जथाभावी उत्खननले बस्ती कटान- मधेस - कान्तिपुर समाचार

जथाभावी उत्खननले बस्ती कटान

कान्तिपुर संवाददाता

रौतहट — स्थानीय तहले हचुवाको भरमा ठेक्का लगाई उत्खनन गर्दा पछिल्लो समय बाग्मती नदीले धार परिवर्तन गरिरहेको छ । वाग्मतीले आफ्नो धार परिवर्तन गर्न थालेपछि तटीय क्षेत्रका बस्तीमा कटान र डुबानको जोखिम बढेको छ ।

लगातारको वर्षापछि आएको बाढीले बुधबार रौतहटको माधवनारायण र राजदेवी नगरपालिकाका विभिन्न क्षेत्रमा कटान सुरु गरेको छ ।

चन्द्रपुर र वृन्दावन नगरपालिकाले बाग्मती नदीमा हचुवाको भरमा नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाएका र ठेकेदारले पनि जथाभावी उत्खनन गर्दा समनपुर, राजदेवीलगायत क्षेत्रमा ठूला–ठूला खाडल बनेका थिए । जसका कारण नदीले धार परिवर्तन गरी धमाधम कटान थालेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । ‘चुरे क्षेत्रमा पानी पर्ने क्रम जारी छ । वाग्मतीको बहाव बढ्दो छ । स्थानीय तहले जथाभावी नदी खन्न दिएपछि धार परिवर्तन गरेर रौतहट क्षेत्रमा व्यापक कटान सुरु भएको छ,’ उनले भने, ‘उत्खनन गर्न दिँदा हेक्का नराखेपछि परिणाम गम्भीर हुने देखिएको छ ।’ जलस्तर बढ्दै गएकाले वाग्मतीको पश्चिम क्षेत्रमा भारतले बनाएको बाँधमा समेत क्षति हुने देखिएको उनको भनाइ छ ।

प्रजिअ शाही जनप्रतिनिधि, सुरक्षा अधिकारीसहित बुधबार वाग्मती र लालबकैया नदीले कटान सुरु गरेको र जोखिमको क्षेत्रको स्थलगत अवलोकनमा निस्किएका थिए । अवलोकनपछि उनले स्थानीय तहले उत्खनन गर्न खुला छोडिदिएकाले सर्लाही हुँदै बग्ने वाग्मतीले धार परिवर्तन गरी रौतहटतर्फ कटान थालेको भन्दै आक्रोस पोखेका थिए । गत वर्ष पनि वाग्मती र लालबकैया नदीले छेउको स्परलगायत जमिन कटान गरेको थियो । कटानले सदरमुकाम गौरसमेत जोखिममा परेको थियो । गत वर्षको बाढीले राजदेवी नगरपालिकाको ब्रह्मपुरी क्षेत्रको २ वटा स्परमा क्षति पुर्‍याएको थियो । गढो, पिपरा राजवडा, धर्मपुर, ब्रह्मपुरी, लक्ष्मीपुर, बडहर्वा, समनपुरलगायतका स्थानमा कटान गरेको थियो ।

यस वर्ष पनि उस्तै समस्या दोहोरिने जोखिम बढेको हो । सदरमुकाम गौरसहित ब्रम्हपुरी, बेलबिछुवा, मुडवलवा, लक्ष्मीपुर, वसन्तपुर, भषेढवा, पिप्रालगायत दर्जन बढी गाउँमा बाढी पस्न सक्ने जोखिम बढेको भन्दै स्थानीय त्रासमा छन् ।

२ वर्षअघि चन्द्रपुर नगरपालिका–१ स्थित वाग्मती नदीमा उत्खनन् गर्दा मापदण्डविपरीत खाडल बनाइएको भन्दै स्थानीयले बिरोध जनाएपछि तत्कालीन प्रजिअ गोविन्द रिजालसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो । ठेकेदार नागेन्द्र साहले सम्झौताविपरीत गहिरो खाडल बनाई गिट्टी, बालुवा उत्खनन गरेको पाइएपछि टोलीले तत्कालै खाडल पुर्न लगाएको थियो । तर, त्यसयता पनि उक्त क्षेत्रमा मापदण्डविपरीत उत्खनन गर्न छाडिएको छैन ।

चन्द्रपुरका नगर प्रमुख सञ्जय कार्कीले यसपालि ठेक्का लगाउँदा मापदण्ड र नियमभन्दा एक इन्च पनि दायाँबायाँ हुन नदिने दाबी गरे । ‘हामीले समयमै निगरानी र नियमअनुसार उत्खनन गर्न दियौं भने समस्या आउँदैन,’ उनले भने, ‘जथाभावी खाडल बनाउँदा बाढीको जोखिम बढ्छ । यसपालि त्यो कदापि हुन दिन्नँ ।’

प्रकाशित : असार १७, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्

प्रकाशको सालिक अनावरण गर्दै दाहालले भने- 'पर्वतीय पर्यटनका लागि नेपाल दुनियाँकै उर्वर'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पर्वतीय पर्यटनका लागि दुनियाँकै सबैभन्दा उर्वर रहेको बताएका छन् । नुवाकोटको ककनीमा स्वर्गीय छोरा प्रकाश दाहालको सालिकको शिलान्यास गर्दै अध्यक्ष दाहालले पर्वतारोहीको जीवन रक्षा, सम्मान र पर्वतीय पर्यटन विकासका निमित्त नेपालमा पर्यटन विश्वविद्यालयको निर्माण गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको बताए ।

‘नेपाल पर्वतीय पर्यटनको विकासको निम्ति योभन्दा उर्वर ठाउँ दुनियाँमा कमै भेटिन्छ । तराईदेखि अलिकति चढ्ने बित्तिकै हिमालमा पुगिन्छ, यस्तो छोटो दूरीमा भूगोलको यस्तो स्थिति त दुनियाँमा कमैमात्र भेटिन्छ,’ उनले भने, ‘त्यसकारण पर्यटनको विकासको निम्ति यी पर्वतहरू अनन्त स्रोत हुन् । हामीले यसलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता छ ।’

उनले पर्यटन विश्वविद्यालय निर्माणका लागि शिक्षा र पर्यटन मन्त्रालयसँग समेत छलफल गरिरहेको बताए । ‘हामीले नेपालमा पर्यटन विश्वविद्यालयको विकास गर्न जरुरी छ । पर्यटन विकास, पर्वतीय विकास र पर्यटनका लागि त्यहाँबाट पठन पाठन हुनसक्छ, अध्ययन अनुसन्धान हुनसक्छ,’ उनले भने । स्वर्गीय दाहाल एक पर्वतारोहीसमेत रहेको भन्दै नेपाल पर्वतारोहण संघले ककनीमा शालिक निर्माण गर्न लागेको हो । २०६९ जेठमा प्रकाश दाहाल, बीना मगरलगायतको १२ जनाको टोलीले सगरमाथा आरोहण गरेको थियो ।

प्रकाश दाहालको २०७४ मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।

प्रकाशित : असार १७, २०७९ १४:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×