श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

काठमाडौँ — पर्साको बीरगञ्ज महानगरपालिका वडा नम्बर २३ इटियाही टोलस्थित आफ्नै श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । इटियाही टोलमा २३ वर्षीया प्रतिमा कुमारी यादवको हत्या गरेको आरोपमा दिनेश प्रसाद यादव पक्राउ परेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आरोपित यादवले श्रीमती प्रतिमाको घाँटी थिचेर हत्या गरेको बुझिएको छ । घटनापछि वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले घटनास्थल पुगेर दिनेश यादवलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीले २६ वर्षीय आरोपित यादवमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।
