कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

जनकपुरधाम उपमहानगरको बजेट १ अर्ब ८० करोड

श्यामसुन्दर शशि

जनकपुर — जनकपुरधाम उपमहानगर पालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

जनकपुरधाम उपमहानगरको बजेट १ अर्ब ८० करोड

‘अपन संस्कृति अपन पहिचान, स्वच्छ, समृद्ध नगर अभियान’ मूल नारा साथ सुरु भएको जनकपुरधाम उपमहानगरपालिकाको आठौं नगरसभामा प्रमुख मनोज साहले सफा, स्वच्छ, सुन्दर र सुसंस्कृत जनकपुर उपमहानगर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रममा फोहरमैला व्यवस्थापन, धार्मिक पर्यटनको विकास, गुणस्तरीय शिक्षा, कृषि यान्त्रिकरण, रोजगारी सिर्जना, स्वास्थ्य सेवामा सुधार, सहरी सौन्दर्यीकरण, हरियाली प्रवर्द्धन, सुशासन आदिलाई प्राथमिकतामा राखिएको छ । साथै स्थानीय भाषामा पाठ्यक्रम निर्माण, मेयर र उपमेयरसँग बालबालिका, एक वडा एक खेल मैदान र एक विद्यालय एक खेल मैदान जस्ता युवा केन्द्रित योजनाहरू पनि नीति तथा कार्यक्रममा उल्लेख छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले आर्थिक वर्ष २०७९/०८०को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको वार्षिक बजेटमा चालुतर्फ १ अर्ब ७ करोड ४१ लाख २७ हजार विनियोजन गरिएको छ भन्ने पुंजीगततर्फ ७३ करोड ३० लाख १८ हजार विनियोजन गरिएको छ ।

उपमहानगरले चालु आर्थिक वर्ष २०७८/०७९ भन्दा २६ करोड ८३ लाख ८४ हजार अधिक बजेट अनुमान गरेको छ । चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार बजेट विनियोजन गरेकोमा चालु कुल बजेटको ४९ दशमलव १३ प्रतिशत अर्थात् ८० करोड १५ लाख ६२ हजार ३ सय २४ रुपैयाँ मात्र खर्च गर्न सकेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा यस वर्ष जनकपुरधाम उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चारकर्मी, राजनीतिकर्मी तथा सरोकारवालाहरू माझ गरिएको थियो ।

नगर प्रमुख मनोज कुमार साहका अनुसार नगरसभाको दोश्रो दिन शनिबार नीति तथा कार्यक्रममाथि दफाबार छलफल हुनुका साथै आर्थिक ऐन, विनियोजन ऐन, शिक्षा ऐन (परिमार्जनसहित), सार्वजनिक निजी साझेदारी ऐन, सार्वजनिक खरिद ऐन, खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन, संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन तथा संगठन तथा व्यवस्थापन सर्भे ऐन पेस गरी पारित गर्ने कार्यसूचि रहेको छ ।

यस्तै धनुषाका १८ स्थानीय तहमध्ये हंसपुर, विदेह, गणेशमानचाननाथ, मिथिला, मिथिला विहारी, कमला, क्षीरेश्वरनाथ लगायत नगरपालिकाहरूमा नगरसभा सुरु भएको जनप्रतिनिधिहरूले जानकारी दिएका छन् । विदेह नगरपालिकाले भने आर्थिक वर्ष २०७९/०८०को लागि ५१ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?