३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जनकपुरको योजना ‘मच्छरमुक्त सहर’

वडालाई सरसफाइको जिम्मेवारी, ल्यान्डफिल साइट निर्माण र पोखरी सफाइको योजना
श्यामसुन्दर शशि

जनकपुर — जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘फोहर व्यवस्थापन र मच्छरमुक्त सहर’ को योजना अघि सारेको छ ।

जनकपुरको योजना ‘मच्छरमुक्त सहर’

यसअघि पनि फोहोर व्यवस्थापन र लामखुट्टे नियन्त्रणका लागि प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन । पटकपटक लामखुट्टे मार्ने औषधि छर्किनेदेखि नाला सफाइसम्मका पटके योजना सञ्चालित हुँदै आएका छन् । तर, ल्यान्डफिल साइटको अभाव र लामखुट्टे नियन्त्रणका लागि वैज्ञानिक पद्धति नअपनाइँदा समस्या समाधान हुन नसकेको हो । फोहर व्यवस्थापन तथा लामखुट्टे नियन्त्रणको नारा दिएर स्वतन्त्र उम्मेदवारी दिएका नगर प्रमुख मनोजकुमार साहले प्रतिबद्धताअनुसार योजना ल्याएका हुन् ।

नीति तथा कार्यक्रमको पहिलो बुँदामै उनले जनकपुर बजार र ग्रामीण क्षेत्रको सरसफाइका लागि वैज्ञानिक तथा व्यवस्थित योजना ल्याउने, यसै आर्थिक वर्षभित्र सेनिटरी ल्यान्डफिल साइट स्थापना गर्ने, नगरका विभिन्न स्थानमा ससाना फोहोर संकलन केन्द्र स्थापना गर्ने, कुहिने र नकुहिने फोहोर छुट्याउने प्रविधिमार्फत घरेलु काममा प्रयोग हुने ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गर्ने तथा फोहोरलाई स्रोतमै छुट्याउन नागरिकस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाइएका छन् । सार्वजनिक–निजी साझेदारी नीति अवलम्बन गरी फोहोर व्यवस्थापन गर्ने र लामखुट्टे नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका विषयविज्ञको परामर्शमा योजना निर्माण तथा कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

यसअघि वडासमेतको सरसफाइ, सफाइकर्मी परिचालन तथा सफाइ यन्त्रको परिचालन नगर कार्यसमितिले गर्दै आएको थियो । नगर प्रमुख साहले भने वडाको सरसफाइको जिम्मेवारी सम्बन्धित वडाका जनप्रतिनिधिलाई नै दिएका छन् । ‘नगरका सबै वडालाई फोहोर व्यवस्थापन कार्यमा सक्रिय बनाउन प्रत्येक वडामा फोहोर संकलन गर्ने, सवारीसाधन, जनशक्ति तथा स्रोत उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । नगर प्रमुख साहले पालिकाको नाममा १० बिघा जग्गा खरिद गरेर ल्यान्डफिल साइट निर्माण गर्ने जनाएका छन् । ‘जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा छ । एक वर्षभित्र नगरको आफ्नै ल्यान्डफिल साइट हुनेछ,’ उनले भने । यसैगरी जनकपुरधाम १२ कुवामा रहेको झन्डै १ बिघा सार्वजनिक जग्गामा गौशाला निर्माण गर्ने प्रक्रिया पनि अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

जनकपुरका पोखरी सरसफाइका लागि नगरले विशेष कार्यक्रम ल्याएको छ । एक वडा एक पोखरी कार्यक्रमअन्तर्गत वडाका कम्तीमा एक पोखरीलाई सफा गर्ने, छाडा चौपायाको नियन्त्रणका लागि जनकपुरधाम–१२ मा सुविधासम्पन्न गौशाला निर्माण गर्ने, जानकी मन्दिरको उत्तर तथा रेल्वे स्टेसनका तरकारी बजारलाई व्यवस्थित गर्ने, सार्वजनिक शौचालय निर्माण, अन्तरगृह परिक्रमा क्षेत्रभित्र माछा, मासु, मदिराजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहन तथा जानकी र राममन्दिर परिसरमा विशेष सरसफाइ गरिने कार्यक्रम ल्याइएको छ ।

प्रकाशित : असार १३, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?