५ वर्षपछि पुलको पहुँचमार्ग तयार

शंकर आचार्य

पर्सा — भारतीय पक्षको सहमतिमै अन्ततः ठोरीस्थित ठुटे खोलामा करिब पाँच वर्षदेखि बन्न नसकेको एप्रोच सडक पूरा भएको छ । नेपाल र भारत दुवैतर्फ कुलो प्रयोजनका लागि आठवटा ह्युम पाइप हालेर त्यसमाथि सडक बनाइएको हो । 

स्थानीय चिरञ्जीवी सापकोटाका अनुसार ठोरी गाउँपालिकाले सडक निर्माण गरेको हो । गाउँपालिकाका जनप्रतिनिधि तथा सीमापारि भारतीय गाउँ पञ्चायत धमौराका अध्यक्ष रामविहारी महतोको सहभागितामा बिहीबार करिब ५० मिटर एप्रोच सडक बनाइएको छ ।

पुलको पूर्वतर्फ एप्रोच सडक नहुँदा वीरगन्ज–ठोरी हुलाकी सडक खण्ड हुँदै गुड्ने सवारीसाधन तथा बटुवाहरू खोलामा बनेको डाइभर्सन प्रयोग गर्न बाध्य थिए । ठोरी–२ र ३ को सीमानामा पर्ने उक्त पुलको पूर्वतर्फ ठुटे खोलाबाट अन्यायपूर्ण तरिकाले कुलो बनाएर भारतमा बढी पानी लगिएको भन्दै कुलोको समस्या समाधान नहुन्जेल एप्रोच सडक निर्माण तथा त्यसमा कल्भर्ट हालेर हालको कुलोलाई निरन्तरता नदिने अडान

केही स्थानीय तथा विगतका जनप्रतिनिधिले लिँदै आएका थिए । यो समस्या सुरु भएदेखि जिल्लामा आधा दर्जन प्रमुख जिल्ला अधिकारी फेरिए । जनप्रतिनिधिहरूको एक कार्यकाल सकिए पनि विवाद समाधान हुन सकेको थिएन ।

यसअघि सीमापारि भिखनाठोरीदेखि सहोदरासम्मका भारतीय जनता तथा त्यहाँका जनप्रतिनिधिहरूले पनि साबिककै अवस्थाको कुलोलाई निरन्तरता दिएर सहज रूपले बग्न दिन पुलको पूर्वतर्फ कल्भर्ट निर्माण गरिनुपर्ने माग राख्दै आएका थिए । भारतीय जनतालाई सीमामा क्याम्प खडा गरेर बसेको भारतीय सुरक्षा फौज एसएसबीले समेत साथ दिँदै आएको थियो । पहिलो लकडाउनको समयमा ठेकेदार कम्पनीले एप्रोच सडक बनाउन खोज्दा भारतीय सुरक्षा फौज एसएसबीले अवरोध गरेका थिए ।

सोही कारण हुलाकी सडक ठेकेदार कम्पनी बानियाँ/कालिका कन्स्ट्रक्सनले यसै वर्षको वैशाखमा पुलको एप्रोच सडक तथा अन्य विवाद रहेका स्थानमा समेत सडक निर्माण नसकी सडक हस्तान्तरण गरेको थियो ।

पुल निर्माण भएको धेरैपछिसम्म पनि भारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटेखोलाको मुहान प्रयोग गरी वर्षौंदेखि २ वटा कुलो सिँचाइका लागि प्रयोग गर्दै आएको थियो । त्यहाँ ३ वटा कुलो रहेकोमा एउटा मात्र नेपाली पक्षले प्रयोग गरिरहेको छ । भारततर्फको कुलोमा बढी र नेपालको कुलोमा कम पानी प्रवाह हुने गरेको छ । २०२१ सालमा यसरी कुलो बनाएर हालसम्म कुलोको पानी प्रयोग हुँदै आएको हो ।

स्थानीय ललित बस्नेतले हाल पनि भारतीय पक्षलाई बढी पानी दिने गरी ह्युम पाइप राखिएकोमा धेरै ठोरीवासी असन्तुष्ट रहेको बताए । ‘नेपाली भूमिबाट भारतीयलाई फाइदा हुने गरी कुलो बनाएर बढी पानी दिइएको र नेपाली किसानले कम पानी पाएको विरोध गरी आएका थियौं,’ उनले भने, ‘तर अहिले पनि भारतीयलाई फाइदा हुने गरी ह्युम पाइप हालियो भारततर्फ २ वटा र नेपालतर्फ एउटा मात्र कुलो हुने भयो ।’

प्रकाशित : भाद्र ४, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?