मिटरब्याजले उठीबास लगाउँदै

पीडित भन्छन्– ‘मसँग अब एउटा घरबाहेक केही सम्पत्ति छैन, त्यो घर पनि लिलाम हुने चिन्ता छ ।’
शंकर आचार्य

पर्सा — वीरगन्ज–६ लोहारपट्टीका ५९ वर्षीय जयप्रकाश अग्रवालले प्रहरी कार्यालय र अदालतको चक्कर लगाउन थालेको ४ वर्ष भयो । मिटरब्याजमा लिएको २० लाख रुपैयाँको कारोबारका कारण अग्रवाल परिवार लगातार हैरानी झेलिरहेको छ ।

मिटरब्याजले उठीबास लगाउँदै

कारोबार २०७५ असार २० मा भएको थियो । जयप्रकाशका छोरा प्रतीकले वीरगन्ज–१५ का जितेन्द्र सिंहसँग २० लाख रुपैयाँ कर्जा लिएर त्यसबापत ६० लाख रुपैयाँको कपाली तमसुक गरिदिएका थिए । कर्जाको ग्यारेन्टीबापत प्रतीकले जितेन्द्रलाई सिद्धार्थ बैंक वीरगन्ज शाखाको २५/२५ लाख रुपैयाँको २ वटा चेकसमेत काटिदिएका थिए ।

त्यही वर्षको कात्तिक २५ मा जयप्रकाशले जितेन्द्रलाई ८ लाख रुपैयाँ नगद दिएर एउटा चेक फिर्ता पनि लिएका थिए । तर, अर्को चेकको सम्बन्धमा जितेन्द्रले जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरिदिए । उक्त मुद्दामा जितेन्द्रले २५ लाख रुपैयाँ पाउने ठहर भई फैसलासमेत भइसकेको छ ।

यो सिलसिला यतिमै रोकिएन । ६० लाख रुपैयाँको कपाली तमसुक जयप्रकाशले जितेन्द्रसँग फिर्ता माग्दा दिएनन् । बरु अदालतमा लेनदेन मुद्दा दायर गर्ने धम्की दिए । हार खाएर जयप्रकाशले यही असार १ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जितेन्द्रविरुद्ध कारबाही तथा शान्ति सुरक्षाको माग गरी निवेदन दिए । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जिल्ला प्रहरी कार्यालय पर्सालाई जितेन्द्रलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश दिएका छन् ।

प्रहरीले जितेन्द्रको एक सातादेखि खोजी गरिरहे पनि पक्राउ नपरेको जनाएको छ । जयप्रकाशसँग सम्पत्तिको नाममा एउटा घर छ । त्यो घर पनि जितेन्द्रले लिलाम गराउने प्रक्रिया अघि बढाइसकेका छन् । ‘मसँग एउटा घरबाहेक केही सम्पत्ति छैन, त्यो घर पनि लिलाम हुने चिन्ता छ । अदालत र प्रहरी कार्यालयको चक्कर काट्दाकाट्दै थाकिसकें,’ उनले भने, ‘मैले अब कहाँबाट न्याय पाउने ? मिटरब्याज र कपाली तमसुक हाम्रो देशमा अभिशप्त भो ।’ छोरा प्रतीकलाई विभिन्न व्यापार–व्यवसायको प्रलोभन देखाई मिटरब्याजी समूहले घेराबन्दीमा पारेको उनको दाबी छ ।

चेक अनादरका घटना ४ गुणाले बढ्यो

जिल्ला प्रहरी कार्यालयमा बैंकिङ कसुर/चेक अनादरसँग सम्बन्धित निवेदनको संख्या पनि ह्वात्तै बढेको छ । कार्यालयको तथ्यांकअनुसार चालु आवमा हालसम्म ३ सय १ वटा निवेदन दर्ता भइसकेका छन् । जबकि गत आवमा यो संख्या ७२ मात्रै थियो । पर्सा प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनाल बर्सेनि यस्तो अपराधमा उजुरी आउने क्रम बढ्दो क्रममा रहेको बताउँछन् । उनका अनुसार कपाली कागजको मुद्दा दर्ता गर्दा फैसला हुन लामो समय लाग्छ । चेकमार्फत लेनदेन गर्दा मुद्दाको छिटो किनारा लाग्ने भएकाले चेक बाउन्सका घटना बढिरहेको हो ।

सुरुमा यस्ता उजुरी लिएर आउनेहरू झट्ट हेर्दा पीडितजस्तो देखिए पनि छानबिन गर्दैर् जाँदा उनीहरू नै पीडक हुने गरेको धेरै घटना रहेको खनाल बताउँछन् । जग्गा कारोबारी र मिटरब्याजीले चेकको दुरुपयोग बढी गर्ने प्रवृत्ति रहेको उनले बताए । यस्ता कारोबारीले साँवाभन्दा दोब्बर बढी रकमको चेक ऋणीबाट लिने गरेकाले निवेदनमा पीडितलाई झनै अन्याय नहोस् भनेर आवश्यक सजगता अपनाउने गरिएको उनले बताए ।

‘दुवै पक्ष राखेर पूरै विषयवस्तु नबुझेर हत्तपत्त हामी मुद्दामा जाने गरेका छैनौं,’ उनले भने, ‘पछिल्लो समय भने महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार जिल्ला न्यायाधिवक्ता कार्यालयले अदालतमा मुद्दा चलिसके पनि चेक बराबरको रकम लेनदेन गरी दुवै पक्षले मिलापत्र गर्न सक्ने व्यवस्था रहेकाले जिल्ला न्यायाधिवक्ता कार्यालयबाटै मिलापत्र गराउने काम पनि भइरहेको छ ।’

मिटरब्याजीको हकमा किटान गरी उजुरी परे कारबाही अघि बढाउन तयार रहेको उनले बताए । ‘मिटरब्याजीको सम्बन्धमा केही दिनअघि प्रशासन कार्यालयमा सम्पन्न बैठकले कडाइ गर्ने निर्णय गरेको थियो, केन्द्रबाट पनि त्यस्तै निर्देशन आइसकेको छ,’ उनले भने, ‘हामी मिटरब्याजबाट पीडितको निवेदन कुरिरहेका छौं, आए कारबाही अघि बढाउँछौं ।’

प्रकाशित : असार १२, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?