१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कोसी तटीय क्षेत्रमा उच्च सतर्कता

कोसी ब्यारेजको संरचनासहित तटबन्धहरुमा क्षतिको खतरा
अवधेशकुमार झा

राजविराज — सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक रूपमा बढ्ने अनुमान गरिएको छ । पहाडी जिल्लामा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा सतह अत्यधिक रहेकोले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो । कोसी नदीमा पानीको अत्यधिक बहाव हुन सक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले बताए । 

कोसी तटीय क्षेत्रमा उच्च सतर्कता

उनका अनुसार तटीय क्षेत्रमा सर्तक रहनसमेत आग्रह गरिएको छ । पानीको बहाब हेर्दा कोसी ब्यारेज भएर ५ लाख क्युसेक भन्दा बढी प्रति सेकेन्डका दरले बहाब हुन सक्ने अनुमान गरिएको जानकारी आफूहरूलाई आएको प्रहरी उपरीक्षक काफलेले बताए । उनका अनुसार ब्यारेजको संरचनासहित तटीय क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । कोसीमा अत्यधिक बहाब हुन सक्ने जानकारीपछि सुनसरीमा पनि उच्च सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यस्तै बस्तीतर्फ कोसी प्रबेश गरेको उदयपुरमा पनि उच्च सर्तकता अपनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।

५ लाख क्युसेक भन्दा बढी पानीको बहाब भए कोसी ब्यारेजको संरचनासहित तटबन्धहरूमा समेत क्षति पुग्ने खतरा छ । यस्तै धेरै स्थानमा पानी ओभरफ्लो भई बाहिरिन सक्ने खतरा पनि छ । कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार अहिले ब्यारेज भएर पानीको बहाब बढीरहेको छ । शनिवार साझ ६ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख ३१ हजार ९ सय २० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाब भईरहेको र ब्यारेजका ३४ वटा ढोका खोलिएको छ । यसै साता कोसीको बहाब २ लाख ४३ हजार क्युसेक सम्म पुगेको थियो ।

सन् १९६२ मा कोसी ब्यारेज निर्माण भएपछि हाल सम्म सबभन्दा बढी पानीको बहाव सन् १९६८ को ५ अक्टुबरका दिन भएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । नियन्त्रण कक्षका भारतीय अधिकारीहरूका अनुसार सो दिन कोसी ब्यारेज भएर ७ लाख ८८ हजार २ सय क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भएको थियो । त्यो दिन ब्यारेजभन्दा माथि चतरामा भने ९ लाख १३ हजार क्युसेक बहाव मापन गरिएको थियो ।

कोसी ब्यारेज निर्माणपछि यसको क्षमता साढे ९ लाख क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव हुन सक्ने भनिएको थियो । तर नदीमा बालुवा थुप्रिएका हुनाले पूर्ण क्षमतामा ब्यारेज पानीको बहाव हुन सक्ने अवस्था नरहेको प्राविधिकहरूले बताउँदै आएका छन् । यस्तै ब्यारेजको संरचना पुरानो भएकाले पनि पानीको दवाव थेग्न नसक्ने उनीहरूको भनाइ छ । कोसीमा अत्यधिक पानीको वहाव हुने बित्तिकै तटबन्ध होचो रहेको स्थानमा ओभरफलो हुने खतरा छ भने कटान तीव्र हुने गरेको छ ।

प्रकाशित : श्रावण २२, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?