१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बजेट बढ्यो, योजना पुरानै

मधेस प्रदेशका १ सय १३ पालिकाले ल्याए नीति तथा कार्यक्रम र बजेट, दलीय विवाद, प्रमुख कार्यकारी अधिकृत नहुँदा र योजना छनोटमा ढिलाइले २३ पालिकामा नगरपरिषद् हुन सकेन
प्रदेश ब्युरो

जनकपुर — मधेस प्रदेशका १ सय ३६ पालिकामध्ये १ सय १३ वटाले शुक्रबारसम्म नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । दलीय विवाद, प्रमुख कार्यकारी अधिकृत नहुँदा र योजना छनोटमा ढिलाइले २३ पालिकामा नगरसभा हुन सकेन । 

बजेट बढ्यो, योजना पुरानै

जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ८० करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । ‘अपन संस्कृति अपन पहिचान, स्वच्छ, समृद्ध नगर अभियान’ मूल नाराका साथ सुरु भएको नगरसभामा प्रमुख मनोज साहले सफा, स्वच्छ, सुन्दर र सुसंस्कृत जनकपुर उपमहानगर बनाउने उद्घोष गरे । पालिकाले फोहोर व्यवस्थापन, धार्मिक पर्यटनको विकास, गुणस्तरीय शिक्षा, कृषि यन्त्रीकरण, रोजगारी सृजना, स्वास्थ्य सेवामा सुधार, सहरी सौन्दर्यीकरण, हरियाली प्रवर्द्धन र सुशासनलाई प्राथमिकतामा राखेको छ । साथै स्थानीय भाषामा पाठ्यक्रम निर्माण, प्रमुख र उपप्रमुखसंग बालबालिका, एक वडा एक खेल मैदान र एक विद्यालय एक खेल मैदानजस्ता योजनाहरू ल्याइएको छ ।

जनकपुरधामका उपप्रमुख किशोरी साहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । चालुतर्फ १ अर्व ७ करोड ४१ लाख विनियोजन गरिएको छ भने पुँजीगततर्फ ७३ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ । पालिकाले चालु आर्थिक वर्ष २०७८/७९ भन्दा २६ करोड ८३ लाख रुपैयाँ बढी बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा पालिकाले १ अर्ब ५३ करोड ८७ लाख रुपैयाँ बजेट ल्याएको थियो । हालसम्म कुल बजेटको ४९ दशमलव १३ प्रतिशत अर्थात् ८० करोड १५ लाख रुपैयाँमात्र खर्च गर्न सकेको छ ।

बाराका स्थानीय तहको नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिकीकरण कतै स्थगित कतै पास भएको छ । जिल्लाका १६ पालिकामध्ये अधिकांसको नीति तथा कार्यक्रम शुक्रबारसम्म प्रस्तुत भइसकेको छ, जसमा पुरानै कार्यक्रमहरू दोहोरिएका छन् । २ उपमहानगर, ५ नगरपालिका र ९ वटा गाउँपालिका रहेको बारामा पालिकाले सडक, कृषि, विद्यालयलक्षित कार्यक्रमलाई प्राथमिकता दिएका छन् । यसैगरी शिक्षामा अंग्रेजी माध्यम, एम्बुलेन्स निःशुल्क, कृषि मिटरको रकम पालिकाले बेहोर्ने, उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई अनुदान दिइने योजना नीति तथा कार्यक्रममा समावेश छन् ।

