सिरहामा गोली प्रहारबाट १ घाइते- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहामा गोली प्रहारबाट १ घाइते

भरत जर्घामगर

सिरहा — सिरहाको बेल्ही जटियाहीमा आइतबार गोली प्रहारबाट एक युवक घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय लहानका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार गोली प्रहारबाट लहान नगरपालिका-२२ बेल्ही जटियाहीका १८ वर्षीय दिलीप मुखिया घाइते भएका हुन् ।

पेटमा गोली लागेर गम्भीर घाइते भएका दिलीपको प्रादेशिक अस्पताल लहानमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।

लहान नगरपालिका-२२ बेल्ही जटियाहीका १९ बर्षीय सुशान्त चौधरीले गोली प्रहार गरेका थिए । सुशान्त, घाइते दिलीप र बेल्ही जटियाहीकै १५ वर्षीय सुरज मुखिया एकैसाथ रहेको बेला बिहान ९ बजेतिर घटना भएको थियो । घटना स्थलबाट नाम नखुलेको १ थान पेस्तोल, त्यस्मा लाग्ने ५ राउन्ड गोली, म्याग्जिन १ थान, फायर भएको खोका १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

सुशान्त चौधरीको घर नजिकैको बाँसको झ्याङबाट १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ४ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १२, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वका उद्योगीको आन्दोलन स्थगित

विनोद भण्डारी

विराटनगर — बजेटले परिवर्तन गरेका केही उद्योगलक्षित करको संशोधन र अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गर्दै सडक आन्दोलनमा उत्रिएका पूर्वका उद्योगी र मजदुरले आइतबार गर्ने भनिएको आन्दोलन स्थगित गरेका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नीतिगत त्रुटि भएको स्विकार्दै माथिल्लो सदनबाट बजेट पास भएको साताभित्र ती त्रुटिलाई सच्याउने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलन स्थगित गरेको मोरङ व्यापार संघ, उद्योग संगठन र नेपाल उद्योग परिसंघले आइतबार जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा तीनवटै संस्थाका अध्यक्षहरू क्रमशः नवीन रिजाल, सुयश प्याकुरेल र भीम घिमिरेको हस्ताक्षर छ ।

अर्थमन्त्री शर्माले नीतिगत भ्रष्ट्राचार गरेर सीमित उद्योगलाई संरक्षण गर्दै जीआई वायर, वनस्पति घिउतेल र सेनिटरी प्याड उद्योगलाई बन्द गर्न बाध्य तुल्याउन करमा परिवर्तन गरेको आरोप मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ प्रदेश १, नेपाल ट्रेड युनियन कांग्रेस मोरङ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १, अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुफ) प्रदेश १ संयुक्त आन्दोलनमा उत्रिएका थिए ।

परिवर्तित करविरुद्ध यसअघि पनि उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए । त्यसबेला पनि अर्थमन्त्री शर्माले आफ्नो गल्ती स्विकारेर संसद्‌बाट बजेट पास भएलगत्तै संशोधन गर्ने आश्वासन दिएपछि उद्योगीले आन्दोलन स्थगित गरेका थिए ।

प्रकाशित : असार १२, २०७९ १७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×