रौतहटको वाग्मती र लालबकैया नदीमा कटान सुरु- मधेस - कान्तिपुर समाचार

रौतहटको वाग्मती र लालबकैया नदीमा कटान सुरु

शिव पुरी

रौतहट — रौतहटको राजदेवी र माधवनारायण नगरपालिकामा वाग्मती र लालबकैया नदीमा आएको बाढीले कटान सुरु गरेको छ । वाग्मतीले राजदेवी र माधवनारायण र लालबकैयाले गौर–४ स्थित लालबकैया बानेश्वर मन्दिरको पश्चिमतर्फ कटान सुरु गरेको हो ।

कटानपछि बस्ती डुबानमा पर्ने भन्दै स्थानीय त्रासमा छन् । कटान गरेको क्षेत्रमा बोरा, बास राखेर अस्थायी रुपमा रोकथाम गर्न स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । राजदेवी नगरपालिकाको वडा नम्बर १ र ६ मा पर्ने क्षेत्रमा वाग्मतीको बाढीले धमाधम कटान गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । ‘बाढी कम भएपनि कटान रोकिएको छैन । वाग्मतीले कटान सुरु गरेपछि तनाव थपिएको छ,’ उनले भने, ‘यसरी कटान गर्‍यो र रोकथाम गर्न सकिएन भने बाँधलाई असर गर्छ ।’ कटान रोक्न अहिले स्थानीय र सुरक्षाकर्मी खटिएको उनले सुनाए ।


कटान रोक्न वाग्मती लालबकैया नदी नियन्त्रण आयोजना परबानीपुरले ठूलो परिमाणमा बोरा पठाएको छ । अहिले बोरा र बाँस राखेर अस्थायी रुपमा रोक्ने प्रयास भइरहेको छ । नदी गहिरो भएकाले बोरा राख्न नसकेको स्थानमा बाँस राखेर कटान रोक्ने काम भइरहेको प्रजिअ शाहीले बताए । यता माधवनारायण नगरपालिका– ८ रजवाडा र ९ गहढो भगवानपुरस्थित बाँधभन्दा १० मिटर पूर्व वाग्मती नदीले तीव्र रुपमा कटान सुरु गरेको छ । स्थानीय तहले पनि कटान क्षेत्रमा बोरामा बालुवा राखेर रोक्न सहयोग गरिरहेको छ । बर्खाको बेला दुवै नदीले डुबान र कटानको समस्यामा हुँदै आएको छ । यही समस्याबाट नदी छेउका स्थानीय लामो समयदेखि त्रासमा छन् । गत वर्ष बौधीमाई र परोहा नगरपालिकाको तेजापाकड क्षेत्रमा लालबकैया नदीले झन्डै सय मिटर बाँध कटान गरेको थियो ।


गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले कटान गरेको क्षेत्रमा स्थायीरुपमा नियन्त्रण गर्नुपर्ने बताए । गौर–४ स्थित बानेश्वर मन्दिरको पश्चिमतर्फ कटान सुरु गरेपछि निरीक्षण गर्न गएका नगरप्रमुख साहले भने, ‘बर्सेनि कटानले स्थानीयलाई त्रासमा परेको छ । केन्द्रीय सरकारले स्थायी नियन्त्रणको प्रयास गर्नु पर्छ । बोरा राखेर अस्थायी नियन्त्रण गरेर मात्र हुँदैन । यसले निकट भविष्यमा ठूलो दुर्घटना निम्त्याउँछ ।’


बाढीबाट हुने धनजनको क्षति रोक्न तत्कालीन जल उत्पन्न प्रकोप विभाग ८ नम्बर डिभिजनमार्फत भारत सरकारको सहयोगमा दुई दशकअघि वाग्मती र लालबकैया नदीको दुवैतिर ४४ किलोमिटर बाँध निर्माण गरिएको थियो । कटानले बाँध समेत खतरामा परेको प्रजिअ शाहीले सुनाए ।

प्रकाशित : श्रावण २३, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

सिट बाँडफाँटबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई छलफलका लागि बोलाएका छन् । 

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने सहमति गरेका देउवाले सिट बाँडफाँटमा पार्टीले कसरी, कुन आधारमा कति सिट लिने भन्ने टुंगो लगाउन पार्टीका शीर्ष नेताहरुको बैठक राखेका छन् ।

बैठक सोमबार बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । स्रोतका अनुासर बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाइएको छ ।

'चुनावको मिति तोकिएको छ । गठबन्धन गरेर जाने पार्टीकै निर्णय हो । तर अब सिट बाँडफाँटको विषय उठिरहेको छ, जुन एकदमै पेचिलो छ,' ती नेताले भने, 'सिट बाँडफाँटबारे छलफल गर्न सभापतिजीले बैठक राख्नुभएको छ ।'

बैठकमा गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलमा सदस्य रहेका नेताहरु समेत सहभागी हुनेछन् । कार्यदलको बैठक पनि सोमबारै बस्दैछ । पार्टीको बैठकमा छलफल भएपछि गठबन्धनमा कसरी प्रस्तुत हुने भनेर टुंगो लाग्ने नेताहरुको भनाइ छ ।

कांग्रेसले असार अन्तिम साता बसेको केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : श्रावण २३, २०७९ ०८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×