३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

गोबरगाढामा कोसीको कटान

बस्ती नै बगाएपछि टापुकै नयाँ ठाउँमा बसोबास गर्दै स्थानीय
अवधेशकुमार झा

गोबरगाढा, सप्तरी — राधादेवी घरी बिहीबार दिउँसो कोसी नदीको नयाँ भंगालो हेरेर टोलाइरहेकी थिइन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा बस्तीकी उनको घर नदीले कटान गरेको हो । कटान सुरु भएपछि टापुकै केही उत्तरपश्चिमतर्फ उनको परिवार सरेको छ । नदीले गोबरगाढी बस्ती नै कटान गरेको हो । ‘हाम्रो भाग्यमा त बर्सेनि कटान डुबान लेखेको छ, यो कष्ट अब स्थायी नै भइसक्यो,’ राधादेवीले भनिन्, ‘घर डुबान त हरेक वर्ष हो, यस वर्ष बस्ती नै बगायो ।’ 

गोबरगाढामा कोसीको कटान

बस्तीसँगै २०२३ सालमा स्थापित शारदा आधारभूत विद्यालय, स्वास्थ्य चौकी र ६० लाख रुपैयाँ खर्चेर बनाएको सामुदायिक भवन पनि बगाएको छ । कटान सुरु भएपछि स्थानीयले महिनादिन अघिबाटै उत्तरपश्चिममा नयाँ बस्ती बनाउन थालेका थिए । यहाँ एक सय परिवारका करिब ३ सय जनाको बसोबास छ । १५ वर्षअघि बसेको बस्ती अहिले कोशीले कटान गरेको हो । ‘नयाँ बस्तीमा पनि चैन छैन, कोसीमा २ लाख क्यूसेक भन्दा बढी पानी आउने बित्तिकै यहाँ पनि घरमा पानी पस्छ,’ स्थानीय महेन्द्र सदाले भने, ‘नयाँ बस्तीनजिक पनि कोसीको भंगालोले कटान गर्दै आएको छ ।’

स्थानीय सकलदेव सदाले यस्तो पीडाका बीच पनि सरकारले नहेरेको गुनासो गरे । ‘हामीले सरकार छ भन्ने कसरी अनुभव गर्ने ?,’ उनले भने, ‘वर्खामा बल्लतल्ल बाँचेका छौं । तर हाम्रो पीडा हेर्न कुनै सरकार आउँदैन ।’ आपतविपद् परे गोबरगाढाबासी एक घण्टा पैदल र दुई घण्टा डुंगा तरेर हनुमाननगर बजारसम्म पुग्छन् । ‘स्वास्थ्य चौकी पनि बग्यो, अब त एउटा सिटामोल लिन पनि हनुमाननगर बजारै पुग्नुपर्ने भयो,’ स्थानीय श्यामकुमार यादवले भने । कोसीको भंगालोका बीचमा बस्दा बर्खामा रातभरि सुत्न नसकिए पनि थातथलो छाड्न नसकिएको उनी बताउँछन् । उनीहरूलाई अहिले सर्पको समस्याले पनि पिरोलेको छ । ‘यहाँ खेतबारी र पुर्ख्यौली थातथलो छ, छोडेर कहाँ जाने ?’ उनले भने ।

डुबानबाट जोगिन स्थानीयले घरैपिच्छे बाँसको मचान बनाएका छन् । चार दिनयता बस्तीमा पानी भरिएका बेला अग्लो ठाउँमा जानुपर्ने बाध्यता छ । ‘ब्यारेज भएर बहाव बढ्यो कि अग्लो ठाउँमा गइहाल्नुपर्छ । यो दैनिकी नै भएको छ । जुनसुकै बेला बाढीले त्रास बढाउँछ,’ स्थानीय महेन्द्र सदाले भने, ‘तल कोसीको पानी, माथिबाट वर्षा, चारैतिर कोसीको धार ?’ विस्थापित परिवारलाई खाद्यान्न जुटाउन समस्या छ । ‘कहाँबाट चावल–दाल, नुन–तेल ल्याउनु ? कसरी ओखती मुलो गर्नु ?’ उनले भने, ‘डुंगामा त जान सक्ने अवस्था छैन पौडेर कसरी चारवटा धार पार गर्नु ?’

