२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विरोधबीच तिलावे पुल उद्घाटन

कान्तिपुर संवाददाता

पर्सा — काम नसकिएको भन्दै विरोध भए पनि हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी सडक खण्डको तिलावे नदीको पुल शनिबार उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवले पुलको संयुक्त उद्घाटन गरेका हुन् ।

विरोधबीच तिलावे पुल उद्घाटन

पुल तयार भए पनि त्यससँगैको करिब १ सय मिटर एप्रोच सडक र नदी नियन्त्रणको काम पूरा भएको छैन । ठेक्का लागेको ७ वर्षपछि पुल निर्माण भएको हो । पप्पु/लुम्बिनी जेभीले १ सय मिटर लामो र ७ मिटर चौडा पुल निर्माण गरेको छ । ७ करोड ७१ लाख रुपैयाँ (भ्याटबाहेक) मा पुल निर्माणको सम्झौता २०७२ जेठ २५ मा भई पहिलो पटक काम सम्पन्न गर्नुपर्ने म्याद २०७५ जेठ २४ मा थियो । तर ठेकेदार कम्पनीले पटकपटक म्याद थप गराउँदै आएका थिए ।

हतारमा पुलको उद्घाटन गरेर एप्रोच सडक र नदी तटबन्धको काम ठेकेदार कम्पनीले नगर्ने आशंका स्थानीयलाई छ । त्यसपछि उनीहरूले विरोध जनाउँदै आएका हुन् । तिलावे पुल निर्माण दबाब समूहका प्रतिनिधि राकेश यादवले हतारमा पुलको मात्र उद्घाटन गरेर जनभावनाविपरीत काम गरिएको बताए । ‘काम पूर्णरूपले सम्पन्न गरेर भव्य उद्घाटन गरिएको भए हाम्रो आपत्ति थिएन,’ उनले भने, ‘तर किन र के कति कारण पुलको उद्घाटन गर्न ठेकेदारलाई हतारो भयो बुझ्न सकिएन, अहिले उद्घाटन कार्यक्रममा सहभागी भएका मन्त्री र नेताले भोलि काम सम्पन्न नगरी ठेकेदार कम्पनी हिँडे त्यसको जिम्मेवारी पनि लिनुपर्छ ।’

मन्त्री मोहम्मद इस्तियाक राईले नेता बनेर काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिए । ‘नेता बनेर काम नगर्ने प्रवृत्ति बढेको छ, वडाध्यक्षदेखि सांसदसम्म ठेकेदार छन्,’ उनले भने, ‘जनताप्रति उत्तरदायी नहुने नेतालाई ‘नमस्कार’ गर्नु ठीक हुन्छ, जिम्मेवारी लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्छौं ।’ मन्त्री राईले विकासमा अवरोध सृजना गर्नेलाई जनताले चिन्नुपर्ने बताए । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ८२ पुल अलपत्र रहेकामा त्यसलाई झारेर ३४ मा ल्याएको दाबी गरे । मन्त्री राईले वीरगन्जस्थित पदमरोडको ३ किलोमिटर खण्डमा ११ मिटर कालोपत्र गर्ने गरी ठेक्का लगाउने बताए ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वर्षौंदेखि ठेक्का लिएर बस्ने काम नगर्ने ठेकेदारको ठेक्का रद्द र लाइसेन्स खारेजीसम्मको कारबाही हुनुपर्ने बताए । ‘१५ वर्षदेखि पुलको ठेक्का लिएर बसेका छन्, एक जना मान्छे पुल बनाउन खटिएको हुन्छ,’ उनले भने, ‘अब कालोसूचीमा राखेर नहुने रहेछ, एउटा कालोसूचीमा राख्यो अर्को कम्पनी दर्ता गरेर आउँछ, अब समयमा काम नगर्ने ठेकेदारको ठेक्का रद्द गर्ने र लाइसेन्स खारेज नै गर्नुपर्छ ।’ उनले हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी र ठोरी–माडी खण्डमा वनका कारण उत्पन्न समस्या समाधान गर्न आफूले सक्दो प्रयास गर्ने पनि बताए ।

प्रकाशित : श्रावण २९, २०७९ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?