मुसहर बालबालिका विद्यालयबाहिरै- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसहर बालबालिका विद्यालयबाहिरै

कमजोर आर्थिक अवस्थाका कारण पढाउन नसकिएको अभिभावकको भनाइ
भरत जर्घामगर

सिरहा — सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित भारतीय सीमा दशगजानजिक पोखरी डिलमै ‘कट्टी टोल’ छ । टोलमा ५० घर भूमिहीन दलित मुसहर समुदायको बसोबास छ । सिंगो मुसहर बस्तीको गुजाराको माध्यम भनेको मजदुरी हो । बस्तीदेखि दुई सय मिटरनजिक नमुना प्राविधिक धार विद्यालय छ । तर, बस्तीमा आठ कक्षासम्म पढेका कोही भेटिँदैनन् ।

टोलभरि विद्यालय जाने उमेरका ७४ बालबालिका छन् । उनीहरू बस्तीको नजिकैको विद्यालयमा पढ्न जाँदैनन् । बरु दिनभर भाइबहिनी खेलाएर बस्छन् भने कोही बस्तुभाउ गोठाला ।

सरकारले बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउन दिवा खाजा, पोसाक, निःशुल्क किताब उपलब्ध मात्र गराउँदैन, उनीहरूका लागि भनेर वार्षिक चार सय रुपैयाँ छात्रवृत्तिसमेत दिने व्यवस्था गरेको छ । तर यसले ‘कट्टीटोल’ का मुसहर बालबालिकालाई छुन सकेको छैन । ‘छोराछोरी पढाएर के गर्नु, नखटी पेट भरिँदैन,’ मजदुरी गरेर गुजारा चलाउँदै आएका बस्तीका जितन सदा मुसहरले भने, ‘हामी जीवनमा खटेपछि बालबच्चा घरमै छोड्नुपर्छ, भाइबहिनी हेरालुका लागि पनि विद्यालय जान पाउँदैनन् ।’

४ कक्षासम्म पढेर बीचमै पढाइ छाडेका जितनका ३ छोरा र १ छोरी छन् । बीचमै पढाइ छाडेको पिरालो भए पनि जितनले अक्षरसम्म चिन्न सक्ने बनाउन छोरालाई विद्यालय पठाएका थिए । तर छोराले पढाइ छाडेपछि उनले शिक्षामा चासो दिएनन् । जितनका अनुसार बस्तीका वैदेशिक रोजगारीमा गएका केहीले मात्र बालबालिकालाई विद्यालय पठाउन थालेका छन् । बस्तीभरिमा प्रभु सदाय मुसहर, जनक, बद्री र रामपुकारका बालबालिका विद्यालय जान्छन् । प्रभुका २ छोरा र १ छोरी, जनकको २ छोरा र १ छोरी, बद्रीका छोरी प्रियंका र रामपुकार छोरी शान्ति विद्यालय जान्छन् । उनीहरू वैदेशिक रोजगारीका लागि कतारमा छन् ।

‘विदेशबाट पति रामपुकारले छोरी पढाउन भनेपछि विद्यालय पठाउन थाले,’ प्रमिला देवीले भनिन्, ‘विदेश पढाइ र सीप नहुँदा साह्रै दुःख पाएको पतिले सुनाएपछि छोरी शान्तिलाई पढ्न पठाए ।’ उनका अनुसार बस्तीबाट ८ जना मात्रै विद्यालय जाने गरेका छन् । ‘छरछिमेकलाई समेत बालबालिका विद्यालय पठाउ भन्दा मान्दैनन्,’ उनले भनिन्, ‘विद्यालय पठाएर बालबच्चा र बस्तुभाउ कसले हेर्छ भनेर हप्काउँछन् ।’

‘कट्टी टोल’का बासिन्दा गाउँ ब्लक जग्गा र पोखरी छेउ ऐलानी जग्गामा बसोबास गर्छन् । बस्तीमा पुग्ने बाटो, बिजुलीसमेत छैन । विद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन । जनता मावि प्राविधिक धारका प्रधानाध्यापक वीरबल यादवले मुसहर बस्तीका केही बालबालिका मात्र विद्यालय आउने गरेको जानकारी दिए । ‘बस्तीमा बर्सेनि गएर बालबालिकालाई विद्यालय पठाउन अनुरोध गर्दै आएका छौं,’ उनले भने, ‘अभिभावकले नै चासो नदेखाएपछि विद्यालयले केही गर्न सक्ने कुरै भएन ।’

