कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अन्नभण्डारमै रोपाइँ सुस्त

पानी नपर्दा र चर्को घामले बीउ सुक्न थाल्यो, रोपेको खेतमा धाँजा
प्रदेश ब्युरो

जनकपुर — असारको दोस्रो सातादेखि पानी नपर्दा अन्नभण्डार मधेस प्रदेशमा रोपाइँ सुस्त छ । चर्को घामले बीउ सुक्न थालेको छ भने जसोतसो रोपिएको धान खेतमा धाँजा फाट्न थालेको छ । प्रदेशमा शुक्रबारसम्म ५७ प्रतिशत मात्र रोपाइ भएको छ ।

अन्नभण्डारमै रोपाइँ सुस्त

प्रदेशका ८ जिल्लामा ५ लाख ५५ हजार २ सय १८ हेक्टर खेतीयोग्य जग्गामध्ये धान खेती हुने ४ लाख ५ हजार ४ सय ५० हेक्टर छ । त्यसमध्ये २ लाख २९ हजार १ सय ६७ हेक्टरमा मात्र रोपाइँ भएको मधेस प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

सप्तरीमा सबैभन्दा बढी र पर्सामा सबै भन्दा कम रोपाइ भएको छ । सप्तरीमा ७५ प्रतिशत, सिरहामा ५५ प्रतिशत, धनुषामा ६० प्रतिशत, महोत्तरीमा ४५ प्रतिशत, सर्लाहीमा ५५ प्रतिशत, रौतहटमा ५० प्रतिशत, बारामा ६० प्रतिशत र पर्सामा ४२ प्रतिशत रोपाइँ भएको मन्त्रालयका अधिकृत मनीष पालले बताए । समयमा पानी नपर्दा रौतहटका किसानले धान रोप्न पाएका छैनन् । आकाशेपानीको भरपर्दा अहिलेसम्म रौतहटमा ५० प्रतिशत मात्र खेतमा रोपाइँ भएको छ । अघिल्लो वर्षको तुलनामा यो आधा हो । यतिखेर रोपाइँ सक्नुपर्थ्यो । तर, केही सातादेखि पानी नपर्दा रोपाइँ रोकिएको छ ।

कृषि ज्ञान केन्द्र गौरका अनुसार पानी नपरेकाले किसानले धान रोप्न पाएका छैनन् । खेतमै पम्प सेट भएका र नहरको दायाँबायाँका किसानले मात्र रोपाइँ सकेका छन् । कृषि ज्ञान केन्द्रका अधिकृत हरिशंकर जैसवालले आकाशेपानीको भरपर्दा आधाजसो किसानले रोपाइँ गर्न नसकेको बताए । ‘किसानले लगाएको बीउ सुक्न थालिसक्यो । यो बेला रोपाइँ सक्नुपर्थ्यो,’ उनले भने, ‘साउनभित्रमा रोपाइँ सकिन्छ होला ।’

असार बित्न लाग्दासमेत बाँझै रहेको सर्लाहीको खेत ।

बर्खायाम सुरु भए पनि पानी नपरेकाले किसानलाई समस्या छ । केन्द्रका अनुसार रौतहटका कुल ३८ हजार १ सय हेक्टर धान खेती छ । किसानले पछिल्लो समय मन्सुली, कतर्नी, सावित्रीलगायतका धान लगाउने गरेका छन । कृषि केन्द्रका अनुसार यस वर्ष डुबानको समस्या भएन भने धान उत्पादनमा गिरावट आउँदैन । गत वर्ष बाढीका कारण ३४ हजार हेक्टरमा मात्र धान लगाइएको थियो । अघिल्लो वर्ष ३.३ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुने गरेकोमा बाढीका कारण २.९ मात्र उत्पादन भएको थियो ।

चर्को घाम र सिँचाइको अभावका बीच सप्तरीमा ७५ प्रतिशत रोपाइँ सकिएको छ । रोपाइँ सकिएको भए पनि सिँचाइ नपुग्दा केही भागमा खेतमा धाँजा फाटन थालेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार सप्तरीमा ८१ हजार ६ सय ६८ हेक्टर धान खेतीयोग्य जग्गा छ । समयमा वर्षा नहुँदा धानखेती प्रभावित भइरहेको यादवले बताए । एकातर्फ मलखादको अभाव र अर्कोतर्फ सिँचाइ सुबिधा नहुँदा रोपाइँमा समस्या हुनुका साथै रोपिसकेको खेतमासमेत समस्या छ । ‘मलखादको अभाव छँदै थियो । यसबीचमा वर्षा नहुँदा रोपिएका धानखेतमा समेत धाँजा फाट्न थालेको छ,’ तिलाठी कोइलाडी–८ का कृषक पुष्पनारायण मण्डलले भने, ‘वर्षा नभए यस वर्ष किसानको लगानीसमेत खेर जाने अवस्था छ ।

