धमाधम जुवाडे पक्राउ

सर्लाही — सर्लाहीको उत्तरी क्षेत्रमा जुवा खेल्ने तथा खेलाउने क्रम बढेको छ । जुवाखालबाट धमाधम जुवाडेहरू पक्राउ पर्न थालेपछि जुवा खेल्ने क्रम बढेको खुलेको हो । लालबन्दी प्रहरीले शनिबार साँझ मात्र जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

धमाधम जुवाडे पक्राउ

पक्राउ परेकाको साथबाट १ लाख ३४ हजार भन्दा बढी रकम समेत बरामद गरेको छ । लालबन्दी नगरपालिका–१० तुलसीटोलस्थित अम्बरबहादुर गोलेको घरमा जुवा खेलिरहेका ६ जुवाडेलाई इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सबै लालबन्दीकै छन् ।

यस्तै दुई साताअघि मात्र हरिवनबाट प्रहरीले ६ जना जुवाडे पक्राउ गरेको थियो । हरिवन नगरपालिका–११ बजार क्षेत्रमा पर्ने खुसराज उप्रेतीको घरमा जुवा खेलिरहेको अवस्थामा ती जुवाडे पक्राउ परेका थिए । स्रोतका अनुसार बाह्रैमास जुवा खेलाइने त्यस घरबाट लाखौं रुपैयाँ नगद बरामद भएको थियो तर प्रहरीले ३८ हजार रुपैयाँ मात्र बरामद भएको देखाएको थियो ।

यी दुई घटनाबाहेक एक वर्ष यता जिल्लाको उत्तरी क्षेत्रबाट थप ३१ जना जुवाडे पक्राउ परेका छन् । गतवर्ष तिहारको समयमा बरहथवास्थित गोरु व्यापारी शम्भु सिंहको घरबाट ६ जुवाडेसहित प्रहरीले जुवाको खालबाट ६० हजार रुपैयाँ तथा ५ हजार भारतीय रुपैयाँ बरामद भएको थियो । लगत्तै वाग्मती नगरपालिका–३ धरहरास्थित ढलकबहादुर तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसबेला जुवाको खालबाट ४ लाख ८४ हजार रुपैयाँसहित कौडा बरामद भएको थियो । घरको ढोकामा बाहिरबाट ताल्चा लगाएर कोठाभित्र जुवा खेलाइरहेको सूचना पाएको प्रहरी टोलीले घरबेटी ढलकबहादुरलाई नियन्त्रणमा लिई ढोकाको ताला खोल्दा बाह्रै जना जुवाडे प्रहरी नियन्त्रणमा परेका थिए । पछि उनीहरू सबैलाई स्थानीय प्रशासनले धरौटीमा रिहा गरेको थियो ।

गत तिहारकै बेला लालबन्दीबाट १ लाख ५४ हजार रुपैयाँसहित १३ जना जुवाडे पक्राउ परे । जुवाडे पक्राउ परेलगत्तै लालबन्दीका तत्कालीन नगर प्रमुख मानबहादुर खड्का र उपप्रमुख शान्ति लामासहितका राजनीतिक दलका प्रतिनिधिहरू जुवाडे छुटाउन इलाका प्रहरी कार्यालय अगाडि अवरोध पुर्‍याएका थिए । अवरोधकै बीच प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई म्याद थप गराएको थियो । पछि उनीहरूलाई पनि सामान्य धरौटीमा स्थानीय प्रशासनले छाडेको थियो ।

यता जिल्ला प्रहरी कार्यालयले भने जुवा खेलेको गोप्य सूचनाका आधारमा जुवाडेहरू धमाधम पक्राउ परिरहेको जनाएको छ । प्रहरी प्रवक्ता विजय यादवले पक्राउ परेकाहरूलाई म्याद थप गरेर अनुसन्धान गर्दै स्थानीय प्रशासनमा बुझाउने गरिएको जानकारी दिए । प्रहरी नायब उपरीक्षक यादवले जुवा खेलाउने काममा प्रहरीको संलग्नता नरहेको दाबी गरे । ‘गोप्य सूचनाका आधारमा जुवाडेहरू पक्राउ पर्दै आएका छन्, उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दै जिल्ला प्रशासनमा बुझाउने गरिएको छ,’ उनले भने, ‘जुवा खेलाउन मद्दत गर्नमा अहिलेसम्म प्रहरीको संलग्नता देखिएको छैन तथापि कुनै युनिट अथवा कुनै प्रहरीको संलग्नता भए कारबाहीको भागी ऊ आफैं हुनुपर्छ ।’

प्रकाशित : असार २२, २०७९ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?