प्रकाशित : श्रावण १९, २०७९ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

कोही किन सडकमा आओस्

सामान बेच्दै र माग्दै हिँड्ने बालबालिकामध्ये धेरैलाई ‘रोजगारी दिने’ प्रलोभनमा गिरोहले ल्याएका हुन्छन्
मधु शाही

काठमाडौँ — आमाका अघिपछि गर्दै गाउँ डुल्न, साथीभाइ बटुलेर खेतमा माछा मार्न र किताबकापी च्यापेर स्कुल जान उनलाई निकै मन पर्छ । तीन भाइ पछिका कान्छा भएकाले उनी आमाका पनि प्यारा हुन् । बेलुका आमाकै काखमा लुटपुटिएर निदाउन पाउँदाको खुसी उनलाई मात्रै थाहा छ । गरिबीका कारण रौतहटका १० वर्षे बालक प्रदीप माझीको यी बाल सुलभता सबै खोसिएको छ । दुई वर्षअघि उनी आमाबाबुको काख छाडेर कमाउन काठमाडौं सहर पसेका हुन् । 

सहर पस्नु उनको रहर भने थिएन । सहर बस्ने एक चिनेजानेकै युवकले उनकी आमालाई ‘छोरो बरालिँदै हिँडेको छ, कमाउन सहर पठाइदिनू’ भन्दै सुझाव दिन थाले । दालचामल नभई खोले खाएर पेट भरेका प्रदीपका बाबुआमालाई पैसाले मन नलोभ्याउने कुरै थिएन । प्रदीपका अनुसार दुई वर्षअघि ‘कमाइ गर्न जाऊ’ भन्दै गाला मुसारेर साहुको जिम्मा लगाएको सम्झन्छन् । चितवनका साहुको नाम उनलाई ठ्याक्कै थाहा छैन ।

दुई वर्ष तिनैले बन्दोबस्त गरेको कोठामा क्यान्डी (मिठाई) बनाउने र बजार डुल्दै बेच्ने काम गरे । आफूसँगै गाउँका अरू तीन बालक पनि रहेको उनी बताउँछन् । ५ हजार रुपैयाँमा महिनाभरि व्यापार गर्नुपर्ने उनको दैनिकी थियो । पछि त्यही साहुले रौतहटकै चिनेजानेको आफ्नो साथीलाई प्रदीपको हात थमाइदिए । उनले पाइरहेको ५ हजार तलबमा एक हजार थपेर काठमाडौं ल्याउन तयार भएका थिए प्रदीपका नयाँ साहु, चन्दन यादव । रौतहट गौरका चन्दन २० वर्षदेखि काठमाडौंको नरदेवीको एउटा गुठी मन्दिरमा भाडा लिएर क्यान्डी बनाउने–बेच्ने व्यापार गर्दै आएका छन् । उनका अनुसार क्यान्डीको व्यापार बालबालिकाबाट धेरै प्रभावकारी हुन्छ । त्यसैले गाउँमा यत्तिकै बसेका, स्कुल नगएका, गरिब परिवारका केटा बटुलेर व्यापार गर्न काठमाडौं ल्याउने गरेको उनी बताउँछन् । उनको व्यवसायमा हाल ११ जना कामदार छन् । जसमा ६ जना १० देखि १५ वर्ष उमेरका बालक छन् । उनीहरू क्यान्डी बनाउने र बजारमा बेच्न डुल्छन् । बारा, सर्लाही र रौतहटका बालबालिका व्यवसायमा संलग्न गराइएको यादवले बताए ।

