सिरहामा जंगली हात्तीले ७ घर भत्काए 

भरत जर्घा मगर

सिरहा — जंगली हात्तीको समूहले गएराति सिरहाको लहान नगरपालिका–१५ स्थित उत्तरवर्ती चुरे क्षेत्रका मोहनपुर र लग्रहाका ७ घर भत्काएका छन् । 

दुई वटा समूहमा आएका हात्तीले शुक्रबार राति बस्ती पसेर मोहनपुरका कपले यादव, लग्रहाका राम सदाय, लक्ष्मी, शिव कुमारी, दिपेन र सरोज सदायका ७ वटा फुसको घर भत्काएको हो । जंगली हात्तीले घर भत्काउनुका साथै अन्नबालीसमेत नष्ट गरेको लहान नगरपालिका–१५ का वडाध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए ।

हात्तीले घर भत्काएको बस्तीमा पुगेर लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले पीडितहरुलाई तत्काल जस्तापाता, त्रिपाल र खाद्यान्नसहित राहत उपलब्ध गराउने बताए । गत वर्ष पुसमा जंगली हात्तीको समूह मोहनपुर गाउँ पसेर स्थानीयको घर भत्काएको थियो ।

लहान नगरपालिकाका बानो, अमही, मोहनपुर, तरेगनासहित धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकाका तीन दर्जनभन्दा बढी बस्ती बर्सेनि हात्तीको आक्रमणको चपेटामा पर्दै आएका छन् । हात्ती आक्रमणबाट ती क्षेत्रका बासिन्दाको बर्सेनि ज्यान जाने गरेको छ । कोसी टप्पु आरक्ष र उदयपुरको चुरे क्षेत्र हुँदै यस क्षेत्रमा जंगली हात्ती प्रवेश गरेको हुनसक्ने स्थानीयले बताए ।

वन्यजन्तु विज्ञहरु झापादेखि चितवनसम्मको चुरे क्षेत्र हात्ती हिँड्ने करिडोर भएकाले हिउँदयामको मौसममा जंगली हात्तीको खतरा बढी हुन्छ । तर हिउँदयाममा बर्सेनि हात्तीको चपेटा सहदै आए पनि यसवर्ष वर्षायाममा समेत जंगली हात्तीले दु:ख दिन थालेपछि स्थानीय त्रसित छन् ।

प्रकाशित : श्रावण २८, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसको चुनावलक्षित अभियान भदौ १० देखि

निर्वाचन आयोगमा दल दर्ता गर्न मुख्यसचिव पौडेललाई जिम्मेवारी
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित जनलहर सिर्जना गर्ने १५ दिने संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ । शनिबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले बताए ।

‘यसअघि स्थानीय तहको सम्मुखमा कांग्रेसले घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान सञ्चालन गरेको थियो, त्यस्तै प्रकृतिको अभियान फेरि सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यसअघि भदौ २ देखि २४ गतेसम्म सञ्चालन गर्नेभन्ने केन्द्रीय समिति बैठकको तयारी थियो । तर, प्राविधिक कारणवश त्यसलाई स्थगित गरेर १० देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।’

बैठकले अभियानका लागि केन्द्रीय समितिबाट प्रतिनिधि तोक्ने समेत निर्णय गरेको छ । तर, कुन जिल्लामा कसलाई पठाउने भन्ने टुंगिएको छ ।

शनिबारको बैठकले आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ऐनबमोजिम दर्ता गर्ने निर्णय गरेको छ । बैठकले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आयोगमा दल दर्ता गर्ने अख्तियारी दिएको हो ।

‘कानुनमै पार्टीको केन्द्रीय कार्यकारी समितिको निर्णय संलग्न हुनुपर्ने व्यवस्था छ । त्यहीकारण यो बैठकबाटै दल दर्ता गर्ने निर्णय गरिएको हो,’ नेता अर्जुननरसिंह केसीले भने, ‘आजको बैठकमा खाली पार्टीभित्रको आन्तरिक व्यवस्थापनको कुरा मात्रै भयो, अरु राजनीतिक विषयमा कुनै छलफल भएन ।’

उनका अनुसार बैठकले साउन ३० र ३१ गते काठमाडौंमा गर्ने तयारी भएको स्थानीय तहका जनप्रतिनिधिहरुको राष्ट्रिय भेलाको तयारीका विषयमा समेत छलफल भएको छ ।

‘हामीले देशभर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा स्वागत गर्ने र बधाईसहित अभिमुखीकरण गर्ने कार्यक्रम राखेका छौँ,’ उनले भने, ‘पार्टीको सचिवालयले त्यसको तयारी गरेको छ । बैठकले त्यही तयारीलाई स्वीकृत गरेको छ ।’

प्रकाशित : श्रावण २८, २०७९ ११:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×