१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हत्या गरेर शवलाई रेलमा चढाएपछि...

बहिनीसँग प्रेम सम्बन्ध राखेको शंकामा दाजुभाइ मिलेर युवकको हत्या
कान्तिपुर संवाददाता

पर्सा — बहिनीसँग प्रेम सम्बन्ध रहेको आशंका गर्दै छिमेकका एक युवकको हत्या गरेको आरोपमा दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–५ का ३० प्रितम पटेल र उनका २८ वर्षीय भाइ उत्तम छन् । वीरगन्ज–१६ नगवामा टेलरिङ पसल गर्ने पटेल दाजुभाइले छिमेकी २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरी लास भारतीय रेलमा छाडेको खुलेको पर्सा प्रहरीले जनाएको छ ।

हत्या गरेर शवलाई रेलमा चढाएपछि...

गत मंगलबार बिहान ९ बजे ट्युसन पढ्न वीरगन्ज–१६ नगवातर्फ साइकलमा हिँडेका राजकुमार घर फर्किएनन् । खोजी गर्दा पनि छोरा नभेटिएपछि बाबु मोतीलालले जिल्ला प्रहरी कार्यालय पर्सामा छोरा खोजी पाऊँ भनी निवेदन दिएका थिए । पर्सा प्रहरीले खोजीका क्रममा गत शुक्रबार पटेल दाजुभाइलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । उनीहरूले राजकुमार र आफ्नी १६ वर्षीया बहिनीबीच प्रेम सम्बन्ध रहेको शंकामा हत्या गरेको स्विकारेपछि शव पनि पत्ता लागेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी प्रह्लाद कार्कीले बताए ।

प्रहरीका अनुसार ट्युसन पढ्न हिँडेका ठाकुरलाई पटेल दाजुभाइले बाटोबाटै नियन्त्रणमा लिएर आफ्नै पसलमा लगेर हत्या गरेको बयान दिएका छन् । हत्यापछि शव बोरामा राखेर ना३८प ४३९५ नम्बरको मोटरसाइकलमा सीमावर्ती भारतको रक्सौल रेलवे स्टेसन पुर्‍याए । रेलवे प्लेटफर्ममा मुजफ्फरपुर जाने रेलको शौचालयछेउ खाली ठाउँमा शव लुकाइएको बोरा राखिदिएर उनीहरू वीरगन्ज फर्किएका थिए । पटेल दाजुभाइको बयानपछि जिल्ला प्रहरी कार्यालयले सई विनोदकुमार सिंहको नेतृत्वमा टोली भारत पठाएको थियो । रेलमा चढाइएको शव रक्सौलबाट करिब पौने १० घण्टा दूरीको भागलपुर पुगेको थियो । करिब ४ सय किलोमिटर टाढा पुगेको शव भारतीय प्रहरीको समन्वयमा बरामद गरेर नेपाल ल्याएको छ ।

शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको डीएसपी कार्कीले बताए । पक्राउ परेका पटेल दाजुभाइविरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा कारबाहीका लागि अनुसन्धान भइरहेको छ । मृतक राजकुमारका आफन्त तथा गाउँलेले पटेल दाजुभाइलाई कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा आएर नाराबाजी गरेका छन् । प्रहरीका अनुसार पटेल दाजुभाइले शंका गरेजस्तो ठाकुरको प्रेम सम्बन्ध रहेको भन्ने पुष्टि भएको छैन । बरु पटेल दाजुभाइले बहिनीलाई कडा नियन्त्रणमा राख्ने कोसिस गरिरहने, कोही केटाले बोलेको देख्यो भने पनि उसलाई गाली गर्ने र धम्क्याउने गर्दै आएको खुलेको जनाएको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?