‘गाउँमा गुच्चा खेलेर, चोरीचकारी गरेर बसेका केटाकेटी हुन्, यहाँ ल्याएर रोजगारी दिएको छु,’ उनी भन्छन्, ‘खानबस्न पाएका छन्, अरू के चाहिन्छ यिनीहरूलाई ?’ दैनिक १ हजारदेखि १५ सय रुपैयाँ एक जना बालकले क्यान्डी बेचेर साहुलाई बुझाउँछ । यस हिसाबले ६ जनाले व्यापार गर्दा मात्रै महिनाको कम्तीमा पनि डेढ लाख रुपैयाँ कमाइ हुन्छ । श्रम गरिरहेका बालकले न शिक्षा पाएका छन्, न बिदा न त सुविधा । चार महिनामा एक दिन पनि बिदा नपाएका प्रदीप भन्छन् ‘खुट्टा दुखेर रातभरि सुत्न सक्दिनँ, रुँदै आमा सम्झन्छु ।’

प्रदीपको पारिश्रमिक आमाबाबुले बैंकमार्फत बुझ्छन् । महिनाको एक पटक घरमा फोनमा कुरा गराउँछन् साहुले । उनीसँगै सर्लाहीका १२ वर्षे विक्रम पासवान, रौतहटका १३ वर्षीय दिनेश राम, १५ वर्षे अमलेस साहलगायत बालक सडकमा क्यान्डी बेच्छन् । अमलेसलाई काठमाडौंसम्म पुर्‍याउन उनकै दाजुको जोड थियो । पढ्ने रहर हुँदाहुँदै १२ वर्षको उमेरमा दाजुले गाउँमा बच्चा खोज्दै आएका चन्दन यादवको जिम्मा लगाए । सुरुमा काठमाडौं जाने, व्यापार गर्ने, पैसा कमाएर धनी बन्ने सपना परिवारले देखाए । उनी त्यही आशा बोकेर काठमाडौं भित्रिएका थिए । मासिक ८ हजार रुपैयाँमा परिश्रम गरेका अमलेस तीन वर्षमा १२ हजार रुपैयाँ तलब पुगेको बताउँछन् । यद्यपि त्यो पैसा उनको परिवारले पाउँछ या दाजुले, उनी ढुक्कले भन्न सक्दैनन् । ‘साहुले घरमै दिन्छु भन्छ, घरकाले पायौं भन्छन् । म काम गरिरहेको छु,’ उनले बताए ।

क्यान्डी बेच्ने काममै १४ वर्षे दिलीप बैठा मासिक ७ हजारमा छन् । चन्द्रनिगाहपुर–६ का उनी तीन भाइबहिनीका दाजु हुन् । आमाबुबा अर्काको खेतमा मजदुरी गर्छन् । घरको जेठो सन्तान भएकाले कमाइ गर्नुपर्ने दबाबले उनी काठमाडौं आए । गाउँमा चिनजान दीपु बैठाका साथ उनी काम गर्न काठमाडौं आएको बताउँछन् । उनीजस्तै गाउँका अरू तीन जना बालबालिका छन् । कोठामा क्यान्डी बनाउँछन् र बजार डुलेर बेच्छन् । बेलुका सबै पैसा साहुलाई बुझाउँछन् । ‘कहिलेकाहीं व्यापारमा घाटा लाग्यो भने साहुको कुटाइ पनि खानुपर्छ,’ उनी भन्छन्, ‘जसरी पनि क्यान्डी धेरैभन्दा धेरै बेच्नुपर्छ ।’

सिन्धुपाल्चोककी १३ वर्षीया कविता नेपालीले स्कुल छाडेको तीन वर्ष भयो । परिवारमा खानलाउन नै गाह्रो थियो । मजदुरी गरेर पेटपालो गर्दै आएका बाबुआमाको सम्बन्ध बिग्रियो । कविता र उनकी ८ वर्षे बहिनी समिराको दैनिकी नर्क भएको थियो, बाबु परिवार छाडेर बेपत्ता भए । आमा एक्लैले दुई छोरी र आफ्नो पेट पाल्न मुस्किल भयो । त्यसपछि कविता सडकपेटीमा बसेर पैसा माग्न थालिन् । पैसा पाएका दिन दुई बहिनीले पेटभर खान पाउँछन् । वसन्तपुर, रत्नपार्कको पुलमुनि र जमल घण्टाघर छेउछाउ उनको दैनिकी बित्छ । खासगरी सोमबार, मंगलबार र शनिबारका दिन उनी मन्दिर छेउछाउ हुन्छिन् । बहिनीलाई बिरामी भएको अभिनय गराएर काखमा सुताउँछिन् अनि ‘उपचारका लागि पैसा दिनुस्न हजुर’ भन्दै माग्ने गर्छिन् ।

