विष सेवनले आमा सिकिस्त, शिशुको मृत्यु 

सर्लाही — सर्लाहीको रानीगन्जमा विष सेवनबाट आमा बिरामी परेकी छन् भने ८ महिने शिशुको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका–५ नरेशखोरकी रमिता महतोले विष सेवन गरी स्तनपान गराउँदा उनको ८ महिने छोरीको ज्यान गएको प्रहरीले जनाएको हो ।

बिहीबार राति रमिता लालबन्दी नगरपालिका–१७ रानिगन्जस्थित राधाकृष्ण मन्दिर परिसरमा शंकास्पद अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्कालै रमिता र शिशुलाई उद्धार गरी लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउँदा चिकित्सकले शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

रमिताको भने अहिले प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । घटनास्थल नजिकबाट विषादीको बोतल फेला परेको बताउँदै प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार रमिताका श्रीमान् रामविनोद महतोले एक महिनाअघि मात्रै आत्महत्या गरेका थिए ।

प्रकाशित : असार १८, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?