हाकिम फकाउँदै ठेकेदार- मधेस - कान्तिपुर समाचार

हाकिम फकाउँदै ठेकेदार

कामै नगर्ने ठेकेदारको बैंक ग्यारेन्टी, काम गरेको रकम रोक्का र ठेक्का तोड्नेसम्मको कारबाही अघि बढाइँदै
शिव पुरी

रौतहट — सडक डिभिजन कार्यालयले कारबाही गर्न थालेपछि ठेकेदारहरू हाकिम फकाउन लागेका छन् । उनीहरू अनेक बहाना बनाई काम गर्ने मौका दिन अनुरोध गर्न थालेका हुन् । ग्रामीण भेगलाई सडक सन्जालसँग जोड्न सडक डिभिजन कार्यालयले विभिन्न मार्गमा लगाएको ठेक्कामा काम पूरा नभएपछि कारबाही थालिएको हो । 

कामै नगर्ने ठेकेदारको बैंक ग्यारेन्टी, काम गरेको रकम रोक्का र ठेक्का तोड्नेसम्मको प्रक्रिया थालेको डिभिजन कार्यालयले तयारी थालेको छ । कार्यालयले पटक/पटक ठेकेदार कम्पनीलाई सम्झौताअनुसार काम गर्न लिखित र मौखिक ताकेता गर्दै आएको छ । तर कुनै सुनवाइ नभएपछि बाध्य भएर कारबाही प्रक्रिया अघि बढाइएको डिभिजन सडक चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले बताए ।

‘हामीलाई ठेक्का तोड्ने र कारबाही गर्ने कुनै रहर छैन्,’ उनले भने, ‘ठेक्का सकार गरेपछि घटाएर (बिलो रेटमा) पारेको भन्दै बहाना बनाएर चुप बस्छन् । उनीहरू सम्झौता गर्छन् अनि साइडमा नगई सम्पर्कविहीन हुन्छन् । अब कारबाहीको विकल्प रहेन । अहिले फकाउन थालेका छन् ।’

ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी रोक्कादेखि काम गरेको रकमसमेत नदिएपछि निर्माण व्यवसायी सडक कार्यालय धाउन थालेका हुन् । उनीहरू केही समय दिनुस् भनेर फकाउन थालेको प्रमुख साहले सुनाए । ‘हामीले केही ठेकेदार कम्पनीलाई समय पनि दिएका थियौं । तर समय मागेर पनि बेपत्ता हुन थालेपछि कारबाही प्रक्रिया अघि बढाएका हौं,’ उनले थपे । सडक सुधार कार्यका लागि कालोपत्रे, कल्भट, कुलोलगायतको कामको सडकले विभिन्न मितिमा ठेक्का लगाएको हो ।

जिल्लाभित्र सञ्चालित विभिन्न योजनाअन्तर्गत सडकको कामको ठेक्का ओगटेर निर्माण कम्पनीले ढिलासुस्ती र लापरबाही गरेको छ । त्यस्ता निर्माण कम्पनीलाई सडकले छानबिन र कारबाहीको दायरामा ल्याउने तयारी गरेको हो । केही ठेकेदार काम सुरु गरेर सम्पर्कमै छैनन् । अधिकांश निर्माण व्यवसायी बाहिरका छन् । नेपाल निर्माण व्यवसायी महासंघका सहकोषाध्यक्ष सन्तोष साहले बढ्दो मूल्यवृद्धि, ठेक्काको म्याद थप, बिमालगायतका कारण निर्माण व्यवसायीले काम गर्न नसकेको बताए । ‘ठेक्काको म्याद सकियो भनेर कारबाही गर्ने होइन । यस्तो बेला सम्बन्धित निकायले सहकार्य गर्नुपर्छ,’ उनले भने, ‘ठेक्कासम्बन्धी नियमावली, बिमाको दररेटलगायत सहज गरेमात्र निर्माण व्यवसायीहरूले राहत पाउँछन् ।’ सहकोषाध्यक्ष साहले सडक डिभिजन प्रमुख साहलाई निर्माण व्यवसायीलाई परेको मर्का र ठेक्काको कारबाही रोक्ने र समय थप्नेबारे आग्रह गरेका छन् ।

सडक कार्यालयका अनुसार रौतहटको मर्यादपुर–शीतलपुर मेवा सडकको काम अलपत्र छ । २०७६ सालमै ठेक्का लागेको सडकको कामको गौतम ऋषिले सकारेको हो । अहिलेसम्म ४० प्रतिशतमात्र काम भएको छ । त्यस्तै निजगढ, पतौरा, बंकुल सडकको हालत उस्तै छ । यो सडकको ठेक्का लागेको झन्डै ४ वर्ष हुन लाग्यो । अहिलेसम्म ठेकेदारले ४० प्रतिशत मात्र काम गरेको छ । ठेक्का प्रमोदा कन्स्ट्रसनले सकारेको हो ।

