका कारण यसअगाडिका अस्पताल विकास समितिले पटकपटक दाता परिवारसँग जग्गाको स्वामित्व हस्तान्तरण गर्न माग गरेको थियो,’ समितिका पूर्वअध्यक्ष फुलेश्वर महतोले भने, ‘तर प्रत्येक भेटमा दाता परिवारले सोही सर्त विभागले पालना नगरेसम्म जग्गा हस्तान्तरण नगर्ने अडान राख्दै आएको थियो ।’

अस्पतालको जग्गाको स्वामित्वमा किचलो भइरहेकै अवस्थामा मधेस सरकारले गत २०७८ पुस १ को मन्त्रिपरिषद्को निर्णयबाट अस्पतालको नाम नै परिवर्तन गरी प्रादेशिक अस्पतालको रूपमा रूपान्तरण गरेको छ । मधेस सरकारको उक्त निर्णयबाट अस्पतालको नाम रामकुमार उमाप्रसाद स्मारक अस्पतालको सट्टा प्रादेशिक अस्पताल लहान रहने गरी परिवर्तन भएको छ ।

यो निर्णयबाट अस्पतालको जग्गाको स्वामित्वको विवाद फेरी बल्झिएको छ । ‘हामीले पटकपटक दाता परिवारलाई अस्पतालले चर्चेको जग्गा अस्पतालकै नाममा स्थानान्तरण गर्न पछिल्लो पटक मनाइसकेका थियौं,’ अस्पताल अवस्थित लहान–३ का वडाध्यक्ष रामदयाल महतोले भने, ‘तर अस्पतालको जग्गा विवाद नसुल्झिँदै मधेस सरकारले एक्कासि दाताको नाम हटाएर गरेको निर्णयले हाम्रो सबै प्रयास असफल भएको छ ।’

जुन दाताले जग्गा खरिद गरी भवन निर्माण गरेर अस्पताल सञ्चालन गराए उनै दाताहरूको नाम हटाएर मधेस सरकारले अपमान गरेर दुःखी तुल्याएको उनले गुनासो गरे । अस्पतालको नाम परिवर्तन भएपछि दाता परिवारले जग्गा अस्पताललाई हस्तान्तरण नगर्ने बताउँदै आएका छन् । जग्गादातामध्ये शारडा परिवारको प्रतिनिधित्व गरेका पवन शारडाले अब कुनै पनि हालतमा उक्त जग्गा अस्पताललाई हस्तान्तरण नगर्ने बताए ।

‘सम्झौताका सर्तहरूलाई पालना गर्नुको साटो मधेस सरकारले दाता परिवारको मानमर्दन गर्‍यो,’ शारडाले भने, ‘अब परिआएको खेप्छौं तर जग्गा हस्तान्तरण नगर्ने सवालमा हामी दुवै मुरारका र शारडा परिवारबीच कुरा भइसकेको छ ।’ उता, अस्पताल प्रशासनले वर्षौंदेखिको जग्गा स्वामित्व विवाद नसुल्झिँदा अस्पतालको सेवा, सुविधा र स्तरोन्नतिमा समेत विभागीय समस्याहरू हुने गरेको जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०७९ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?