कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रदेशस्तरीय फरेन्सिक ल्याब निर्माण गर्ने गृहमन्त्री साहको घोषणा

श्यामसुन्दर शशि

जनकपुर — मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अपराध अनुसन्धानलाई अझ बढी वैज्ञानिक तथा भरपर्दो बनाउन प्रदेशस्तरीय फरेन्सिक ल्याब निर्माण गर्ने घोषणा गरेका छन् ।

प्रदेशस्तरीय फरेन्सिक ल्याब निर्माण गर्ने गृहमन्त्री साहको घोषणा

मंगलबार जनकपुरमा आयोजित ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी : २०७९ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री साहले भने‚ ‘प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा फरेन्सिक ल्याब निर्माण गर्ने घोषणा गरेको छ । आवश्यक परामर्श लिएर यथाशीघ्र स्थापना गर्ने प्रयास गर्छौं ।’

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह,अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक उतमराज सुवेदी, मधेस प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक मसऊद आलम खाँसहित अपराध अनुसन्धान र अभियोजनसँग सम्बन्धित मधेस प्रदेशभित्रका आठ जिल्लाका प्रहरी प्रमुख,अपराध अनुसन्धान प्रमुख, सरकारी वकिल कार्यालयका प्रतिनिधिहरू सहभागी रहेको एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री साहले अपराध अनुसन्धानमा संलग्न सरोकारवालाहरूलाई प्रविधियुक्त अनुसन्धान प्रक्रियालाई प्राथमिकता दिन निर्देशन दिए ।

‘समयसँगै अपराधका प्रकृति र प्रविधिमा परिवर्तन हुँदैछ । अब परम्परागत अपराध अनुसन्धान सम्भव छैन । प्रविधिमैत्री अनुसन्धान प्रक्रिया अपनाउनुहोस् । मधेस सरकार आफूसँग भएको साधनस्रोत लगानी गर्न तयार छ‚’ मन्त्री साहले भने ।

विवाहका लागि घोषित २० वर्षे उमेरसीमामा पुनर्विचार गर्नुपर्ने तर्क पनि उनले दिए । उनले भने‚ ‘विवाहको उमेर भूगोल र वातावरणलाई दृष्टिमा राखेर निर्धारण गर्नुपर्ने हो । मधेसका लागि २० वर्षे उमेर सीमा बढी भयो ।’ उमेर नपुग्दै भागी विवाह गर्ने क्रम बढेकाले समाजमा नयाँ समस्या सिर्जना भएको उनको भनाइ थियो ।

मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष र भयरहित वातावरणम सम्पन्न गराउन निर्देशन पनि उनले सुरक्षाकर्मीहरूलाई दिए ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले भारतको सीमासँग जोडिएका आठवटै जिल्लामा जघन्य अपराध, तस्करी तथा साइबर अपराध प्रमुख समस्याको रुपमा देखा परेको बताए ।

साइवर अपराधका लागि मुद्दा दर्ता ठाउँ काठमाडौंमा मात्र भएकाले टाढाका सेवाग्राहीलाई सास्ती भएको उल्लेख गर्दै उनले प्रदेश स्तरमा पनि मुद्दा दर्ता तथा विशेष अदालत गठन गर्नुपर्ने बताए ।

अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीले अपराधको प्रकृति र प्रविधिमा आएको परिवर्तनले घटना अनुसन्धान प्रविधिलाई चुनौतीपूर्ण भएको बताए । उनले भने‚ ‘अचेल ८५ प्रतिशत अपराध चिनेजानेका र आफन्तद्वारा हुने गरेको छ । यस्ता अपराधको अनुसन्धान पारम्परिक पद्धतिले सम्भव छैन ।’

उनले अपराध अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरूलाई प्रविधिमैत्री बन्न तथा सरकारलाई प्रविधिमा लगानी गर्न आग्रहपनि गरे‚ ‘अबको अपराध टेक्निकल हुन थालेको छ । अनुसन्धानमा खटिनेहरू पनि टेक्निकल हुनुपर्‍यो । अनि हामीसँग टेक्निकल ल्याब पनि हुनु पर्‍यो ।’

प्रकाशित : श्रावण ३१, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?