१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बोक्सी आरोपमा मलमूत्र खुवाउने प्रयास

सामान्य वादविवाद तथा झैझगडामा एक पक्षले बोक्सीको आरोप र अर्कोले गाली बेइजतीमा निवेदन दर्ता गराएको प्रहरीको भनाइ 
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको दक्षिणी इलाका सुदामामा महिला–महिलाबीच भएको सामान्य विवादमा बोक्सी आरोप लगाएर प्रहरीमा निवेदन दिइएको छ । महिलालाई सामान्य विवादमा पनि बोक्सीको गम्भीर आरोप लगाउन थालिएको छ ।

बलरा नगरपालिका–१० सुदामामा गत आइतबार महिला–महिलाबीच विवादपछि झगडा भएको थियो । माली र हजाम दुई परिवारबीच भएको विवादले राजनीतिक रूप लिँदा एक पक्षले बोक्सी आरोप लगाई मलमूत्र खुवाउने प्रयास गरेको भन्दै जिल्ला प्रहरीमा निवेदन दर्ता गराएका छन् । अर्को पक्षले भने गालीगलौज गरेको भन्दै कारबाहीका लागि निवेदन दर्ता गराएका छन् । सामान्य विवादमा दुवैतर्फबाट निवेदन परेको जिल्ला प्रहरी कार्यालय महिला सेलले जनाएको छ ।

आइतबार भएको दुई पक्ष बीचको झगडामा मंगलबार हजाम पक्षकी एकल महिला ३६ वर्षीया रितादेवी ठाकुर आफुमाथि बोक्सी अरोपमा कुटपिटसहित मलमूत्र खुवाउने प्रयास गरेको भन्दै घाउजाँच गरी कारबाही गरी पाउँ भनेर निवेदन दिएकी छन् ।

उनले सोही ठाउँका चुनचुन र सञ्जय भण्डारीले गालीगलौज गरी लछारपछार गर्दै निर्घात कुटपिट गरेको भनेर निवेदनमा उल्लेख गरेकी छन् । ‘मेरो आँगनमा आएर हूलहुज्जत गरी बोक्सी आरोप लगाउँदै निर्घात कुटपिट गरेका छन् । भण्डारी दुई दाजुभाइमध्ये एक जना छातीमा बसेर अर्काको बिष्टा खुवाउने प्रयास गरे,’ उनले निवेदनमा भनेकी छन्, ‘छरछिमेकका कारण दिसा खुवाउनबाट नसके पनि अहिले पनि मेरो जीउज्यानमाथि धम्की दिइरहेका छन् ।’ प्रादेशिक अस्पतालमा चेकजाँच गराएकी ठाकुरको सामान्य चोटपटक रहेको चिकित्सकले बताएका छन् । श्रीमान् मुकेश ठाकुरको केही समयअघि मृत्यु भएपश्चात रिता १६ वर्षको एक छोरा र ७ वर्षकी एक छोरीसहित करिब १५ वर्षका एक भान्जासमेत साथमै बस्दै आएकी छन् ।

ठाकुर पक्षको निवेदन परेपछि भण्डारी पक्षले समेत बुधबार जिल्ला प्रहरीमा पुगेर रितादेवी ठाकुरले गालीगलौज गरेको भन्दै कारबाहीका लागि निवेदन दर्ता गराएका छन् । ठाकुरले हुँदै नभएको घटनाको कल्पना गरी निवेदन दिएको बताएका छन् । ‘महिला–महिलामा सामान्य झैझगडा भएको थियो, गाउँघरमा यस्ता समान्य झगडा हुने गर्छ, यसलाई सरलीकरण गर्नुपर्ने ठाउँमा मलाई नै बोक्सी आरोपमा विपक्षी बनाएर निवेदन दिएँ,’ भण्डारीले भने ।

बालक ठाकुरले झगडा र गालीगलौज दुवै पक्षबाट भएको बताए । ‘कपाल काट्नु छ भनेर हजमा छिटो आऊ भनेर बोलाए, मैले पनि मलियवा आउँदै छु भनेर भनिदिएँ, त्यतिकैमा दुवै पक्षका महिलाबीचमा हजमिनिया र मलिनियाँ भनेर गालीगलौज र कपाल तानातान भयो,’ उनले भने, ‘दुवैतिरका महिलाले डयनियाँ भनेर निकै बेर झगडा गरे ।’ सामान्य वादविवाद तथा झैझगडामा दुवै पक्षबाट निवेदन परेको जनाउँदै एकले बोक्सीको आरोप तथा अर्कोले गाली बेइजतीमा निवेदन दर्ता गराएको प्रहरी प्रवक्ता विजय यादवले बताए ।

‘यो सामान्य दुई पक्षबीच झैझगडा मात्र हो, मधेसमा महिला–महिलाबीच डायन (बोक्सी) भनेर झगडा गर्ने गरेका छन्,’ प्रहरी नायब उपरीक्षक यादवले भने, ‘यो झगडालाई राजनीतीकरण गरिएको छ, वास्तविक बोक्सी आरोप लगाएको अहिलेसम्मको अनुसन्धानमा फेला परेको छैन ।’

गाउँ–गाउँमा सामान्य वादविवाद तथा झैझगडामा राजनीति पस्नु सर्लाहीमा नौलो भने होइन । नागरिक अगुवा रजनीकान्त झाले गलत आरोप लगाउँदा विपक्षीको पनि मानवअधिकारको हनन हुने गरेकाले यसतर्फ सरोकारवालालाई ध्यान दिनुपर्ने बताए ।

प्रकाशित : श्रावण २७, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?