छाला निकासी बढ्यो

शंकर आचार्य

पर्सा — वीरगन्ज नाकाबाट छाला निकासी बढेको छ । भारतीयभन्दा नेपाली भैंसीको प्रशोधित छाला सस्तिएपछि निकासी बढेको हो । पशु क्वारेन्टाइन कार्यालय वीरगन्जको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७८/७९ मा वीरगन्ज नाका हुँदै भारत तथा तेस्रो मुलुकतर्फ ३ लाख ८३ हजार २ सय ५९ दशमलव ३६ वर्ग मिटर भैंसीको प्रशोधित छाला निकासी भएको छ ।

छाला निकासी बढ्यो

कुल निकासीमध्ये ठूलो हिस्सा भारत तथा त्यसपछि थोरै हिस्सा चीन र इन्डोनेसियातर्फ छ । अघिल्लो आवमा यो नाका भएर भारततर्फ ४ हजार ९ सय ९० वर्गमिटर मात्र निकासी भएको थियो । छाला निकासी गर्न पशु क्वारेन्टाइन कार्यालयको अनुमति आवश्यक हुन्छ ।

कार्यालय प्रमुख डा. हरेराम यादव अघिल्लो आवमा भारतले नेपाली छालामा १८ प्रतिशत जीएसटी कर लगाए पनि गत आवमा छालाको निकासी बढ्नु उत्साहजनक रहेको बताउँछन् । ‘भारतसँगको व्यापार घाटा उच्च रहेका बेला नेपाली छालाले सकारात्मक सन्देश दिएको छ,’ उनले भने, ‘यसको निकासीलाई थप सहज बनाउन आवश्यक छ ।’ भारतको कानपुर तथा कोलकातामा रहेका उद्योगहरूले ब्याग, जुत्ता, कोट बनाउन कच्चा पदार्थका रूपमा नेपाली छाला प्रयोग गर्दै आएका छन् । नेपालमा छाला प्रयोग गरेर ब्याग, कोट बनाउने उद्योग कम रहेकाले पनि नेपाली छाला उद्योग भारतीय बजारमा निर्भर छन् । पर्सा–बारा औद्योगिक करिडोरमा आधा दर्जन छाला उद्योग छन् ।

मरियम लेदर इन्डस्ट्रिजका व्यवस्थापक फारुख जमाल कुरेसी गत आवमा नेपाली भैंसीको छालाको निकासी बढ्नुमा भारतीयभन्दा नेपाली छाला सस्तो हुनु नै मुख्य कारण रहेको बताउँछन् । ‘हामी भारतीय छालासँग प्रतिस्पर्धामा खरो उत्रिन सक्यौं, त्यसैले यो सम्भव भयो,’ उनले भने । भारतले नेपालबाहेक तेस्रो मुलुकबाट आयात हुने छालामा जीएसटी कर लगाएको छैन । भारतीय पर्स, ब्याग तथा ज्याकेट निर्माता उद्योगहरूले नेपालबाहेक ब्राजिलबाट पनि छाला आयात गर्छन् । कुरेसीका अनुसार, हाल भारतीय उद्योगहरूले दोस्रो गुणस्तरको नेपाली छाला प्रतिवर्ग फिट भारु १७ देखि १९ रुपैयाँमा खरिद गर्दै आएका छन् । जबकि भारतीय छालाको मूल्य प्रतिवर्ग फिट भारु २१ देखि २२ रुपैयाँ छ । दोस्रो गुणस्तरको छाला कोलकाताका उद्योगले खरिद गर्छन् ।

त्यसैगरी, कानपुरका उद्योगहरूले खरिद गर्ने नेपाली छाला पहिलो गुणस्तरको हुन्छ । त्यहाँका उद्योगले हाल नेपाली छाला प्रतिवर्ग फिट भारु २७ रुपैयाँमा खरिद गर्दै आएका छन् । यो गुणस्तरको भारतीय छालाको मूल्य हाल प्रतिवर्ग फिट भारु ३० देखि ३२ रुपैयाँ छ । सरकारले छाला निर्यात गर्ने उद्योगलाई ५ प्रतिशत अनुदान दिने घोषणा गरे पनि नपाएको अवस्थामा निर्यात बढ्नु उत्साहजनक रहेको कुरेसीले बताए । ‘सरकारले घोषणा गरेको ५ प्रतिशत नगद अनुदानसमेत पाउन सकेका छैनौं,’ उनले भने, ‘अनुदान लिन उद्योग विभाग धाउँदा ५० प्रतिशत कच्चा पदार्थ स्थानीय हुनुपर्ने सर्त राख्छ, हामीले काँचो छाला स्थानीय कसाईबाट किन्छौं, उनीहरूले बेचेको प्रमाण दिन सक्दैनन् ।’

प्रकाशित : श्रावण ३०, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?