१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मधेसमा वर्षाले राहत

लक्ष्मी साह

बारा, महोत्तरी — उखरमाउलो गर्मीबीच पानी परेपछि बारा, महोत्तरीसहितका मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि बुधबार दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् ।

मधेसमा वर्षाले राहत

बारामा पानी नपर्दा ७० प्रतिशतमात्र रोपाइँ भएको थियो । अब वर्षापछि धान रोपाइँ गर्न पाइने भएकोले किसान खुसी भएका हुन् । यहाँ तीन साता पछि वर्षा भएको हो ।

पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । महोत्तरीमा पनि १५ असारयता आज पानी परेको हो । 'धान अब के होला भनेर आश मारेका थियौं, आजको वर्षाले फेरि आश जगायो,' बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताले भने, 'अब केही दिन पानीले साथ दिए रोपाइँ सकिन्छ र रोपो पनि फिर्छ ।' आजकै वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको महोत्तरीका किसानको भनाइ छ । केहीबेरकै भए पनि आजको वर्षा मधेसका सबैजसो जिल्लामा भएको छ ।

आजको वर्षाले चर्को घामको रापबाट राहत भएको छ । लगातारको प्रचण्ड रापले चरण क्षेत्रमा सुकेका घाँस अब पलाउने र गाईबस्तु चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन् ।

यसैबीच मौसमविद्ले अब दुई/तीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन् । महोत्तरीमा हालसम्म पानीको अभावले धान रोपाइँ गतिमा बढ्न सकेको छैन । कूल ७० हजार खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा गरिने धानखेती अहिलेसम्म ४५ प्रतिशतमात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले नै जनाएको छ । जिल्लामा कूल खेतीयोग्य जग्गामा १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीको भरमै हुँदै आएको छ ।

प्रकाशित : श्रावण ४, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?