नाकामा दिनदिनै संक्रमित

वीरगन्ज — कोरोनाको चौथो लहर सुरु भएयता वीरगन्जस्थित सीमा हेल्थ डेस्कमा १ सय १९ कोरोना संक्रमित फेला परेका छन् । डेस्ककी प्रमुख डा अनिशा महतोका अनुसार, जेठ महिनामा ३, असारमा ५० र साउनमा ६६ जना कोरोना संक्रमित फेला परेका हुन् । 

नाकामा दिनदिनै संक्रमित

यस वर्ष जेठ २३ गते पहिलो पटक एक भारतीयमा कोरोना संक्रमण पुष्टी भएको थियो । जेठ महिनामा कूल १२ हजार ९ सय ३९ जनाको स्क्रिनिङ र ३ हजार ६ सय ६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यसैगरी, असार महिनामा ११ हजार ४ सय १२ जनाको स्क्रिनिङ र ३ हजार ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । साउनमा १२ हजार ३ सय २५ जनाको स्क्रिनिङ र ३ हजार ७ सय ११ जनाको

एन्टिजेन परीक्षण गर्दा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुष्टि भएकामा अधिकांश भारतीय छन् । उनीहरूमध्ये केही नेपालमा मजदुरी गर्न, केही व्यावसायिक यात्रामा र केही पर्यटन तथा तीर्थाटन प्रयोजनले नेपाल आउन लागेका थिए ।

सुरुमा बढीजसो भारतको कोलकाता, दिल्ली, गाजियाबाद आदि सहरबाट आउनेहरूमा कोरोना संक्रमण देखिने गरेकोमा पछि भारतको सबै राज्यबाट आउनेहरूमा कोरोना संक्रमण देखिन थालेको थियो । साउनमा भारतको उडिसा र कोलकाताबाट आउने धार्मिक पर्यटकहरूको संख्या बढी रहेको र उनीहरूमै संक्रमित पनि बढी देखिएको डा. महतो बताउँछिन् । ‘साउनमा पशुपतिनाथको दर्शन प्रयोजनले भारतको दुरदराजबाट धार्मिक पर्यटकहरू आएका थिए,’ उनले भने, ‘४–५ जनाको समूहमा १ जनामा संक्रमण देखिन्थ्यो, संक्रमितलाई भारत नै फिर्ता पठाउछौं ।’

डेस्कमा हालका दैनिक १/२ जनाका संक्रमित पुष्टि हुने गरेको उनले बताइन् । गतवर्षको फागुनदेखि जेठको तेस्रो सातासम्म यो नाकामा एउटा पनि कोरोना संक्रमित फेला परेका थिएनन् । भारतबाट नेपाल प्रवेश गर्नेहरूको डेस्कमा नियमित स्क्रिनिङ र एन्टिजेन परीक्षण गर्ने गरिएको उनले बताइन् । हाल पनि दैनिक ४ सय देखि ५ सय जनाको स्क्रिनिङ र १ सय देखि १ सय ५० जना सम्मको एन्टिजेन परीक्षण गर्ने गरिएको उनले बताइन् ।

प्रकाशित : भाद्र २, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?