खाल्डाले दशगजामा सास्ती- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाल्डाले दशगजामा सास्ती

दिनहुँ दुवै देशका सयौं सर्वसाधारणले सीमा वारपार गर्ने भए पनि मर्मतमा उदासीनता 
लक्ष्मी साह

(बारा) — वारि बसवरिया र पारि झरोखर गाउँ छ । दुवैतिर सीमा सुरक्षा बल तैनाथ छन् । भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले दशगजामा बेरियर (ढाट) लगाएको छ, वारि भने छैन । पारि पक्की सडक छ, वारि ग्राभेल (कच्ची) छ ।

दुवैतिरको सडकको उचाइ बढेकाले दशगजा खाल्डोमा परेको छ । वर्षामा खाल्डोमा पानी जम्छ । खाल्डोलाई न वारिले पुर्छ न पारिले, यसले सर्वसाधारणलाई दशगजा वारपार गर्न सास्ती छ । यो खुला नाकामा दुवै देशका सयौं सर्वसाधारण दिनहुँ वारपार गर्छन् । जमेकै पानी भएर वा छेउबाट बाटो काटेर वारपार गर्न गाह्रो छ ।

सिम्रौनगढ नगरपालिका–९ बसवरिया गाउँस्थित दशगजाको मर्मत गर्न वारिका पालिकाले प्रयास गर्दा एसएसबीले रोक्दै आएको हो । ‘कतिपटक ह्युमपाइप र ग्राभेल बिछ्याउन प्रयास गर्‍यौं तर पारिकाले दिँदैनन् । कल्भर्ट र पुल बनाउन त परै जाओस्,’ सिम्रौनगढ–९ का पूर्ववडाध्यक्ष अरबिन्द यादवले भने । पूर्वनगर प्रमुख विजयशंकर यादवले पारिका गाउँ पञ्चायतका प्रमुख र सुरक्षा अधिकारीसित समन्वय गर्दासमेत ग्राभेल र ह्युमपाइप राख्न नदिएको बताए ।

स्थानीय युवा सञ्जय यादवका अनुसार एसएसबीले वर्षायाममा त्यही खाल्डोबाटै बटुवाहरूलाई आउजाउ गर्न लगाउँछ । ‘कतिपय खाल्डोमै बाइक र साइकल लिएर लड्छन्, कतिलाई चोटपटक लाग्छ,’ उनले भने, ‘खुला सीमा दुवै देशको सर्वसाधारणहरूको दैनिकी र जीवनयापनसित जोडिएकाले दैनिक सयौंको आउजाउ छ । तर आवागमन गर्न कठिन भए पनि यो समस्या पारिका एसएसबीले भने बुझ्दैनन् ।’

यस्तै सुवर्ण गाउँपालिका ३ को कवहीगोठ गाउँको सतगन्जस्थित दशगजा वारि र पारि पक्की सडक छ । त्यहाँ पनि दुवैतिर सडकको उचाइ बढेकाले ४/५ फिटसम्म दशगजा गहिरो छ । जति प्रयास गरे पनि एसएसबीले खाल्डो पुर्न दिएको छैन । ‘खाल्डो पुर्न नदिँदा असारदेखि वर्षायामभर आउजाउ बन्द हुन्छ,’ स्थानीय शिक्षक एकवालीप्रसाद यादवले भने, ‘दुवै देशका सुरक्षा अधिकारीहरूबीच यस विषयमा समन्वय भएर खाल्डो पुर्न आवश्यक छ ।’

जिल्लाको पूर्वमा सिम्रौनगढ नगरपालिकादेखि पश्चिममा विश्रामपुर गाउँपालिकासम्मको ६२ किमि लम्बाइ भएको दशगजाको दर्जनौं ठाउँमा यस्तै समस्या छ । दशगजासित जोडिएका सिम्रौनगढ, पचरौता, सुवर्ण, कलैया, फेटा, विश्रापुरपालिका क्षेत्रभित्र पर्ने दशगजामा खाल्डोले आउजाउमा कठिनाइ भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दशगजाको समस्याबारे दुवै देशका सुरक्षा अधिकारीबीच ‘काउन्टर पार्ट’ मा छलफल नभएको बताउँछन् । ‘दशगजाको समस्या हामीले पहिचान नै गरेका छैनौं,’ उनले भने, ‘समस्या बुझेर पारिका सुरक्षा अधिकारीसित छलफल गर्छौं ।’ सीमा सुरक्षा बल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले जिल्लाभरको दशगजाको अवस्था बुझ्न सबै बीओपीका इन्चार्जहरूलाई निर्देशन दिएको बताए । ‘दशगजाको खाल्डोले आउजाउमा असहज छ, यसबारे पारिका सुरक्षा अधिकारीसित समन्वय गर्छौं,’ उनले भने ।