बर्सेनि हुने डुबानको समस्याको समाधान नखोजिएकोमा स्थानीय आक्रोशित छन् । गोबरगाढाका वडाध्यक्ष कुशेश्वर यादव अहिले हनुमाननगरस्थित घरमा छन् । ‘पालिकाको बैठकलगायत कारण यता आएको हुँ, दुई/चार दिनमा गोबरगाढा नै फर्किन्छु,’ उनले भने । नगरप्रमुखदेखि प्रमुख जिल्ला अधिकारीसम्म बस्तीको अवस्थाबारे जानकारी गराएको यादवले बताए ।

भारतीय जबर्जस्तीले कोसीमा संकट

०६५ भदौ २ मा सुनसरीको तत्कालीन पश्चिम कुसहा गाविस–४ मा कोसीको पूर्वी तटबन्ध भत्किँदा पश्चिम कुसहा, लौकही र हरिपुरका सात हजार ५ सय ४३ परिवार विस्थापित भए । भारततर्फ भने एक दर्जन जिल्ला नै प्रभावित बने । भारतीय कोसी योजनाले पूर्वी तटबन्ध निर्माण सुरु गर्‍यो । तटबन्ध निर्माण गरे पनि कोसीको बहाब भने पूर्वी तटबन्धसँगै टासिएर बग्न थाल्यो ।

सुनसरीको राजावास क्षेत्रभन्दा माथिबाट नै कोसी योजनाले पाइलट च्यानल खन्न सुरु गर्‍यो । त्यस बेला भारतीय कोसी योजनाका प्राविधिकहरूले पाइलट च्यानलले कोसीको धारलाई पूर्वी तटबन्धको छेउबाट हटाएर बीचबाट बग्ने गरी बनाउने योजना सुनाएका थिए । नदीको धारलाई फर्काउन नसकिने भए पनि नेपाली अधिकारीको सुस्तता तथा भारतीय प्राविधिकको जबर्जस्ती पाइलट च्यानल बनाउने योजनाले कोसीको मुख्य धारलाई बीचबाट बग्न सक्ने त बनाउन सकेन, पूर्वी तटबन्धको छेउबाट बगिरहेको कोसी सीमा पश्चिमतर्फ फर्कियो । च्यानलका कारण नदी पश्चिमी भागबाट बग्न थालेपछि अहिले उदयपुरको बेलका नगरपालिका डुम्रीबोटेमा ओभरफ्लो भई बस्तीमा पसेको हो ।

तत्कालीन अवस्थामा एकहोरो रुपमा भारतीय प्राविधिक र ठेकेदारहरू कोसीमा पाइलट च्यानल खनिरहँदा नेपाली अधिकारीहरू भने मौन बसे । सोही पाइलट च्यानलका कारण पश्चिमतर्फ फर्किएको धारले अहिले पुरानो स्वरुप लिएको छ । ०४५ सम्म बगिरहेको धारमै अहिले कोसीको पानी बग्न थालेपछि उदयपुरको बस्तीमा प्रवेश गरेको हो । यो बाढीले सुनसरी र सप्तरीसम्म पनि क्षति गर्न सक्ने अवस्था छ ।

कोसी ब्यारेजभन्दा उत्तर मात्र होइन, भारतीय पक्षले दक्षिण धारलाई बीचबाट बगाउने भन्दै ८ वर्षअघि पाइलट च्यानल खन्ने कार्य सुरु गर्‍यो । तर ब्यारेजभन्दा दक्षिणी क्षेत्रमा पनि उत्तरकै अवस्था सृजना भयो । कोसी बीचबाट नभई पश्चिमी तटबन्धसित टाँसिएर बग्न थाल्यो । अहिले कोसीको पश्चिमी तटबन्धअन्तर्गत १९ किलोमिटर रहेको सप्तरीका विभिन्न स्थानमा पानीले दबाब बनाएको छ, जसका कारण सिपेज (रसाएर) भएर पानी निस्कन थालेको छ । ‘भारतीय लापरबाहीले डलवा नजिक कैयौं स्थानमा सिपेज भएको छ,’ कोसीपीडित समाजका अध्यक्ष देवनारायण यादवले भने, ‘च्यानल खनेर धारलाई पश्चिमी तटबन्धमा ल्याएर टाँसे, अब नेपालीले संकट सामना गर्नुपर्ने भयो ।’

वर्षौदेखि मर्मत नगरिदा पश्चिमी तटबन्ध होचो हुदै गएको र नदीको सतहमा बालुवा जम्मा भएर अग्लो हुदै गएको अध्यक्ष यादवले बताए । कोसीको धार पश्चिमी तटबन्धतर्फ मोडिएपछि कोसी ब्यारेज भन्दा दक्षिण १९ किलोमिटरसम्म नेपाली भुभागमा रहेको तटबन्ध जोखिममा छ । तटबन्ध होचो रहेका कारण कयौं स्थानमा ओभरफ्लोको खतरा छ ।

केही दिनको निरन्तरको वर्षापछि डलवानजिकको रिङ बाँध क्षतिग्रस्त अवस्थामा पुगेको छ । भर्खर बालुवा हालेर बनाएको उक्त बाँधका कतिपय स्थानमा क्षति पुगेको छ ।

प्रकाशित : श्रावण २१, २०७९ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?