२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मलकै पिरलो

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही कविलासी नगरपालिका–१ पिपरियाका रवीन्द्र रायले डेढ बिघामा धान खेती गरेका छन् । धानले गाँज हाल्ने बेलामा मल हाल्नुपर्ने भए पनि पाएका छैनन् । मलका लागि उनी कृषि सहकारी संस्था तथा निजी एग्रोभेटमा सधैं पुग्छन् । तर, खाली हात फर्किनुपर्छ ।

मलकै पिरलो

सरकारले उपलब्ध गराउने अनुदानको मल त परको कुरा, निजी एग्रोभेटमा पनि पाउन नसकेको उनी बताउँछन् ।

राय जस्तै जिल्लाका अधिकांश किसानको अवस्था छ । मलको समस्या बर्सेनि दोहोरिन्छ । मल नहालेकै कारण यस वर्ष उत्पादन घट्ने उनीहरूको चिन्ता छ । कतिपय किसानले अनुदानको मल दोब्बर मूल्य तिरेर निजी पसलबाट खरिद गरेका छन् । कतिपय सहकारी संस्थाले नै किसानबाट दोब्बर मूल्य उठाइरहेका छन् । तर बिल दिने गरेका छैनन् । रायले खेतमा मल नहाली रोपाइँ सकेको जनाउँदै गाँज हाल्ने बेलासम्ममा पनि नपाएको गुनासो गरे । मल छर्ने मुख्य–मुख्य समयमा नै नपाउँदा किसानको बिजोग हुने गरेको उनले सुनाए । ‘हिउँदे बालीमा पर्याप्त मल छर्न पाएनौं, जसको असर उत्पादनमा बेहोर्नुपर्‍यो, अहिले धानको गाँज हाल्ने मुख्य समयमा मल हालिएन भने उत्पादन घट्नेछ,’ रायले भने, ‘तर मल कतै पनि पाइरहेको छैन, किसानको आवाज सुनिदिने कोही भएनन् ।’

सहकारीले कृषि सामग्री कम्पनीबाट थोरै परिमाणमा मल पाएपछि कालोबजारीसमेत हुन थालेको छ । थोरै मात्रामा मल पाएपछि कतिपय सहकारीले स्थानीय व्यापारीलाई बुझाउने गरेका छन् । व्यापारीले किसानबाट चर्को मूल्य असुल्ने गरेका छन् । कतिपय सहकारी संस्थाले नै ८ सय १५ रुपैयाँ पर्ने युरिया मलको १ हजार ५ सय रुपैयाँ असुल्ने गरेका छन् । पिपरियाकै उपेन्द्र साहले युरिया प्रतिबोरा १ हजार ५ सयका दरले किने । ‘सरकारले अनुदानको मल लिन तोकेकै संस्थाबाट झन्डै डबल मूल्य तिरेर ल्याएको हो, तर उनीहरूले बिल दिन मानेनन्,’ साहले भने, ‘के गर्नु, मल हाल्नुपर्ने बाध्यता छ, उनीहरूले भनेको मूल्य दिइन भने त्यो मल पनि हातबाट फुत्किन्छ ।’ किसानका लागि ल्याइएको अनुदानको मल कृषि सामग्रीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो ।

कृषि सामग्री कम्पनीले भने किसानका लागि पिकआवर मानिएको समयमै गोदाममा एक बोरा पनि मल नभएको जनाएको छ । कम्पनी नवलपुरका प्रमुख दीपक बर्मलेले वीरगन्ज गोदाममा मल आइसके पनि त्यहाँ अवरोध भइरहेकाले अहिलेसम्म मल ल्याउन नसकिएको जानकारी दिए । बर्मलेका अनुसार भदौको पहिलो सातासम्ममा मल जिल्ला आइपुग्ने छ । उनले अभाव भएका बेला मलको कालाबजारी पनि बढेको जनाउँदै यसको नियमनमा स्थानीय तह लाग्नुपर्ने बताए ।

वीरगन्ज महानगरले छोड्यो ४ ट्रक मल

पर्सा– वीरगन्ज महानगरपालिका क्षेत्रका किसानलाई निर्धारित कोटाभन्दा तीन गुणा बढी युरिया मल दिने सहमति भएपछि महानगरको नियन्त्रणमा रहेको कृषि सामग्री कम्पनीका ४ ट्रक मल छाडिएको छ । सोमबार महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र कृषि सामग्री कम्पनी मधेस प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच ४ बुँदे सहमति भएको हो । त्यसलगत्तै ट्रक छाडिएको कम्पनी प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले जानकारी दिए । सहमतिअनुसार वीरगन्ज महानगरपालिकाले समन्वय गर्ने गरी यसअघि उपलब्ध गराइएको २ हजार ७ सय ७१ बोरा युरिया मलबाहेक थप ६ हजार बोरा मल यसै साताभित्र उपलब्ध गराइनेछ ।

प्रकाशित : श्रावण ३१, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?