२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मल नपाएपछि ढुवानीमा अवरोध

किसानले विरोध गरेपछि वीरगन्ज महानगरपालिकाद्वारा ४ ट्रक मल नियन्त्रणमा
शंकर आचार्य

पर्सा — मल नदिएर अन्तै पठाउन लागेको आक्रोशमा पर्साका किसानले ढुवानीमा अवरोध गरेका छन् । कृषि सामग्री कम्पनीको चार ट्रक युरिया मल ढुवानीमा किसानले अवरोध गरेका हुन् । 

मल नपाएपछि ढुवानीमा अवरोध

आइतबार कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जमा पुगेका किसानको समूहले युरिया बोकेर गोदाम परिसरबाट बाहिरिएका ट्रकलाई अवरोध गरेका थिए । पछि उनीहरूले वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहलाई बोलाएपछि सिंहले ती ट्रक नियन्त्रणमा लिई महानगरको स्वामित्वको बाल मन्दिर स्कुल प्रांगणमा ल्याएर राखेका छन् । कम्पनी प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार ४ मध्ये १/१ ट्रक सर्लाहीको नवलपुर र पर्वत तथा अर्को २ ट्रक महोत्तरीको ढल्केवर पठाउन लागिएको थियो ।

‘किसानले ट्रकको बाटो छेकेर मेयर सिंहलाई बोलाए,’ उनले भने, ‘सिंहले किसानको पीडा कम्पनीले नबुझेकाले समस्या समाधान नहुन्जेलसम्मका लागि भनेर ती ट्रक आफ्नो जिम्मेवारीमा लिएर जानुभयो ।’ कुमारले कम्पनी आफैंले मल वितरण नगर्ने बताए । उनले मलको कोटा निर्धारण प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेपछि त्यसैअनुरूप कार्यालयले सम्बन्धित जिल्लामा मल परिचालन गर्ने नियम रहेको जानकारी दिए । उनले हाल कम्पनीले ग्लोबल टेन्डरबाट भित्र्याइरहेको ३० हजार मेट्रिक टन युरियामध्ये ३२ दशमलव ०२ प्रतिशत मधेसले पाउने र त्यसमध्ये पर्साले ८ सय २३ दशमलव ८४ मेटन मल पाउने बताए ।

मन्त्रालयले मल कोटा बाँडफाँट गर्दा जिल्लामा रहेको कुल खेतीयोग्य जमिनको आधारमा निर्धारण गर्ने र त्यसैअनुसार सम्बन्धित जिल्लामा परिचालन गर्ने गरिएको उनको भनाइ छ । त्यसपछि जिल्लाहरूमा कृषि ज्ञान केन्द्रले निर्धारण गरेको कोटाअनुसार त्यहाँका कृषि सहकारीहरूलाई मल उपलब्ध गराइने र किसानले सहकारीमार्फत मल पाउने नियम रहेको कुमारले बताए । ‘हामीले कार्यालयबाट प्रत्यक्ष रूपमा किसानलाई मल बिक्री वितरण गर्न मिल्दैन,’ उनले भने, ‘संघीय कृषि मन्त्रालयले बसालेको नियमभित्र रहेर मल परिचालन गर्ने हो ।’

गोदाम परिसरमा विभिन्न जिल्लाका लागि मल बोकेका करिब ४० ट्रक अझै पनि रहेको र ती बाहिरिन नसकेको उनले बताए । कुमारका अनुसार महानगरपालिकाको कार्यालयमा बैठक बसे पनि निष्कर्षविहीन भएको छ । ‘मेयर साबले तत्काललाई मल छोड्न मान्नु भएन,’ उनले भने । बैठकमा नगर प्रमुख सिंह र कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयका प्रमुख चन्द्र चम्लागार्इं सहभागी थिए । सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले किसानको गुनासो आएपछि मलको समानुपातिक वितरणको प्रयास स्वरूप नगरप्रमुख सिंहले यो कदम चालेको बताए । ‘वीरगन्ज महानगरका किसानले ३–४ किलो युरिया मलसमेत पाउन सकेनन्,’ उनले भने, ‘त्यहाँको अवस्था बिग्रिन लागेको देखेर मेयरसाबले मलको सुरक्षाकै लागि आफ्नो नियन्त्रणमा लिएर आउनुभएको हो ।’

प्रकाशित : श्रावण ३०, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?