कतिपय पालिकाले भने नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । योजना छनोट, निर्णय र सम्बन्धित स्थानीय तहको नीति तथा कार्यक्रम ल्याएर गाउँ र नगर परिषद्को गर्नुपर्ने हुन्छ । तर दलगत जनप्रतिनिधिहरूबीच योजना छनौट र बजेट बाँडफाँटको विषय लिएर विवाद हुने गरेकोले कतिपय पालिकाको बजेट प्रस्तुतिमा ढिलाइ भइरहेको हो । जितपुर सिमरा उपमहानगरपालिका, पचरौता र निजगढ नगरपालिकाको परिषद् विवादले स्थगित भएको छ । सिम्रौनगढ नगरपालिका र देवताल गाउँपालिकाले बजेट पास गरिसकेका छन् । महागढीमाई नगरपालिकामा वडाध्यक्षले नीति तथा कार्यक्रम च्यातेपछि विवाद भएको छ ।

सप्तरीका चार पालिकाको सभा शुक्रबार भएन । हनुमाननगर कंकालिनी र बोदेवरसाइन नगरपालिका तथा महदेवा र विष्णुपुर गाउँपालिकाको सभा हुन नसकेको हो । गाउँ–नगरसभा हुन नसक्दा ती पालिकामा नीति नथा कार्यक्रम र बजेट रोकिएको छ । जिल्लाका १४ वटा पालिकामा भने सभा भइसकेको छ ।

पछिल्लो तीन आर्थिक वर्षदेखि जनप्रतिनिधिबीचको आन्तरिक द्वन्द्वका कारण गाउँसभा हुन नसकिरहेको छिन्नमस्ता गाउँपालिकामा यसपटक नयाँ जनप्रतिनिधि आएपछि शुक्रबार गाउँसभा सुरु गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन यादवको सरुवा भएको र नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादव हाजिर नहुँदा विष्णुपुर गाउँपालिकामा गाउँसभा हुन नसकेको पालिका अध्यक्ष उमेशकुमार यादवले बताए । यस्तै, प्रमुख प्रशासकीय अधिकृत कार्यालयको कामले काठमाडौं गएकाले महदेवाको गाउँसभा हुन नसकेको अध्यक्ष सुनीलकुमार मण्डलले बताए । हनुमाननगर कंकालिनीमा भने जनप्रतिनिधिबीच कुरा नमिल्दा नगरसभा हुन सकेको छैन । नगर प्रमुख वीरेन्द्रकुमार माझीले केही दिनभित्रै नगरसभा गर्ने तयारी गरेको बताए ।

रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामध्ये ३ पालिकाले यसअघि नै नगरसभा सम्पन्न गरिसकेका छन् । १२ वटाको शुक्रबार उद्घाटन सत्र सुरु भएको छ । ३ पालिकाले नगरसभा गर्न सकेनन् । राजदेवीको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० का लागि ३९ करोड १६ लाख ८ हजारको अनुमानित बजेट पास भएको छ । राजदेवीले असार ६ मा नै सभा सम्पन्न गरेको हो ।

गढीमाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोड ६२ लाख रुपैयाँको बजेट विनियोजन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए । यो पालिकाले असार ८ मा नै सभा सम्पन्न गरेको छ । ईशनाथ नगरपालिकाको छैटौं नगरसभाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ८५ लाख बजेट सार्वजनिक गरेको छ । ईशनाथले असार ९ मा सभा सम्पन्न गरिसकेको छ ।

हरेक आर्थिक वर्षको असार १० भित्र सबै स्थानीय तहले नगरसभा सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । गौर नगरपालिकाको शुक्रबार नगरसभा सुरु भएको छ । गरुडा, कटहरिया, चन्द्रपुर, बौधीमाई, देबाही गोनाही, मौलापुर, वृन्दावन, माधवनारायण, राजपुर, परोहा नगरपालिकाको सभाको उद्घाटन सत्र सुरु भएको छ । आन्तरिक विवादका कारण फतुवा विजयपुर, गुजरा र दुर्गा भगवती गाउँपालिकाले सभा गर्न सकेनन् । आन्तरिक छलफलकै क्रममा रहेकाले चाँडै सभाको दिन तोक्ने दुर्गाभगवतीका अध्यक्ष शम्भु सिंहले बताए ।

प्रकाशित : असार ११, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?