बोक्सीको आरोपमा कुटपिट

सुनिता बराल

महोत्तरी — छिमेकीको विवाह हेर्न गएकी कालोदेवी महतो अहिले अस्पतालको शय्यामा छटपटाइरहेकी छन् । जेठ २५ मा राकेश रामको दुलही हेर्न जाँदा टुनामुना गरेको भन्दै उनीमाथि कुटपिट भएको हो । 

बोक्सीको आरोपमा कुटपिट

राकेशकी भाउजू सुमारी देवीलाई बोक्सी लगाएको आरोपमा पूरै परिवार मिलेर जलेश्वर नगरपालिका–६ धवौलीकी कालोदेवीलाई निर्घात कुटपिट गरेको उनका देवर दिनेश महतोले बताए । कालोदेवी छिमेकीको घरमा गएको रातिदेखि सुमारी काम्न थालेकी थिइन् । भोलिपल्ट बिहान सुमारीकी सासू बौरादेवीले कालोदेवीलाई घरमा बोलाई आफ्नो बुहारीलाई बोक्सी लगाएको आरोप लगाइन् । त्यसपछि सुमारीका कान्छा ससुरा भुलन रामलगायतले कालोदेवीमाथि हातपात गरेका थिए । गाउँलेले रोक्न नसक्दा ५३ वर्षकी कालोदेवीलाई नाङ्गो बनाएर कुटपिट गरिएको थियो । पछि उनीसंगै मिलेर गाउँकै ५४ वर्षकी दुलरिया देवीले पनि आफूलाई टुनामुना लगाएको सुमारीले बताएकी थिइन् । त्यसपछि खेतमा घाँस काट्न गएकी दुलरियालाई खोज्दै पुगेका सुमारीका परिवारले त्यहीँ कुटपिट गरेका थिए । खेत नजिकैको पोखरीमा पटकपटक चोबलेर दुवै जनालाई मलमुत्र खुवाउने प्रयास गरेकै समयमा प्रहरी पुगेपछि उनीहरू जोगिएको देवर महतोले बताए ।

घटनापछि दुलरिया उपचार गरी सामान्य अवस्थामा छिन् । कालोदेवीको अवस्था भने चिन्ताजनक रहेको परिवारले बताएको छ । रिपोर्टअनुसार कालोदेवीका शरीरका धेरै अंगमा चोट लागेको छ । देवर महतोका अनुसार अहिले उनी बोल्न र चल्न नसक्ने अवस्थामा जनकपुरस्थित जानकी मेडिकल सेन्टरमा उपचाररत छिन् । घटनामा संलग्न भएको आरोपमा ४५ वर्षका भुलन राम र २८ वर्षकी सोमनदेवी सोमारी पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीमा गएको २ वर्षमा बोक्सी आरोपमा एक हत्यासहित ९ वटा घटना भएको प्रहरीले जनाएको छ । गत कात्तिकमा महोत्तरी गाउँपालिका–३ मडईकी ४२ वर्षकी शिलादेवी झामाथि बोक्सीको आरोपमा कुटपिट हुँदा उनले ज्यानै गुमाइन् । शिलादेवीलाई बोक्सीको आरोपमा उनकै देवर सञ्जयकुमारले टाउकोमा हतौडाले हिर्काएर हत्या गरेका थिए । भाउजूले टुनामुना गरेर केरा खुवाएपछि आफ्नो श्रीमती रिंकुदेवीको गर्भपतन भएको भन्दै सञ्जयले कुटपिट गरेका थिए । सञ्जय कर्तव्य ज्यान मुद्दामा अहिले थुनामा रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

यसबीचमा भएका ८ वटा दुर्व्यवहारका घटनामध्ये ४ वटा घटनाका दोषी धरौटीमा रिहा भएका, एउटा घटनाका अभियुक्त अहिलेसम्म फरार रहेका र अन्य घटनाका अभियुक्त भने पुर्पक्षका लागि जेल चलान भएको महोत्तरी प्रहरीले जनाएको छ । महोत्तरीमा बोक्सी आरोपमा हुने दुर्व्यवहारका घटना कम हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए । वृद्ध, आर्थिक स्थिति कमजोर भएका, एकल महिला र समाजमा खुलेर बोल्न नसक्नेलाई बोक्सीको आरोप लगाउने र दुर्व्यवहार गर्ने गरेको देखिएको उनको भनाइ छ ।

प्रकाशित : असार १४, २०७९ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?