दिनभरि मागेर जे जति रुपैयाँ जम्मा हुन्छ, त्यो सबै आमालाई बुझाउँछिन् । लुगा सिलाइको पेसा गर्ने आमालाई पत्थरीको समस्या छ । अस्वस्थ आमाको सहारा बनेकी कविताले सुरुमा होटलमा भाँडा माझ्ने काम गरिन् । साहुले भनेको बेला तलब नदिने, गाली र कुटपिट गर्ने गरेपछि सडकमै आउन बाध्य भएको कविताको भनाइ छ । ‘काम गर्‍यो साहुले तलबै दिँदैन थियो,’ उनी भन्छिन्, ‘बहिनी पनि हेर्नुपर्ने, उपाय नलागेर माग्न थालें ।’ दिनभरिमा कम्तीमा ५ सय रुपैयाँ जम्मा गर्नैपर्छ । नभए तीन जनालाई खान पुग्दैन । कविताले बहिनी समिरालाई पनि माग्न सिकाउँदै छिन् । भन्छिन्, ‘बहिनीले बिरामीको नाटक गर्छे, दयाले पैसा दिन्छन् ।’

सिन्धुपाल्चोकका १० वर्षे समीर नेपाली दुई वर्षअघि आमाबुबासँगै काठमाडौं आएका थिए । सहर पसेपछि बुबाले रक्सी खाएर आमालाई कुटपिट गर्न थाले । आमा हिंसा सहन नसकी भागेर बेपत्ता भइन् । आमाले छाडेपछि समीर धेरै दिन भोकै पनि सुते । सडकमा पुग्नुको अरू विकल्प थिएन । बुबाले एक वर्षपछि सानीआमा भित्र्याए । उनको कुटपिटले समीर घरै बस्न नसक्ने अवस्थामा पुगे । कहिले वसन्तपुर डबली, कहिले रत्नपार्कको पुलतिर रातदिन बिताउन थाले । उनी भन्छन्, ‘भोक लाग्छ, मलाई पेटभर खान पाए पैसा चाहिँदैन ।’ परिस्थितिले मगन्ते बनाएको उनले बताए । युनिता र युनिक थापामगर दाजुबहिनी हुन् । त्रिशूली घर भएका उनीहरू आमासँगै वीर अस्पतालस्थित महांकाल मन्दिरमा माग्न बस्छन् । शनिबार उनीहरूका लागि विशेष दिन हो । चामल, पैसा र खानेकुरा पाइने भएकाले उत्साहित भएर बिहानैदेखि मन्दिर पेटीमा हुन्छन् । १० वर्षकी युनिता कक्षा ३ मा पढ्छिन् । तर, नाम मात्रको पढाइ छ । ‘नमागी खान पुग्दैन, पढ्ने कि पेट पाल्ने ?’ उनी भन्छिन् ।

दाजु युनिक सडकमा भौंतारिँदा भौंतारिँदै लागूऔषध दुर्व्यसनमा परेका छन् । चुरोट, रक्सी र नशालु पदार्थ सेवन गरेर आमा शिला विश्वकर्मालाई हैरान पारेका छन् । अन्तर्जातीय विवाह गरेकी शिला श्रीमान्को परिवारले सामाजिक रूपमा स्वीकार नगर्दा काठमाडौं आउनुपरेको बताउँछिन् । श्रीमान् कुलतमा फसेर सन्तानको जिम्मेवारीबाट विमुख छन् । छोराछोरी र आफूले मागेर आएको पैसामध्ये आधा श्रीमान्लाई नबुझाई नहुने शिला सुनाउँछिन् । ‘दिनभरि घामपानी नभनी माग्यो, आधा पैसा लोग्नेलाई बुझाउनैपर्छ । नभए छोराछोरी र मलाई कुट्न थाल्छ,’ उनले भनिन् ।

