सर्लाहीमा युवकको बीभत्स हत्या - मधेस - कान्तिपुर समाचार

सर्लाहीमा युवकको बीभत्स हत्या 

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिपूर्वामा एक युवकको बीभत्स ढङ्गले हत्या गरिएको अवस्थामा सोमबार शव फेला परेको छ ।  हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशीलकुमार यादवको हत्या भएको हो । 

सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालयको चर्पी निर्माणका लागि खनिएको खाल्डोभित्र फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको र छिनोले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा सुशीलको शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । ´धारिलो हतियारले घाँटी रेटेको र छिनोले आँखामा प्रहार गरेर पछाडिसम्म निकालेको देखिन्छ,' यादवले भने । डीएसपी यादवले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर फिरेका थिए । सुशील गएको सुक्रबारदेखि नै घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीमा भने खबर गरेका थिएनन् । परिवारका सदस्यले सुशील पुनः कामका लागि भारत नै गएको हुनसक्ने भनी बेपत्ता भएको खबर नगरेको प्रहरीलाइ जनाएको छ ।

बिहान शव फेला परेपछि मात्रै सुशील चार दिनअघि देखि नै बेपत्ता रहेको खुल्न आएको डीएसपी यादवले बताए । मृतकको शव कीराले खान थालिसकेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

प्रकाशित : श्रावण १६, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्

सर्लाहीमा जुवा खालबाट ७ जना पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको वाग्मती नगरपालिका–३ धरहराबाट जुवा खेलिरहेको अवस्थामा आइतबार अबेर साँझ प्रहरीले नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । त्यसमध्ये एक जना महिला पनि पक्राउ परेकी छन् ।

वाग्मतीको धरहरास्थित घिसिङ होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी एक महिलासहित ७ जनालाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले २ लाख १४ हजार ९ सय ७० रुपैयाँसहित १६ थान कौडा र १ बुक तास पनि बरामद गरेको छ ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा वाग्मती नगरपालिका–३ की ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चरसिंह घिसिङ, वर्ष ३२ का प्रेम बहादुर वाइबा रहेका छन् । यस्तै, हरिवन नगरपालिका–११ का ३४ वर्षीय मणिलाल बोम्जन, ४२ वर्षका मनोज कुमार थिङ, ४५ वर्षका जगत स्याङतान र वर्ष ४१ का पनोज कुमार थिङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पक्राउ परेका जुवाडेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही महिनाअघि मात्र धरहराबाट प्रहरीले ४ लाखभन्दा बढी रकमसहित १२ जना जुवाडेलाई पक्राउ गरेको थियो । यस क्षेत्रमा सेटिङमै जुवा खेलाउने काम चल्दै आएको स्थानीयले बताएका छन् ।

प्रकाशित : श्रावण १६, २०७९ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×