भारतीय एसएसबी ७१ औं बटालियनका सुरक्षा अधिकारी एनके मण्डलले यसबारे दुवै देशका सुरक्षा अधिकारीबीच छलफल हुनुपर्ने जनाए । ‘जिल्लाका सुरक्षा प्रमुख तहमा छलफल भएर राज्यस्तरबाट नै मर्मत गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित : असार २०, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

निर्माणाधीन लिदिङ खोला पुलमा गुणस्तरहीन काम, भुक्तानी दिन ठेकेदारको दबाब

डम्बरसिं राई

(खोटाङ) — निर्माणको सुरुवाती चरणकै परीक्षणमा गुणस्तरहीन पुष्टि भएको ऐंसेलुखर्क गाउँपालिकाको लिदिङ खोलास्थित निर्माणाधीन पुलको भुक्तानी दिन दबाब परेको छ । ऐंसेलुखर्क–१ राखावाङ्देल र वडा ३ को बीचमा पर्ने पुलको ठेक्का पुष्पाञ्जली जिम्बा जेभीले लिएको थियो ।

३ करोड २० लाख रुपैयाँ लागतमा २०७९ भदौ २८ भित्र सक्ने गरी २०७७ फागुन २८ मा सम्झौता भएको थियो । पुलको जग गुणस्तरहीन भएको परीक्षणले देखाएको थियो ।

पुलमा प्राविधिकले सम्झौता अनुसार काम नभएको, गुणस्तरहीन सामान प्रयोग गरिएको भन्ने गुनासो आएपछि परीक्षण गर्न पठाउँदा रिपोर्ट फेल आएको हो । गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले २०७८ मंसिर २ मा पठाएको रिपोर्टअनुसार गुणस्तर नपुगेको र त्यसको आधारमा निर्माण नै रोक्न गाउँपालिकाले पत्राचार गरेको थियो । केन्द्रले गरेको परीक्षणमा फेल देखिएपछि अर्को निजी कम्पनीलाई परीक्षण गराएर पास भएको पेस गरेको र त्यसैको आधारमा भुक्तानी मागिएको हो ।

निर्माण कम्पनीले काठमाडौंको डिल्लीबजारस्थित विश्व कन्सर्ट प्रालिलाई परीक्षण गराउन लगाएर पास भएको रिपोर्ट चैत २७ मा गाउँपालिकालाई बुझाएको थियो । सुरुमा उक्त प्रालिले पनि फेल भएको रिपोर्ट दिएको थियो । सुरुमा ढलान गर्ने मसला (कंक्रिट क्युटेस्ट) को परीक्षण फेल भएपछि निर्माण कम्पनीले कोरकटिङ टेस्ट (ढलान गरेको ठाउँको सामग्री काटेर परीक्षण) गर्न अनुरोध गरेपछि दोस्रो चोटि परीक्षणमा पठाइएको थियो । पछिल्लो चोटि निर्माण कम्पनी आफैंले खोजेको परीक्षण केन्द्रले पास गरेको रिपोर्ट आएकाले मिलेमतोको आशंकाले भुक्तानी रोकिएको थियो । गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले पुनः परीक्षण गराउने र त्यसको आधारमा भुक्तानी दिने/नदिने ट्गुों लाग्ने बताए ।

पुलको जग नै गुणस्तरहीन पुष्टि भइसकेकाले भुक्तानी दिँदा समस्या आउने पालिकाका एक कर्मचारीले बताए । ‘गुणस्तरहीन पुष्टि भएको रिपोर्ट देख्दादेख्दै कसरी भुक्तानी दिनु ?’ उनले भने, ‘यस्तो काम गरिँदैन, जसले दबाब दिन्छ उसैले यसको जिम्मेवारी पनि लिनुपर्ने हुन्छ ।’

निवर्तमान पदाधिकारी हुँदा गुणस्तरहीन पुल भत्काएर फेरि बनाउने भन्ने कुरा भएको तर नवनिर्वाचित पदाधिकारी आएपछि घुमाउरो भाषामा भुक्तानी लिने नियत देखिएको स्रोतले बतायो । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले प्राविधिक प्रतिवेदनका आधारमा निर्णय लिइने बताइन् । निर्माण कम्पनी सम्बद्ध उमेश पौडेलले फिल्डमै आएर जाँच गरेपछि पास भएको दाबी गरे ।


प्रकाशित : असार २०, २०७९ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×