बाल्चनपुर जंगलसैया सडकको ठेक्का लिएको सेफमेडल एन्ड कन्स्ट्रसनले दुई वर्षको अवधिमा २० प्रतिशतमात्र काम गरेको सडकले जनायो । भगवती निर्माण सेवाले २०७५ सालमै ठेक्का लिएको गौर–पिपरा, समनपुर सडकको काम अहिलेसम्म ३० प्रतिशत मात्र भएको सडक डिभिजनका सूचना अधिकारी यादव सुवेदीले जनाए । ब्रम्हपुरी चोक–परहिया र सकुवादेखि परहिया बेलहियासम्मको सडकको ठेक्का लिएको गीताञ्जली सिंह, खुसी जेभीले कामै नगरेपछि सडक डिभजनले पत्र पठाई बैंक ग्यारेन्टी रोक्का गरेको सूचना अधिकारी यादवले जनाए ।

यसअघि विभिन्न योजनामा ठेकेदारको ढिलासुस्ती र लापरबाही भएको भन्दै योजना ओगटेर सञ्चालन खर्च लगे पनि निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने ठेकेदारको जिल्ला प्रशासन कार्यालय गौरले गृह मन्त्रालयमा लगतसहितको विवरण पठाएको थियो । जिल्लामा सबैभन्दा धेरै पुल र सडक निर्माणको काममा ठेकेदारको लापरबाही देखिएको छ । जिल्लाका विभिन्न स्थानमा ५ वटा पुलको निर्माणको काम अति नै सुस्त गतिमा भइरहेको सडकले जनायो ।

त्यस्तै ९ वटा सडक निर्माणको कामको अवस्था उस्तै छ । च्युता–मौलापुर–जयनगर सडकको कामको ठेक्का पाएको थेगी कन्स्ट्रक्सन कम्पनी कैलाली लामो समयसम्म कामै नगरी बस्यो । २ करोड ६९ लाखमा ठेक्का सकार गरेको हो । २०७४ असार ३० गते सम्झौता गरेको सडकको काम २०७५ भदौ ३० गतेसम्म सक्नुपर्ने थियो । कन्स्ट्रक्सनले अहिले आएर धमाधम काम गर्न थालेको सडकले जनायो । ठेकेदार दीपक जोशीले स्थानीय ठेकेदारलाई काम दिँदा ढिला भएको र अहिले तीव्र गतिमा काम भइरहेको बताए ।

प्रकाशित : असार १२, २०७९ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

'साबिती’ माथि नाटक मञ्चन गर्ने तयारी           

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार जगदीश घिमिरेको कथा 'साबिती’ माथि थिएटर भिलेजले नाटक मञ्चन गर्ने भएको छ । विमल सुवेदीको निर्देशनमा बन्ने नाटक असार १७ देखि शिल्पी थिएटरमा मञ्चन हुने बताइएको छ । 

नाटकमा भारतीय रङ्गकर्मी अनुराधा मजुमदार, सुजन वली र साजनकुमार सुनुवारको अभिनय रहनेछ । अनुराधाले यसअघि नेपाली नाटक 'खुमा' र 'बाँकी उज्यालो' मा अभिनय गरेकी थिइन् । 'साबिती'माथि यसअघि २०७० मा थिएटर भिलेजले यसै नाटकमार्फत शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा उनको नामबाट 'सत्यमोहन जोशी नाटक घर' उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो । तर प्राविधिक कारणले पहिलो सो नसकिँदै रोकियो ।

त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भयो । त्यही वर्ष भारतकै जम्मूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनायो । हिन्दी भाषामा रूपान्तरित नाटकलाई वर्तमान नेपाली समयअनुकुल हुने गरी पुनः प्रस्तुति गर्न लागिएको निर्देशक सुवेदी सुनाउँछन् । नाटकलाई निर्देशक सुवेदीसँगै मिलेर सुरज सुवेदीले रूपान्तरण गरेका हुन् ।

नाटकले समाजमा विद्यमान विविध विसंगतिको असली स्वरूप देखाउने यस कथामा नाटक हेर्ने लेखक जगदीशको ठूलो धोको रहेको निर्देशक सुवेदीले सुनाए । 'नेपाली रंगमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने आफ्नो उद्देश्य अनुरुप पहिलो कदमका रुपमा यसै नाटक मञ्चन गर्ने संकल्प गरेका थियौं,' सुवेदीले सुनाए ।

अभिनयको लागि हाल नेपालमा रहेकी चर्चित रंगकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ एन्ड भिज्युअल आर्ट्सको अभिनय विभाग प्रमुख अनुराधा मजुमदार यस कथाले अनेकौ‌ं आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनैतिक विसंगति, अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारिकरणलाई उदांगो पार्ने बताउँछिन् । 'महिला पात्रमार्फत नाटकले सामाजिक संरचनाले समानताको बाटो बिराउँदा वर्गीय, लैङ्गिक, सामाजिक, जातीय र आर्थिक जस्ता क्षेत्रमा पार्ने प्रत्यक्ष असरहरू केलाउँछ । नाटकले शून्यवाद नजिक रहेर घिनलाग्दो समाजलाई अनेक कोणबाट प्रश्नहरू गरेको छ,' अनुराधाले बताइन् ।

थिएटर भिलेजले हालै नारायण वाग्लेको चर्चित उपन्यास 'पल्पसा क्याफे'मा आधारित भएर नाटक मञ्चन गरेको थियो ।

प्रकाशित : असार १२, २०७९ ११:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×