तीन पालिकाले ल्याएनन् नीति-कार्यक्रम

वीरगन्ज — पर्साका ३ पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । ऐनअनुसार असार १० मा नीति तथा कार्यक्रम र राजस्व तथा व्ययको अनुमानसहित बजेट पेस गर्नुपर्ने भए पनि हालसम्म ल्याउन नसकेका हुन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र पेस गर्ने र यसरी पेस भएको बजेट छलफल गरी असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ । सोही ऐनको दफा ७३ मा सभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ । ऐनले निर्धारण गरेको मितिभन्दा ८ दिन बित्दा पनि पर्साका ३ वटा पालिकाले हालसम्म बजेट पेस गरेका छैनन् ।

पर्साका कालिकामाई, धोबिनी र छिपहरमाई गाउँपालिकाले बजेट पेस गर्न सकेका छैनन् । समयमा बजेट नल्याएपछि खर्च गर्ने अधिकार हुँदैन् । शुक्रबार कालिकामाई गाउँपालिकाको कार्यालयमा एमाले र कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिले आगामी आवको बजेट समानुपातिक रूपले विनियोजन हुनुपर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत अमित गिरीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । आन्तरिक आय स्रोत र बजेट पारदर्शी गरिनुपर्ने तथा यसअघि गाउँपालिकाले विनियोजन गरेको वडास्तरीय बजेट कायम रहनुपर्ने जनाएका थिए ।

कालिकामाईको प्रत्येक वडामा एक करोड ३० लाख रुपैयाँ विनियोजित हुँदै आएको थियो । तर, आगामी बजेटमा वडास्तरमा ३० लाख, उपाध्यक्षलाई ५० लाख र अध्यक्षलाई ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट ल्याउन लागेकोमा एमाले र कांग्रेसका जनप्रतिनिधिले विरोध गरेका छन् । कालिकामाई गाउँपालिकामा कांग्रेसका १३, एमालेका दुई र जसपाका १४ जना जनप्रतिनिधी छन् । अध्यक्ष वशिष्ठ कुर्मी जसपाबाट र उपाध्यक्ष राजपति देवी कांग्रेसबाट निर्वाचित भएका हुन् । बहुमत सदस्य एमाले र कांग्रेसको रहेको कारण हालसम्म नीति तथा कार्यक्रम पेस हुन् सकेको छैन ।

यसैगरि धोबिनी गाउँपालिकामा बन्ने विभिन्न समितिको विषयलाई लिएर कांग्रेस र जसपाबीच विवाद भएको छ । धोबिनीको अध्यक्षमा निर्वाचित भएका मदन चौहान जसपाका हुन् भने उपाध्यक्षमा विजयी भएकी मञ्जु देवी कांग्रेसकी उम्मेदवार हुन् । बढ्दो विवादका कारण पालिकाको खातासमेत रोक्का गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कहिले पेस हुने कुनै छाँटकाँट छैन ।

छिपहरमाई गाउँपालिकामा एमालेका जनप्रतिनिधि एकातर्फ र जसपा/कांग्रेसका जनप्रतिनिधी अर्कातर्फ हुँदा गाउँपरिषद् हुन सकेको छैन । जिल्लाका १४ पालिकामध्ये छिपहरमाईमा मात्र अध्यक्षका उम्मेदवार दोस्रोपटक निर्वाचित भएका थिए । एमालेका मनोज गुप्ता दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अल्पमतमा रहेका कारण गुप्ताले हालसम्म बजेट ल्याउन सकेका छैनन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु साहले अध्यक्ष कार्यालयमा अनुपस्थित रहेकाले नीति तथा कार्यक्रम पेस गर्न ढिलाइ भएको बताए ।

प्रकाशित : असार १९, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?