कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

माछा आयात बढ्यो

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा माछा आयात बढेको छ । पशु क्वारेन्टाइन कार्यालय पर्साका अनुसार गत आव २०७८/७९ मा वीरगन्ज नाका हुँदै ६ सय ४८ मेट्रिक टन माछा आयात भएको छ । अघिल्लो आव २०७७/७८ मा भने यो नाकाबाट ५० मेट्रिक टन माछा भित्रिएको थियो । 

नेपालमा विशेषगरी भारतबाट माछा आयात हुँदै आएको छ । स्वदेशमै संघ तथा प्रदेश सरकारले माछा जोन घोषणा गरेर किसानलाई माछापालनमा प्रोत्साहित गर्न अनुदानलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, सरकारको योजनाअनुसार माछा आयात भने कम हुन सकेको छैन ।

कार्यालयका अनुसार बोनलेस र एकोरियम माछाको आयात पनि बढेको छ । अघिल्लो आवमा यो नाका हुँदै भारतबाट २६ मेट्रिक टन बोनलेस माछा आयात भएको थियो । गत आवमा भने ५ सय ४६ मेटन आयात भएको छ । अघिल्लो आवमा ८ हजार ३ सय ५ वटा एकोरियम माछा आयात भएकोमा गत आवमा झन्डै ५ लाख १९ हजार ४ सय ९ वटा आयात गरिएको छ । घर तथा व्यावसायिक प्रतिष्ठानमा सजाउन पालिने यस्तो माछाका लागि भारतमै निर्भरता देखिन्छ ।

विगतमा भारतको आन्ध्र प्रदेशबाट आलो माछा ल्याइने गरेकोमा हाल भने कोलकाताबाट आयात भइरहेको छ । कोलकातामा भारतको क्वारेन्टाइन कार्यालय रहेकाले आयातकर्ताले त्यहाँबाट उत्पत्ति प्रमाणपत्र ल्याउन सहज हुन्छ । कार्यालय प्रमुख डा. हरेराम यादवका अनुसार अघिल्लो आवमा मासुमाछा आयात गर्दा भारतीय क्वारेन्टाइनको उत्पत्तिको सिफारिस र स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएपछि आयात घटेको थियो ।

प्रकाशित : श्रावण १९, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?