पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ

रासस

पर्सा — पर्सामा बालिकाको शवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् । बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्यरुपमा अन्त्यष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो ।

मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाको टोली मसानघाटमा पुग्दा शव बेवारिसे छोडेर तीनैजना फरार भएका थिए । प्रहरीले जल्दै गरेको शव बरामद जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : असार १७, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं महानगरपालिकाले असारभित्र सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने

रासस

काठमाडौँ — काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगरसभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ । सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए ।

प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागिएको हो । चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न छ । सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक टवाइलेट’ लेखिएको छ । चिह्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने कामपाले जनाएको छ ।

सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालनमा आउने छन् । जसमा १०० मा चिह्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ । सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले २५० शौचालय सार्वजनिकरुपमा प्रयोगमा ल्याउन लागेको छ । यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार, सरसफाइलगायत गर्ने जिम्मा संस्थाकै हुनेछ । शौचालयको अवस्था अनुगमन गर्न दुवै पक्षबाट एक/एक प्रतिनिधि तोकिएको छ । उनीहरुले हरेक चार महिनामा प्रतिवेदन तयार गरी बुझाउने महानगरले जनाएको छ ।

प्रकाशित : असार १७, २०७९ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×