फोहोर माग्दै वडाध्यक्ष टोलटोलमा- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोर माग्दै वडाध्यक्ष टोलटोलमा

साँघुरो गल्लीमा समेत फोहोर उठाउन सजिलो हुने ‘कन्टेनर सफारी’ सञ्चालन
भरत जर्घामगर

सिरहा — लहान नगरपालिकामा फोहोर व्यवस्थापनको समस्या बर्सेनि बल्झिरहन्छ । फोहोर नउठाएको भन्दै पटकपटक स्थानीयले नगरपालिका कार्यालय घेराउ गर्दै आएका छन् । गत वर्ष डम्पिङ साइट विवादका कारण बजार क्षेत्रको फोहोर १८ दिनसम्म नउठाएको भन्दै स्थानीयले पालिका कार्यालय परिसरमा फोहोर फालेका थिए । 

सफारीमा फोहो र उठाउन जाँदैलहान–७ का वडाध्यक्ष मअवतार शर्मा । तस्बिर : भरत/कान्तिपुर

नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नम्बर ७ मा पर्छ । यो क्षेत्रमा बर्सेनि फोहोरकै समस्या र नगरवासीले विरोधमा उत्रिनुपरेको घटना देखेका वडाध्यक्ष रामअवतार शर्मा आफैं व्यवस्थापनमा सक्रिय भएका छन् । पालिकाको ट्र्याक्टर र टिपरले फोहोर नउठाउँदा समस्या बल्झिने भयले यसपटक वडाध्यक्ष शर्माले नयाँ जुक्ति निकाले । गल्लीमा समेत फोहोर उठाउन सजिलो हुने ‘कन्टेनर सफारी’ वडामा किनेर ल्याए । अनि आफैं फोहोर माग्न साँघुरो गल्लीमा पनि पुग्न थालेका छन् । अहिले फुर्सद हुनेबित्तिकै उनी सहयोगी लिएर घरदैलोमै फोहोर उठाउन पुग्छन् ।

उनी सफारी चलाउँछन्, सहयोगीले फोहोर कन्टेनरमा हाल्छन् । ‘फराकिलो सडकको फोहोर मात्रै उठाउने गरेको जनगुनासो वडाभरि थियो,’ शर्माले भने, ‘त्यसैले टोलको फोहोर उठाउने माध्यम बनाएँ कन्टेनर सफारीलाई ।’ यात्रु बस्ने गरेको चालक पछाडिको सिटी सफारीको भागलाई हटाई त्यसको साटो दुईवटा कन्टेनर जडान गरी उनले दुई भागमा विभाजन गर्न लगाई एउटालाई सड्ने फोहोर र अर्कोलाई नसड्ने फोहोरको भण्डारणका रूपमा प्रयोग गर्दै आएका छन् ।

उनको यही सक्रियता देखेर पहिलो कार्यपालिकाको बैठकले शर्मालाई सरसफाइ संयोजकका रूपमा छनोटसमेत गरेको छ । भित्री टोलको फोहोर नउठाउँदा नालामै थुप्रिने र वर्षायाममा निकास अवरुद्ध हुने समस्या थियो । नगरपालिकासँग समन्वय गरी सरसफाइकै बजेटबाट दुईवटा सिटी सफारी खरिद गरी त्यसलाई कन्टेनर बनाइएको हो । ‘अब यो सानो कन्टेनरमा कमसेकम सानो गल्लीभित्र रहेको एउटा बस्तीको फोहोर राम्ररी उठाउन सकिन्छ’, शर्माले भने, ‘यसबाट फोहोर उठाउने समस्या टरेको छ ।’

वडा नम्बर ६ ले पनि सिटी सफारीलाई कन्टेनर बनाएर फोहोर संकलन सुरु गरेको छ । हरेक टोलबस्तीका लागि फोहोर उठाउन सजिलो माध्यम सफारी कन्टेनर बनेपछि नगरपालिकाले २४ वटै वडामा यसको प्रयोग गर्ने निर्णय समेत गरेको वडाध्यक्ष शर्माले जानकारी दिए ।

प्रकाशित : असार १३, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

सुनौलो हजार दिनका आमालाई १८ किलो मार्सी चामल

डीबी बुढा

जुम्ला — जुम्लाको पातारासी गाउँपालिकाले सुनौलो हजार दिनका आमा र बच्चाको पोषणस्तरमा सुधार ल्याउनका लागि प्रतिआमा १८ केजी मार्सी चामल उपलब्ध गराएको छ । 

पातारासी-७ का ५९ जना आमालाई १८ किलोका दरले १ हजार ६२ किलो मार्सी चामल दिइएको हो । सिमी २ किलो, अन्डा १ क्यारेट, खाने तेल १ प्याकेट, आयोडिनयुक्त नुन १ किलो, ब्रस र मन्जन १ सेट र नुहाउने-लुगा धुने साबुन एक-एक गोटा प्रदान गरिएको हो । प्रतिआमा र बच्चालाई एक-एक दर्जन केरासमेत दिइएको महिला बालबालिका शाखा पातारासीकी प्रमुख भगवती गिरीले जानकारी दिइन् ।

उनका अनुसार पोषिलो खानेकुरा प्रदान गर्नुअघि बहुक्षेत्रीय पोषण नाङ्लो प्रदर्शनसमेत गरिएको थियो । ‘यहाँका अधिकांश सुनौलो हजार दिनभित्रका आमा र बच्चा पोषिलो खानेकुरा नपाउँदा अस्वस्थ बनिरहेको अवस्था छ,’ गिरीले भनिन्,‘पोषिलो खानेकुरा खानका लागि बानी पार्न र कुपोषण हुन नदिनका लागि पोषिलो खानेकुरा प्रदान गरिएको हो ।’

पहिलो पटक सुनौलो हजार दिनको आमाको घरमै पालिका अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जुनमाया रोकाया, वडाध्यक्ष वीरबहादुर बुढा, वडा सदस्य र स्वास्थ्यकर्मीहरू पुगेर पोषिलो खानेकुरासहित स्वास्थ्य परामर्श दिएर फर्किँदा स्थानीय उत्साहित थिए ।

जुम्लामै उत्पादन हुने अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्न समेत आग्रह गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, मार्सी चामल, माछामासु, अन्डाजस्ता पोषिलो खानेकुराको प्रयोग गर्न अत्यावश्यक देखिन्छ । जबसम्म महिला सचेत हुँदैनन् तबसम्म कुपोषणको चक्र तोड्न सकिँदैन ।

पातारासी-७ मा सुनौलो हजार दिनका आमालाई पोषिलो खानेकुरा प्रदान गरिँदै : डीबी/कान्तिपुर

प्रकाशित : असार १३, २०७९ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×