वर्षाको सिजन असार बित्दा पनि बारामा पानी नपरेकाले रोपाइँ हुन सकेको छैन । पानीको अभावले ब्याडसमेत सुक्न थालेको छ । ‘अहिले भदैया धान रोपाइँको सिजन बितेर बर्खेधान रोपाइँको सिजन छ, तर पानी परेको छैन, जुनबेला आकाश हेर्दा सफा देखिने भएकाले चिन्ताले सताएको छ,’ कलैया २३ भोडाहाका ६५ वर्षीय किसान रामचन्द्र यादवले भने, ‘किसानको आँखा अहिले आकाशतिरै छ ।’ ट्युबवेलको सहारामा जसोतसो रोपाइँ गरेको धान खेतमा पनि धाँजा आउन थालेको सिम्रौनगढ नगरपालिका–८ कचोर्वाका किसान प्रदीप यादवले बताए ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवका अनुसार जिल्लामा ५० प्रतिशत मात्र रोपाइँ भएको छ । कुल ४८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा त्यसको आधा मात्र रोपाइँ भएको उनले बताए । भूमिगत जलस्रोत विकास समितिले सिचाइँका लागि गाडेको स्यालो ट्युबवेलले रोपाइँमा मद्दत पुर्‍याएको छ । रोपाइँका लागि पर्याप्त असारे वर्षा नभएकाले किसानहरू त्यसैका भरमा छन् । एकातिर वर्षा नहुनु, गण्डक नहरमा पानी नहुनु र चुरे कटानको असरले खहरे खोला खोल्सी तथा कुलो सुकेको रहनुले किसानलाई थप चिन्तामा पारेको छ ।

महोत्तरीमा ४० प्रतिशत रोपाइँ सकिएको छ । ६७ प्रतिशत खेतीयोग्य जमिन रहेको महोत्तरीमा ४६ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख रामचन्द्र यादवले एक सातामा ८० प्रतिशत खेतमा रोपाइँ सकिने बताए । महोत्तरीको बर्दिवासबाट दक्षिणतर्फ अधिकांश खेतीयोग्य जमिनमा धान खेती हुने गरेको छ । इनारको पानी र वर्षाको पानीलाई बाँध बाँधेर किसानले धान रोपिरहेका छन् । किसानले धान खेती गर्न मल नपाएको गुनासो गरेका छन् ।

पानी नहुँदा यस वर्ष सिरहामा ५५ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र सिरहाका अनुसार यो रोपाइँ सिञ्चित क्षेत्रमा मात्र भएको हो । धान रोपाइँ सुरु हुनुभन्दा अघि नै मनसुन सक्रिय भई वर्षा भएको थियो । तर, त्यतिबेला ब्याड तयार भएको थिएन । अहिले रोपाइँका बेला वर्षा भएको छैन । गतवर्ष यतिखेर सिरहामा ८० प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो । सिरहामा ४८ हजार ५ सय ८० हेक्टर जमिनमा धान खेती गरिन्छ ।

वर्षा नहुँदा सर्लाहीमा पनि रोपाइँ प्रभावित बनेको छ । वाग्मती सिँचाइ आयोजनाले नहरमा समेत पर्याप्त मात्रामा पानी छोड्न सकेको छैन । जिल्लामा बिहीबारसम्म ४५ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । वर्षा नभएकै कारण रोपाइँ प्रभावित भएको केन्द्रका प्रमुख कमलदेवप्रसाद महतोले जानकारी दिए । उनका अनुसार वाग्मतीमा पानीको सतह नबढ्दा नहरमा पनि पर्याप्त पानी छाडिएको छैन ।

जिल्लामा असारको पहिलो सातादेखि साउनको दोस्रो सातासम्म रोपाइँ चल्ने गरेको छ । तर यस वर्ष सिँचाइ अभावका कारण असार बित्न लाग्दासमेत उल्लेख्य रूपमा रोपाइँ हुन सकेको छैन । केही स्थानमा झन्डै तीन साताअघि समान्य वर्षामा किसानले बल्लतल्ल रोपाइँ सकेका थिए । तर उनीहरू अहिले खडेरीको सामना गरिरहेका छन् । कार्यालय प्रमुख महतोले रोपाइँमा ढिलाइ तथा केही स्थानमा रोपिएको धान पनि पानी अभावले सुकिरहेकाले यसको समग्र असर उत्पादनमा हुने जानकारी दिए ।

-सन्तोष सिंह (धनुषा), अवधेशकुमार झा (सप्तरी), भरतजर्घा मगर (सिरहा), सुनिता बराल (महोत्तरी), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट), लक्ष्मी साह (बारा) र शंकर आचार्य (पर्सा)

प्रकाशित : असार ३२, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?