१७५ किलो गाँजा बोकेको गाडी नियन्त्रणमा‚ चालक र सहचालक फरार

अबधेशकुमार झा

राजविराज — प्रहरीले १ सय ७५ किलो गाँजा बोकेको गाडी नियन्त्रणमा लिएको छ । मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिमराजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित सशस्त्र प्रहरीको चेक प्वइन्टमा शंका लागेर जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

१७५ किलो गाँजा बोकेको गाडी नियन्त्रणमा‚ चालक र सहचालक फरार

को १ ख २९२५ नम्बरको मिनी ट्रकबाट ३ सय ५० किलो अदुवासहित १ सय ७५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले बुधबार सञ्चारकर्मीलाई सूचना दिएको हो ।

सूचनामा सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको ७ जनाको सशस्त्र प्रहरीको टोलीले उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको जनाएको छ । तर‚ सशस्त्रको हतियारसहितको टोलीले जाँच गरिरहँदा गाडीबाट चालक, सहचालकसहित त्यहाँ सवार अन्य व्यक्ति फरार भएको घटनाले शंका उत्पन्न भएको छ ।

सशस्त्र प्रहरीको इन्सपेक्टरको कमान्डमा जाँच भइरहेको र हतियारसहित सशस्त्र प्रहरीको घेरा रहेको स्थानबाट गाडीमा सवार र चालक‚ सहचालक कसरी भाग्न सके भन्ने विषयमा अहिले प्रश्न उब्जिएको छ । सशस्त्रले भने गाडी जाँचिरहेको बेला उनीहरू भागेको जनाएको छ ।

स्थानीय बासिन्दाहरूका अनुसार उक्त मिनी ट्रकमा चालक र सहचालक बाहेक अन्य एक जना पनि थिए । ती एक जना गाँजाको कारोबारी भएको हुन सक्ने आशंका गरिएको छ । ‘सशस्त्रको घेराबाट मानिस भाग्न सक्नु समान्य कुरा होइन‚’ राजविराजस्थित एक सुरक्षा अधिकारीले भने, ‘यो सुरक्षा चुक हो वा मिलेमतो भन्ने विषयमा अनुसन्धान हुनुपर्छ ।’

‘सवारी जाँच गरिरहेको अवस्थामा सुरक्षा कमान्डरले सबै विषयलाई ध्यानमा राख्न सक्नुपर्छ‚’ ती सुरक्षा अधिकारीले भने, ‘७ जना हतियारसहितका सशस्त्र प्रहरीलाई छक्याएर भाग्न सक्नेले उनीहरूमाथि सांघातिक आक्रमण पनि गर्न सक्ने खतरा हुन्छ ।’

कोसी ब्यारेजस्थित सशस्त्र प्रहरीको चेक प्वइन्ट रहेको स्थानमा केही होटेलहरूका अतिरिक्त पूर्वतर्फ कोसी नदीबाहेक अरुतर्फ कि त पानीको दह वा खुल्ला स्थान मात्र छ । ‘यस्तो लोकेसनमा सुरक्षा घेराबाट मानिस भाग्न सक्ने अवस्था न्यून हुन्छ‚’ ती सुरक्षा अधिकारीले थपे, ‘यो भागेको भन्दा मिलेमतोमा भगाइएको हुन सक्छ ।’

कोसी ब्यारेजमै यसअघि पनि गाँजा बरामद भएपनि मानिस भने फरार भएको बताइएको थियो । उक्त जाँचको नेतृत्व गरेका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङले आफूले यसबारे सञ्चारकर्मीसित औपचारिक कुरा गर्न नमिल्ने बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले चालक र सहचालक भागेको भन्नुले आशंका जन्माएको बताए । ‘लागूऔषध गाँजा नियन्त्रणमा लिनुभएकाले उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ तर गाँजा रहेको मिनी ट्रकका चालक र सहचालक भागेको भन्नुले त्यतिकै शंका जन्माउछ‚’ प्रजिअ गौतमले सशस्त्र प्रहरीको जिल्ला नेतृत्वलाई भनेको विषय सुनाउदै भने, ‘सिरियस्ली छानबिनका लागि भनेका छौं ।’

उक्त मिनी ट्रक, गाँजा र अदुवा थप अनुसन्धानका लागि जिल्ला प्रहरीमा बुझाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले गाडी धनी र चालक सहचालकको खोजी भइरहेको बताए ।

प्रकाशित : असार १०, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?