२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मिटर ब्याजले उठीबास हुने त्रास

शंकर आचार्य

पर्सा — वीरगन्ज-६ लोहारपट्टीका ५९ वर्षीय जयप्रकाश अग्रवालले प्रहरी कार्यालय र अदालतको चक्कर लगाउन थालेको ४ वर्ष भयो । उनका छोरा प्रतीकले वीरगन्ज-१५ का जीतेन्द्रकुमार सिंहसँग २०७५ असार २० गते २० लाख रुपैयाँ कर्जा लिएर उक्त कर्जाबापत ६० लाख रुपैयाँको कपाली तमसुक गरिदिए ।

मिटर ब्याजले उठीबास हुने त्रास

२० लाख रुपैयाँ कर्जाको ग्यारेन्टीबापत प्रतीकले सिंहलाई सिद्धार्थ बैंक वीरगन्ज शाखाको २५/२५ लाख रुपैयाँको दुईवटा चेकसमेत काटिदिए ।

२०७५ कात्तिक २५ मा जयप्रकाशले जीतेन्द्रलाई ८ लाख रुपैयाँ नगद दिएर दुईमध्ये एउटा चेक फिर्ता लिए । अर्को चेकको सम्बन्धमा जीतेन्द्रले जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरेर उक्त मुद्दामा उनले २५ लाख रुपैयाँ पाउने गरी मुद्दा फैसला समेत भइसकेको छ ।

२० लाख रुपैयाँको ग्यारेन्टीबापत छोरा प्रतीकले गरिदिएको ६० लाख रुपैयाँको कपाली कागज जयप्रकाशले जीतेन्द्रसँग फिर्ता माग्दा जीतेन्द्रले उक्त कागज दिएनन् । बरु अदालतमा लेनदेन मुद्दा दायर गर्ने धम्की दिए । हार खाएर जयप्रकाशले यही असार १ गते जिल्ला प्रशासन कार्यालय पर्सामा जीतेन्द्रविरुद्ध कारबाही तथा शान्ति सुरक्षाको माग गरी निवेदन दिए । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्ला प्रहरी कार्यालय पर्सालाई जीतेन्द्रलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश दिए ।

प्रहरीले जीतेन्द्रको खोजी गरेको एक साता भइसक्यो; जीतेन्द्र पक्राउ परेका छैनन् । जयप्रकाशसँग सम्पत्तिको नाममा एउटा घर छ; त्यो घर पनि लिलाम गराउने प्रक्रिया जीतेन्द्रले अघि बढाइसकेका छन् । ‘मसँग अब आफू बसेको एउटा घरबाहेक केही सम्पत्ति छैन; त्यो घर पनि लिलाम हुने चिन्ता छ । अदालत र प्रहरी कार्यालयको चक्कर काट्दा काटदा म थाकिसकें,’ उनले भने, ‘मैले अब कहाँबाट न्याय पाउने ? मिटर ब्याज र कपाली तमसुक हाम्रो देशमा अभिशप्त भो; कुष्ठरोगजस्तो भयो ।’

मिटर ब्याजीहरूको चंगुलमा फसेका छोरा प्रतीकलाई विभिन्न व्यापार व्यवसाय गर्ने प्रलोभन दिई मिटर ब्याजी समूहले घेराबन्दीमा पारेको उनले बताए । जयप्रकाश र प्रतीक प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरूजस्ता थुप्रै मिटर ब्याजी र कपाली तमसुक पीडितहरूको बिल्लिबाठ भइसकेको छ ।

चेक अनादरको निवेदन ४ गुणाले बढ्यो

जिल्ला प्रहरी कार्यालयमा बैंकिग कसुर/चेक अनादरसँग सम्बन्धित निवेदनको संख्या पनि ह्वात्तै बढेको छ । कार्यालयको तथ्यांकअनुसार चालु आवमा हालसम्म कार्यालयमा ३ सय १ वटा यस्तो निवेदन परिसकेको छ । जबकि गत आर्थिक वर्षभरिमा जम्मा ७२ वटा यस्ता निवेदन परेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनाल बर्सेनि यस्तो अपराधमा उजुरी आउने प्रवृत्ति बढ्दो क्रममा रहेको बताउँछन् । कपाली कागजको मुद्दा दर्ता गर्दा फैसला हुन लामो समय लाग्ने प्रवृत्ति रहेकाले चेकमार्फत लेनदेन गर्दा मुद्दाको छिटो किनारा हुने भएकाले चेकमार्फत लेनदेन र त्यससँगै बाउन्सका घटना पनि बढ्दो क्रममा रहेको उनले बताए ।

सुरुमा यस्ता उजुरी लिएर आउनेहरु झट्ट हेर्दा पीडितजस्तो देखिए पनि पछि छानबिन गर्दै जाँदा उनीहरू नै पीडक हुने गरेको धेरै घटना रहेको खनाल बताउँछन् । जग्गा कारोबारी र मिटर ब्याजीहरूले यसरी चेकको दुरुपयोग बढी गर्ने प्रवृत्ति रहेको उनले बताए । यस्ता कारोबारीहरूले आफ्नो सावाँभन्दा दोब्बरभन्दा बढी रकमको चेक ऋणीबाट लिने गरेकाले निवेदनमा पीडितलाई झनै अन्याय नहोस् भनेर आवश्यक सजगता अपनाउने गरिएको उनले बताए ।

‘दुवै पक्ष राखेर पूरै विषयवस्तु नबुझ‍ी हत्तपत्त हामी मुद्दामा जाने गरेका छैनौं,’ उनले भने, ‘पछिल्लो समय भने महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार जिल्ला न्यायाधिवक्ता कार्यालयहरूले अदालतमा मुद्दा चलिसके पनि चेक बराबरको रकम लेनदेन गरी दुवै पक्षले मिलापत्र गर्न सक्ने व्यवस्था रहेकाले जिल्ला न्यायाधिवक्ता कार्यालयबाटै मिलापत्र गराउने काम पनि भइरहेको छ ।’

मिटर ब्याजीको हकमा किटान गरी उजुरी परे कारबाही अघि बढाउन तयार रहेको उनले बताए । ‘मिटर ब्याजीको सम्बन्धमा केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले कडाइ गर्ने निर्णय गरेको थियो; केन्द्रबाट पनि त्यस्तै निर्देशन आइसकेको छ,’ उनले भने, ‘हामी मिटर ब्याज पीडितहरूको निवेदन कुरिरहेका छौं; आए कारबाही अघि बढाउछौं ।’

प्रकाशित : असार ९, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?