कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सैलुन व्यवसायमा युवा आकर्षण

रौतहट — हेयर स्टाइलिस्ट सञ्जय ठाकुर युवामाझ लोकप्रिय नाम हो । चन्द्रपुर–४ स्थित भान्जा हेयर कटिङ सैलुन खोलेका २६ वर्षीय उनी विभिन्न खाले कपालको स्टाइल, मसाज, फेसियलका कारण लोकप्रिय छन् ।

उनले खोलेको सैलुनमा काम गर्ने सबै युवा नै छन् । चन्द्रनिगाहपुरस्थित मुख्य चोकनजिक सञ्जयले सैलुन खोलेका छन् ।

‘युवाका साथै विभिन्न उमेर समूहका मानिससमेत खोज्दै आउँछन् । उनीहरू हाम्रो कामबाट सन्तुष्ट छन्,’ उनले भने, ‘कहिलेकाहीं त नभ्याएर ग्राहक फर्कन्छन् र भोलिपल्ट आउँछन् ।’ कुनै बेला उनी विदेश जाने सोचमा थिए । कमाइ राम्रो भएपछि स्वदेशमै बस्ने निर्णय गरे । अहिले दैनिक ५ हजार रुपैयाँभन्दा बढी कमाउँछन् । यही पेसाबाट ९ जनाको परिवार पालेका छन् ।

जिल्लाको अधिकांश सैलुनमा काम गर्नेमध्ये युवा धेरै छन् । नेपाल नाई संघ रौतहटका अध्यक्ष भूषण ठाकुरले जिल्लामा ३ सयका हाराहारीमा सैलुन खोलिएको बताए । ‘सबैमा युवाले काम गर्न थालेका छन् । नयाँ पुस्ताका साथै सबैको रोजाइमा युवा पर्न थाले,’ उनले भने, ‘अव बुढापाका सैलुनबाट विस्थापित भए । युवाकै कामबाट सबै मख्ख छन् ।’ कोभिडका कारण जिल्लाका सैलुन व्यवसायी मारमा परे पनि कसैले पेसा नछाडेको उनको भनाइ छ । युवाहरू आफैं काम सिकेर धमाधम सैलुन खोल्न थालेका छन् । सुरुमा सामान्य सैलुन खोल्नेहरू अहिले सजावट र एसी जडान गरेर चिटिक्क पार्न थालेका छन् । ‘अहिले जतासुकै हेयर स्टाइलिस्टका रूपमा चिनिनु मेरा लागि ठूलो कुरा हो,’ अर्का हेयर स्टाइलिस्ट रिजय ठाकुरले भने । उनी पनि युवाबीच लोकप्रिय कपाल काट्नेमा चिनिन्छन् । ‘हेयर स्टाइल फेसनको एउटा भाग पनि हो । कपालमा पहिले धेरै ध्यान दिइँदैनथ्यो, अहिले भने धेरैले यसको महत्त्व बुझेका छन्,’ उनले भने । धेरैजसो युवा विदेश जान छाडेर सैलुन खोली यहीं कमाउन थालेको संघका अध्यक्ष भूषणले जानकारी दिए । केही युवा सहरमा कामका लागि जान्छन् । उनीहरू केही वर्ष काम सिकेर गाउँ आउने गरेका छन् । ‘यसरी सैलुन खोलेर बसेकाहरू कोही पनि आर्थिक रूपमा कमजोर छैनन्,’ ठाकुर भन्छन्, ‘राम्ररी सीप सिकेर काम गर्न सके युवालाई आफ्नै भूमिमा प्रशस्त अवसर छ ।’

प्रकाशित : भाद्र १, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?