ठोरीमा बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिँदै 

शंकर आचार्य

पर्सा — ठोरी गाउँपालिका १ चौतारामा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली आउने भएको छ । निर्मल ठोरी उपभोक्ता समिति अध्यक्ष बालकुमार बस्नेतका अनुसार, शनिबार बिहान निकुञ्ज कार्यालय कसराबाट ३ हात्तीसहित टोली ठोरीका लागि हिँडेको छ ।

‘३ हात्तीमा ७ प्राविधिकसहितको टोली ठोरीका लागि शनिबार बिहानै कसराबाट हिँडेको छ,’ उनले भने, ‘साँझसम्म प्राविधिक टोली ठोरी आइ पुग्नेछ ।’ टोलीले बाघलाई लठ्ठ्याएर नियन्त्रणमा लिने छ ।

स्थानीय जगेन्द्र पौडेलका अनुसार, बुधबारदेखि मानव बस्ती प्रवेश गरेको एउटा बाघले घर पालुवा चौपाया खोरबाटै लान थालेको छ । राति आउने बाघले घरपालुवा चौपाया खोरबाट लगेको देखेपछि स्थानीय पनि आतंकित भएका छन् । बुधबार राति चौताराका ज्ञानबहादुर स्याङ्तानको खोरमा रहेको एउटा बाख्रा र एउटा बंगुर बाघले खाएको थियो । बिहीबार राति पनि फेरि स्याङ्तानकै घरमा पालेको अर्को बंगुर उक्त बाघले खाएको छ । बुधबारदेखि शुक्रबार रातिसम्म उक्त बाघले स्थानीयको आधा दर्जन बाख्रा, पाडा र बंगुर मारिसकेको छ ।

गत साता चौतारा नजिकको निकुञ्जको वन क्षेत्रमा २ वटा बाघ जुधेर त्यसमध्ये एउटा मरेको थियो । भाले बाघ मृत फेला परेपछि अर्को बाघ मानव बस्ती नजिक बसेको अनुमान गरिएको छ । बाघ दैनिकजसो गाउँ पसेर क्षति पुर्‍याउन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बाघ खोज्ने प्रयास गरे पनि सफल हुन सकेको छैन ।

प्रकाशित : असार ११, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?