नगर परिषद्‌मा अझै झमेला

योजना तर्जुमा र बजेट बाँडफाँटमा विवाद, बहुमत नपुग्दा ९ पालिकाले गर्न सकेनन् परिषद्
शिव पुरी

रौतहट — आर्थिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि रौतहटका केही पालिकाले बजेट पास गर्न सकेका छैनन् । योजना तर्जुमा र बजेट बाँडफाँट गरेर नगर सभाबाट बजेट पास गराई त्यसको विवरण संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने नियम छ । तर, बहुमत नपुगेकाले रौतहटका केही पालिकाको बजेट पास हुन सकेको छैन ।

नगर परिषद्‌मा अझै झमेला

केहीको अदालतमा रिट परेकाले स्थगित छ । रौतहटका ९ नगरपालिकाले अहिलेसम्म मन्त्रालयमा विवरण पठाएका छैनन् ।

जिल्लाको कटहरिया नगरपालिकाले गएको असार १० मा नै नगरसभा सुरु गरेको थियो । तर अहिलेसम्म बजेट पारित गर्न सकेको छैन् । नगरप्रमुख अजय प्रकाश र उपप्रमुख रितादेवीबीचको बिवादले बजेट पास हुन नसकेको हो । उपप्रमुख रिताले नगरप्रमुख अजयले मनोमानी ढंगले बजेट बनाएपछि असन्तुष्टि जनाएको बताइन् । ‘नगरसभा सुरु भएपछि बजेट बनाउँदा मलाई कुनै जानकारी दिइएन् । मेरो पनि सल्लाह र सुझाव लिनुपर्थ्यो,’ उनले भनिन्, ‘पास गर्नुपर्ने बजेटमा चित्त नबुझेकाले बहिष्कार गरेकी हुँ । नगरप्रमुखले बजेट सच्याएर ल्याउनुपर्छ ।’ नगरसभा सम्पन्न हुने बेला उपप्रमुख रिताले सभा नै बहिष्कार गरेर हिँडिन् । बाहिरबाट बजेट बनाएर ल्याएकाले मान्य नहुने उनको जिकिर छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले नगरसभामा ३६ करोड रुपैयाँको बजेट पेस भएको बताए । तर सभाबाट १५ करोड मात्र बजेट पास भएको छ । उक्त बजेट पास गर्ने बेला नगरउपप्रमुख रितालगायत केही वडाध्यक्षले बहिष्कार गरे । ‘बहुमत सदस्यले बजेट पास गरे पनि उपप्रमुखले असन्तुष्ट जनाए,’ उनले भने, ‘सभा सम्पन्न हुने बेला उपप्रमुखज्यूले सहमति जनाउनु भएन ।’ नगरप्रमुख अजय र उपप्रमुख रिता दुवै नेपाली कांग्रेसबाट चुनाव जितेका हुन् । अहिले दुवैबीच विवाद छ ।

यता, माधवनारायण नगरपालिकामा पनि असार १० मा नगरसभा सुरु भए पनि अहिलेसम्म बजेट पास गराउन सकेको छैन । नगरपालिकामा नगरप्रमुख वैजनाथप्रसाद यादव र उपप्रमुख निर्मलादेवी रमणबीच बजेट बाँडफाँटमै विवाद देखिएपछि नगरसभा समापन हुन नसकेको हो । नगरप्रमुख यादव कांग्रेस र उपप्रमुख रमण जसपाबाट चुनाव जितेका हुन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले सहमतीमा ल्याई बजेट पास गराउने बताए । ‘केही प्राविधिक कठिनाइ छन् । छिट्टै सभा सम्पन्न गर्छौं,’ उनले भने, ‘सभा सम्पन्न नभएकै कारण मन्त्रालयमा विवरण पठाउन सकेका छैनौं ।’ तिवारी कटहरिया र माधवनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् । चालु आर्थिक वर्षको योजना तर्जुमाका लागि हरेक वर्षको असार १० भित्र सबै स्थानीय तहले नगरसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । परिषदमार्फत चालु आर्थिक वर्ष २०७९/८० का लागि स्थानीय तहले बजेट ल्याउनुपर्छ ।

असार १० मा नगरसभा सुरु भए पनि अहिलेसम्म कटहरिया, मौलापुर, देबाही गोनाही, माधवनारायण, बौधीमाई, ईशनाथ, फतुवा बिजयपुर, यमुनाइमाई र दुर्गाभगवती गाउँपालिकाले बजेट पास भएको विवरण दिन नसकेको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले बताए । ‘बजेट पास भएको विवरण पठाउनुस् भनेर पत्राचार पनि गरिसकेका छौं । नगरपालिकाका प्रमुखहरू नगरसभा सम्पन्न हुन बाँकी रहेको भनेर जानकारी गराउनु हुन्छ । नगरपालिकामा कर्मचारी नभएर पठाउन नसकेको भनेर बाहना बनाउनुहुन्छ,’ उनले भने । देबाहीगोनाही नगरपालिकाले असारमा नगरसभाको उद्घाटन गरी झन्डै ३७ करोड बजेट पेस गरेको थियो । पालिकाभित्र जनप्रतिनिधिबीच विवाद बढेपछि बजेट पास हुन सकेन । नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत सिकन्दर साहले सबै दललाई सहमतिमा ल्याई बजेट पास गराउने बताए ।

यस नगरपालिकामा नगरप्रमुख प्रेमलाल साह र उपप्रमुख पनरिया देवी एमालेको भए पनि बहुमत पुग्दैन । यही कारण बजेट पास हुन नसकेको हो । यस्तै, दुर्गाभगवती गाउँपालिकामा अहिलेसम्म नगरसभा सुरु हुन सकेको छैन । गाउँपालिका अध्यक्ष शम्भु सिंहले सभाका लागि पटक/पटक छलफल गरे पनि कांग्रेसका वडाध्यक्ष र सदस्यले साथ नदिएकाले सुरु हुन नसकेको बताए । ‘बहुमत सदस्य नभएकाले समयमा नगरसभा हुन सकेन,’ उनले भने, ‘प्रयास जारी छ ।’ यस नगरपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादीले जिते पनि वडामा कांग्रेसको वर्चस्व छ । मौलापुर नगरपालिकाले असार १५ गते नै बजेट पास गरे पनि अहिलेसम्म मन्त्रालयमा विवरण पठाएको छैन । नगरप्रमुख रिनादेवी साहले नगरसभाबाट ३५ करोड ८४ लाख बजेट पास भइसकेको जानकारी दिइन् । कार्यालयकै कर्मचारीका कारण मन्त्रालयमा विवरण पठाउन ढिला भएको उनको भनाइ छ । फतुवाविजयपुर नगरपालिकाले अहिलेसम्म नगरसभा गर्न सकेको छैन् । नगरप्रमुख गोपाल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि सभा अन्योलमा परेको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शम्भु साहले भदौको २० गते भित्र नगरसभा सम्पन्न हुने बताए । यता, ईशनाथ नगरपालिकाले सोमबार मात्र नगरसभा सुरु गरेको छ । सभामा ५१ करोड ७३ लाख बजेट पेस भएको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले बताए । बौधीमाई नगरपालिकाले असार १० गते ३९ करोड बजेटसहित निति तथा कार्यक्रम सुरु गरेको थियो । तर, वडा नम्बर ३ का अध्यक्ष मणिभूषण प्रसाद साहले असहमित जनाउँदै पनरावेदन अदालत वीरगन्जमा सभा रोक्न रिट निवेदन दिएपछि बजेट पास हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादवले बताए ।

प्रकाशित : भाद्र १, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?