दोलखाका दाजुबहिनी सविना र राजन कार्की सरकारी स्कुलमा भर्ना भएका छन् । तर, उनीहरूको ध्यान पढाइभन्दा बढी पैसा जम्मा गर्नुमा छ । हनुमानढोकामा पानीका बोतल बिक्री गर्छन् । यदि कसैले पानी किनिदिएनन् भने मागेर पनि पैसा जम्मा गर्छन् । ‘पानी नबिक्दा पैसा माग्छौं,’ १० वर्षे राजनले भने, ‘जम्मा भएको पैसा घर बुबालाई दिन्छौं ।’ राजनकी आमा सानैमा बितिन् । बुबा मजदुरी गरेर जीविकोपार्जन गर्छन् । खर्च नपुगेपछि बाबुले नै पानी बेच्न पठाएको राजनले सुनाए । हप्तामा तीन/चार दिन स्कुल हाजिर भएर अरू दिन पैसा जम्मा गर्नमा उनीहरू व्यस्त हुन्छन् । शनिबार बिदा हुँदा दिनभरि हनुमानढोका र वसन्तपुरमा यी दाजुबहिनी पानी बेच्न थाल्छन् । पानी बेच्ने नभए पैसा माग्ने बालबालिका सडकमा थुप्रै छन् । वसन्तपुरमै १० देखि १५ जना बालबालिका स्कुलै जान छोडेर पैसा माग्ने गरिरहेका भेटिन्छन् ।

सिन्धुपाल्चोकका १२ वर्षीय अन्जन तामाङले सडकमा पैसा माग्ने काम गर्न थालेको एक वर्ष पनि भएको छैन । आमा वैदेशिक रोजगारीमा गइन्, बाबु मजदुरी गर्छन् । बाबु राति अबेर आउने, खाना खाएको नखाएको केही ध्यान नदिने गर्दा अन्जन एक्लो भए । विदेश गएकी आमाको सम्पर्कमा छैनन् । लुगा लगाउन र पेटभरि खानकै लागि आफू सडकमा आइपुगेको उनले बताए । ‘बुबा–आमालाई मेरो वास्तै छैन,’ उनी भन्छन्, ‘मिठो खान मन लाग्छ, राम्रो लाउन मन लाग्छ । त्यसैले माग्न हिँडे ।’ उनी कहिलेकाहीं पानी बेच्छन् । त्यो पनि भएन भने मागेरै पेट भर्छन् । उनका साथी जेनिश नेपालीसँग र्‍याप गीत गाउने र नाचेर देखाउने कला छ । त्यसैले उनलाई माग्न केही सजिलो छ । त्यसो त उनी पोस्टकार्ड पनि बेच्छन् । १० रुपैयाँमा पसलबाट पोस्टकार्ड किनेर ५० सम्ममा बेच्ने गरेको उनले बताए । उनी बिरामी हुँदा र्‍याप गाउन सक्दैनन् । त्यस्तो बेलामा अवस्था देखाउँदै पैसा माग्छन् । उनी भन्छन्, ‘सन्चो नहुँदा मागेर खान्छु, नभए र्‍याप सुनाउँछु ।’

काठमाडौं उपत्यकाको सडकमा माग्ने बालबालिका छरिएर घुमिरहेका भेटिन्छन् । सवारी जामका समयमा फुत्त निस्केर मागिरहेका भेटिन्छन् । यस्ता बालबालिका कतिपय अभिभावकको बेमेलका कारण घर छाडेर आएका छन् भने कतिपय भारतबाट अभिभावकले नै अघि लगाएर ल्याएका छन् । दरबारमार्ग, पशुपति क्षेत्र, हनुमान ढोका, महांकाल, स्वयम्भू, बंगलामुखी, पाटन दरबार, कृष्णमन्दिर लगायतमा सडक बालबालिका पैसा माग्दै गरेको अवस्थामा देख्न सकिन्छ । काखे बच्चादेखि १५ वर्षसम्मका बालबालिकालाई अभिभावकले मागिखाने साधन बनाएका छन् । यद्यपि अभिभावक बच्चा पाल्नकै लागि माग्ने भएको दुखेसो सुनाउन पछि पर्दैनन् ।

