कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

शिलान्यासको १२ वर्षपछि पुल बन्दै

नदीले धार बदलेपछि रोकिएको काम दोस्रो ठेक्कापछि सुरू
५७ करोड ४० लाख लागतको नयाँ ठेक्का
शिव पुरी

रौतहट — नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माण १२ वर्षपछि बल्ल थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालयले दोस्रो पटक पुलको ठेक्का लगाएपछि निर्माण कम्पनीले काम सुरु गरेको हो ।

शिलान्यासको १२ वर्षपछि पुल बन्दै

निर्देशनालयका निर्देशक धर्मेन्द्र झाले पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत काम सुरु गरेको बताए । उनका अनुसार अहिले वाग्मती नदीको पूर्वक्षेत्रमा माटोको काम भइरहेको छ । ‘पुलको भार थेग्न सक्ने/नसक्ने भन्ने डिजाइनका लागि कन्सल्टेन्टलाई जिम्मा दिएका छौं । ढिला भए पनि अब काम रोकिँदैन,’ उनले भने । २२४१ मिटर लम्बाइ नदी नियन्त्रणको कामसहित पुल

निर्माणका लागि महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का सकारेको निर्देशनालयले जनायो । ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ मा सम्झौता गरेको हो । पुलको चौडाइ ६ मिटरबाट बढाई ७ बनाउने तयारीमा निर्देशनालयले कन्सल्टेन्टलाई भार थेग्न सक्ने/नसक्ने भन्ने यकिन गर्न जिम्मा दिएको छ ।

मधेसका सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजनाअन्तर्गत पुल बनाउन थालिएको थियो । निर्माणकै क्रममा पुलभन्दा ८ सय मिटर पूर्वबाट खोला बग्न थालेपछि काम रोकिएको निर्देशनालयले जनाएको छ । लामो समयसम्म निर्माण कम्पनी र निर्देशनालयबीच काम थाल्न छलफल भए पनि सहमति भएन । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका ठेकेदार लंक केसीले पुल निर्माण गर्ने समय सकिएको र लामो समयसम्म निर्देशनालयले साइट उपलब्ध गराउन नसकेकाले एकतर्फी ठेक्का तोडेको जानकारी गराए । तत्कालको अवस्थाभन्दा निर्माण सामानको भाउ अकासिएकाले पुरानै दरमा काम गर्न नसक्ने उनको भनाइ थियो ।

ठेकेदारले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेपछि अदालतले निर्माण कम्पनीले काम गरेको भुक्तानी दिन आदेश दिएको थियो । ठेकेदार कम्पनीले लुम्बिनीले त्यतिबेला ३५ करोड ८९ लाख रुपैयाँमा ठेक्का सकारेको थियो । लुम्बिनीले ठेक्का सकारे पनि पप्पु कन्स्ट्रक्सनले निर्माण थालेको थियो । ठेक्का सकार गर्ने बेला पप्पुको कम्पनी कालोसूचीमा परेको थियो । लुम्बिनी बिल्डर्सले २०६७ जेठ ३१ मा सम्झौता गर्दै २०७० जेठ ३० काम सक्ने जनाएको थियो । सम्झौतापछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए । पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ । पुलमा १७ स्पानसहितको सम्झौता भएको थियो । लुम्बिनीले १७ वटै स्पानको काम सकेको थियो ।

रौतहटका बतसपुर, बडहर्वा, राजदेवीलगायत स्थानका स्थानीय डुंगा चढेर पारी खेतमा काम गर्न जान्छन् । वाग्मती नदीले कटानमा पारेपछि केहीको खेत पारि सर्लाहीतिर परेको छ । बर्खामा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएको स्थानीय रामेश्वर साहले बताए । ‘समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न सहज हुन्थ्यो,’ उनले भने, ‘अहिले डुंगा चढेर आउजाउ गर्नुपर्छ ।’

प्रकाशित : श्रावण २९, २०७९ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?