कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा सासू–बुहारी पक्राउ

भरत जर्घा मगर

सिरहा — बोक्सी भन्दै छिमेकी एक महिलालाई कुटपिट र मलमूत्र खुवाएको आरोपमा प्रहरीले सिरहाबाट दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ ठाडी टोलका ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह छन् । उनीहरू सासू–बुहारी हुन् ।

घाँस काटेर फर्किरहेका बेला सासू कोशिला र बुहारी फुलोदेवीले ६० वर्षीया आतिका देवी कामैतलाई बोक्सी भन्दै शनिबार दिउँसो कुटपिट गरी मलमूत्र खुवाएको पीडितका पति हरि कामैतले बताए । ‘कुटपिटबाट श्रीमती बेहोस भइन्,’ उनले भने, ‘होसमा आएपछि प्रहरीलाई जानकारी गराएँ ।’

२०७८ मंसिर २२ मा परालको टालमा लागेको आगोमा परी छिमेकी महेशका ६ वर्षीय छोरा भरत र भान्जा आकाशको जलेर मृत्यु भएको थियो । त्यसपछि महेश र बुहारी फुलो धामीझाँक्रीको शरणमा पुगे । धामीले आतिका देवी बोक्सी भएको र महेन्द्रको घरमा बोक्सी विद्या प्रयोग गरी क्षति पुर्‍याएको भनेका थिए । त्यही बेलादेखि महेशको परिवारले धामीको कुरामा विश्वास गरेर पटक–पटक गालीगलौज र ज्यान मार्ने धम्की दिँदै आएको पीडित हरिले सुनाए । कामत परिवार मजदुरी गरी गुजारा चलाउँछन् । इलाका प्रहरी कार्यालय लहानका डीएसपी कुमारप्रसाद मैनालीले पक्राउ परेका घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

सिरहामा बर्सेनिजसो बोक्सीको आरोपमा कुटपिट लगायतका घटना हुँदै आएका छन् । २०७८ वैशाख ४ मा जिल्लाको सीमावर्ती औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई उनकै भतिज घुरन र बुहारीहरू कौशिला, निशा र कविताले बोक्सीको आरोप लगाएर कुटपीट गर्दै मलमूत्र खुवाए । गाईलाई टुना गरेर मारेको आरोपमा आफूमाथि कुटपिट भएको हिरादेवीले बताइन । पति रामचलितर रोजगारीका क्रममा भारतको चण्डीगढमा रहेको र छोरीमात्र घरमा रहेको मौका छोपी हिरादेवीमाथि अमानवीय व्यवहार भएको थियो । प्रहरीले घुरनलाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गत वर्षकै भदौ २९ मा सिरहा नगरपालिका–१२ की ३६ वर्षीया गुन्जा गुप्तालाई बोक्सीको आरोप लगाउँदै छिमेकी रामलखन साहले दुर्व्यवहार गरे । गुन्जाले आफ्नो नातिनीलाई टुनामुना गरी बिरामी बनाएको आरोप रामलखनको थियो । गत वर्षकै भदौ १७ मा कल्याणपुर नगरपालिका–१० का श्यामोदेवी चमारलाई छिमेकी रामविलास यादवले बोक्सीको आरोप लगाउँदै कुटपिट गरे । २०७७ वैशाख ३ मा सुखिपुर नगरपालिका–७ की ५५ वर्षीया सावित्रीदेवी सदाय मुसहरलाई छिमेकी त्रिदेली साहले टुनामुना गरी बस्तुभाउलाई बिरामी बनाएको आरोप लगाउँदै कुटपिट गरेकी थिइन् ।

समाजमा कमजोर, असहाय व्यक्तिमाथि बोक्सीको आरोपमा कुटपिटलगायत घटना भइरहेको लहान क्याम्पसका समाजशास्त्रका सहप्राध्यापक सोभितलाल चौधरीले बताए । कसैको कुभलो चिताउने व्यक्ति वा कामना गर्ने व्यक्तिलाई हाम्रो समुदायले पुरुषलाई बोक्सा र महिलालाई बोक्सी भनि सम्बोधन गर्न र आरोप लगाउन सजिलो चलन बनेको बताउँछन् मनोविज्ञान शास्त्रका प्राध्यापक कन्हैया भट्ट ।

‘यो समाजमा वर्षौंदेखि जरा गाडेर बसेको विकृत मानसिक सोचको उपज हो, जुन आफैंमा अमानवीय र दण्डनीय छ,’ उनले भने, ‘अपवादबाहेक एकल, दलित, जनजाति, पछाडि परेको अथवा पारिएको समुदाय र कमजोर आर्थिक अवस्था भएको व्यक्तिलाई गाउँघरमा बोक्सी करार गर्ने मनोवैज्ञानिक प्रभाव परेको छ, यसलाई युवा पिढीले चिर्न जरुरी भइसकेको छ ।’

पहिला धामी अनि अस्पताल

कालाबन्जरकी ३२ वर्षीया रामपरी यादवलाई खानेकुरा राम्ररी पाचन नहुँदा पेट ढुस्स भइरहने समस्या भयो । साता दिनसम्म पनि अपच हुन नछाडेपछि उनी उपचारका लागि गाउँकै मगहरिया धामी रामकुमार यादवकोमा पुगिन् । धामी रामकुमारले तान्त्रिक विधिबाट झारफुक गरिदिए । तर, निको हुनुको साटो झन् रोग बल्झिँदै गयो ।

पिसाब फेर्न समस्या भएपछि कालाबन्जरकै कमली सदाय मुसहरले १० वर्षीय नाति विवेकलाई पनि महिना दिनदेखि उपचारका लागि उनै मगहरिया धामी रामकुमारकहाँ पुर्‍याइन् ।

धामीले भनेअनुसार झारफुकमा नातिको रोग बिसेक हुन्छ भन्नेमा ढुक्क भइन् । ‘नातिको रोग निको होस् भनेर देवीदेवतालाई परेवा भाकल पनि गरें,’ कमलीले भनिन् ‘धामीले दिएको जडीबुटी पनि खुवाएँ, तर निको भएन ।’ चिकित्सकले पिसाब नलीमा पत्थरी भएको बताए । रामपरी र कमली मात्रै होइन, तराई मधेसका ग्रामीण क्षेत्रमा अझै पनि बिरामीको उपचारमा स्थानीय पहिला धामीकै भर पर्छन् । गाउँगाउँमा निःशुल्क औषधिसहित स्वास्थ्य केन्द्र सहजै उपलब्ध भए पनि स्थानीय भने धामीको उपचार सफल हुन नसकेपछि मात्र बिरामीलाई अस्पताल लैजाने गर्छन् ।

प्रकाशित : असार १४, २०७९ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?