बिहारको बैरगनियाबाट आएकी १० वर्षे साजन खातुन आमासँगै सडकमा माग्छिन् । डेढ वर्षकी बहिनीलाई काखीमा च्यापेर उनी बीच सडकमा माग्न बस्छिन् । आमाले जहाँ माग्न भनिएको हो त्यही ठाउँमा छाडेर जान्छिन्, साँझ परेपछि लिन आउँछिन् । ‘अम्मी छोडके जाति है,’ उनी भन्छिन्, ‘पैसा उन्ही को देते हैं । एक वर्षअघि भारतको गान्धीनगरबाट पाँच जनाको परिवारसहित नेपाल आएका कैनी हरिजन यतै मागेर बस्न थालेकी छन् । नेपाली धार्मिक प्रवृत्तिका छन् । दयालु हुन्छन् भन्ने थाहा पाएरै नेपाल आएको उनी बताउँछिन् । कैनीका तीन छोरी र एक छोरा छन् । तीन छोरीहरूलाई उनी माग्न पठाउँछिन् । पाटनको बंगलामुखी मन्दिरमा बिहीबार उनी प्रायः छोराछोरी बोकेरै माग्न बस्छिन् । ११ वर्षे नैनी हरिजन उनकी जेठी छोरी हुन् । स्कुल देख्न नपाएकी उनले भारतदेखि नेपालमा मागेर खानकै लागि आमाबुबाको साथ आएको बताइन् । ‘दिनभरि मन्दिर वरिपरि डुल्छु, जति पैसा जम्मा हुन्छ सबै आमालाई दिन्छु,’ उनी भन्छिन् । नैनीका अनुसार उनको गाउँमा झुप्रो घर छ, पानी पर्दा छानो चुहिन्छ । सबै परिवार मिलेर मागेको पैसाले घरमा टिन छाउने सपना छ ।

भारतको कान्जीनगरबाट आएको बताउने हसिना बेगम माग्नका लागि १० वर्षकी छोरी साथ राख्छिन् । न्युरोडमा कचौरा लिएर दुई छोरीसँगै माग्न बस्छिन् । कहिलेकाहीं छोरीहरूलाई मात्रै माग्न लगाउँछिन् । नेपालका सीमावर्ती सहर हुँदै उपत्यकासम्म माग्न आउनेको लर्को बर्सेनि चल्छ । लखनउबाट नेपालगन्जको रुपैडिया बोर्डर हुँदै पस्ने धेरै हुन्छन् । अधिकांश बालबच्चा बोकेरै आउँछन् । धेरै ठाउँ उनीहरू नेपालीका करुणाको जाँच गर्न बच्चाहरूलाई माग्न बसाल्छन्, पर बसेर निगरानी गर्छन् । बाल सरोकार केन्द्र (सिविन) का नेपालगन्ज संयोजक सिद्धराज पनेरुका अनुसार अभिभावकले माग्नका लागि छाडेर गएका बालबालिकामध्ये ४ जनालाई उद्धार गरिएको छ । रुपैडियाबाट नजिकै पर्ने नैनपारा, बाबागन्ज र बहराइचबाट आएका उनीहरूलाई आवधिक गृहमा राखेर सोधपुछ गरेपछि घर पठाएको उनले बताए । ‘आमाबुबाले नै योजना बनाएर छोराछोरी माग्न नेपाल छाडिदिएको पनि पाइयो,’ उनले भने । केही नेपाली बालबालिका पनि अभिभावकसँगै बस्ने तर सजिलोसँग पैसा हात पार्न माग्न अघि सरेको सडकमा देखिएको छ ।

सरकारले आव २०७८/७९ भित्र सडक बालबालिकामुक्त राष्ट्र घोषणाका लागि आधार खडा गरिने लक्ष्य लिएको छ । सरकारले आव २०७३/७३ देखि सडक बालबालिकाको उद्धार र व्यवस्थापन कार्य सुरु गरेको थियो । २०७८ असारसम्म १ हजार ७ सय ८८ जना बालबालिकाको उद्धार एवं व्यवस्थापन गरिएको तथ्यांक छ ।

प्रकाशित : श्रावण १९, २०७९ ११:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×