१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ग्राभेल नपाएपछि रोकियो मेची–महाकाली रेलको काम

बर्खा लागेसँगै पालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएपछि ग्राभेल निकासी ठप्प, रेल्वे ट्र्याक निर्माणमा ढिलाइ हुने चिन्ता 
शिव पुरी

रौतहट — स्थानीय नदीखोलाबाट ग्राभेल ल्याउन नपाएपछि राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेलको काम बन्द भएको छ । बर्खाको समय भएकाले नदीखोलाबाट ग्राभेल ल्याउन नगरपालिकाले रोकेपछि रेलवेको ट्र्याक बनाउने काम बन्द भएको हो । अब दुई महिनापछि मात्र काम सुरु हुने रेलवे कार्यालयले जनायो ।

ग्राभेल नपाएपछि रोकियो मेची–महाकाली रेलको काम

स्थानीय तहहरूले असार १ बाट वाग्मती, लालबैया, धन्सारलगायत नदीबाट ग्राभेल, गिटी, बालुवालगायत वस्तु उत्खननमा रोक लगाएको छ । अब नयाँ ठेक्का लागेपछि मात्र नदीबाट ती वस्तु निकासी गर्न पाइन्छ । रेलवेलाई चाहिने सामान नभएपछि काम बन्द गर्नुपरेको रेल योजना कार्यालय लालबन्दीका इन्जिनियर बोध भण्डारीले बताए । ‘बर्खा लाग्यो । नदीबाट रेलवे ट्र्याकलाई चाहिने ग्राभेल ल्याउन पाइँदैन । अब नगरपालिकाले ठेक्का लगाएर निकासी गर्न पाएपछि मात्र काम सुरु हुन्छ । अहिले औपचारिक रूपमै काम बन्द भइसकेको छ,’ उनले भने । कोरोना महामारी, मुआब्जा तथा रूख कटानलगायतमा विवाद हुँदा रेलवेको काम प्रभावित हुँदै आएको छ ।

बर्खाका बेला काम रोकिँदा समय झनै खेर जाने रेलवे कार्यालयले जनायो । स्थानीय तहले भदौबाट मात्र निकासी गर्न पाउने गरी नयाँ ठेक्का लगाउने गरेको छ । मेची महाकाली विद्युतीय रेलमार्गको लम्बाइ ९ सय ४५ किमि छ । रौतहटको वाग्मतीदेखि बाराको सीमा क्षेत्र धन्सारसम्म २२ किलोमिटर ट्र्याक बनाउने योजना छ ।

मेची–महाकाली विद्युतीय रेलको रौतहट खण्डमा ट्र्याक निर्माण र कल्भर्टको काम सन्तोषी कन्टेक्ट, लुम्बिनी एपेक्स, खानी, हिन्दुङ थोकर र गोल्डेन बिरुवाले ठेक्का लिएका हुन् । सबै प्याकेज ०७८ माघ १४ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ । मर्मत सम्भारसहितको सबै काम सकेर ठेकेदारले हस्तान्तरण गर्ने समय ०७८ माघ १४ मा रहेको सम्झौतामा उल्लेख छ । तर विभिन्न कारणले ठेकेदार कम्पनीले समयमा काम सक्न नसकेपछि म्याद थप गरिएको रेलवे आयोजना कार्यालयले जनायो । सुरुमा स्थानीयले मुअब्जामा चित्त नबुझेको भन्दै अवरोध गरेका थिए ।

पछि कोरोना महामारीले समेत काम अवरुद्ध हुन पुग्यो । अहिलेसम्म २ नम्बर प्याकेजको काम अन्तिम चरणमा छ । रौतहट क्षेत्रको एउटा प्याकेजको ठेक्का झन्डै ७० करोड रुपैयाँमा लागेको हो । निर्माण कम्पनीले रेलवेको ग्राभेल, माटो, बेस, पुल, बक्स कल्भर्ट र हरियालीको काम गर्नुपर्छ । ०७६ साउनबाट २ र ३ नम्बर प्याकेजका ठेकेदारले काम सुरु गरेका हुन् । बर्खाका बेला ग्राभेलकै कारण काम बन्द हुने गरेको छ । ट्र्याक बनाउन अझै ठूलो परिमाणको ग्राभेल, माटो चाहिन्छ ।

रूख काट्न थालियो

वाग्मती–चाँदी खण्डको प्याकेज नम्बर ४ र ५ मा पर्ने रूख कटानको विवाद मिलेको छ । वन उपभोक्ता समूह र रेलवे कार्यालयबीच रूख कसले काट्ने भन्नेमा विवाद थियो । उक्त प्याकेजमा दोभान सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ५७५ रूख पर्छ । त्यस्तै रामलाल वृन्दावन साझेदारी वन व्यवस्थापन समूहमा १ हजार ९ सय ७५ रूख काट्नुपर्छ । समितिले रूख काट्न पाएपछि विवाद मिलेको हो ।

दोभान सामुदायिक वनले रूख काट्न सुरु गरेको रेलवे कार्यालयले जनायो । रूख कटान र व्यवस्थापनमा सहज हुने भन्दै रेलवे कार्यालयले नेपाल वन निगम लिमिटेड (तत्कालीन टीसीएन कार्यालय) सित सम्झौता गरेको थियो । अहिले समितिले नै काट्ने सहमति भएको हो । सहमतिपछि विवाद टुंगो लागेको इन्जिनियर भण्डारीले बताए । वनको कटान आदेश, मुआब्जा विवाद, कोभिड संक्रमण र विभिन्न माग राखी स्थानीयले अवरोध सिर्जना गर्दा पूर्वपश्चिम रेल आयोजनाको काम बेलाबेलामा अवरोध हुने गरेको छ । यही कारण निर्धारित समयमा रेलवेको काम सम्पन्न हुन सकेन । वनले झन्डै डेढ वर्षपछि रेलवे ट्र्याकमा पर्ने रूख कटानको आदेश दिएको छ ।

प्रकाशित : असार १७, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?