बर्खामा ज्यान जोगाउनै मुस्किल- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्खामा ज्यान जोगाउनै मुस्किल

लालबकैया, वाग्मती नदीको बाढी र सीमा क्षेत्रको बाँधले बर्सेनि डुबान
शिव पुरी

रौतहट — अघिल्लो बर्खाको बेला रौटहटको राजदेवी नगरपालिका–३ स्थित चन्डिया गाउँ चुर्लुम्म डुब्यो । असारको अन्तिम साता लगातार पानी परेपछि डुबानमा एक घर पनि ओभानो बसेनन् । गाउँका मानिस घर छाडेर बाँधमाथि त्रिपाल राखेर कष्टसँग बसे ।

डुबानले घर भत्किएर केही घाइते भए । स्थानीय जयराम साहको घर ढल्यो । उनीलगायत परिवारका सदस्य घाइते भए । धन्न ज्यान जोगाएको साहले सुनाए ।

चन्डियावासीका लागि यो घटना पहिलो पटक होइन । बर्खा लागेपछि स्थानीयलाई डुबानले ज्यान जोगाउनै मुस्किल हुन्छ । नजिकै रहेको वाग्मती नदीमा बाढी आएपछि यही गाउँमा पस्छ । ‘बर्खाका बेला ज्यान जोगाउनै मुस्किल पर्छ,’ जयरामले भने, ‘सरकारले स्थायी समाधान खोज्नुपर्छ । होइन भने सधैं पीडामा बाँच्नुपर्ने नियति बनेको छ ।’ चन्डियाबस्तीमा झन्डै २ सय घरपरिवार छन् । उनीहरू सबै विस्थापित हुन् । वाग्मतीको बाढीबाट हुने धनजनको क्षति रोक्न भारत सरकारको सहयोगमा ४४ किलोमिटर बाँध निर्माण गरिएको छ । त्यही बाँधको आडमा विस्थापित बसेका छन् ।

अहिले बर्खाको समय सुरु भइसकेको छ । सदरमुकाम गौरलगायत सीमाक्षेत्रका गाउँलेहरू बढी चिन्तामा छन् । चुरेदेखिको पानी सीमा क्षेत्रको बाँधमा पुगेर जलमग्न हुन्छ र गाउँ डुबानमा पार्छ । लगातारको वर्षापछि लालबकैया र वाग्मती नदीको बाढी बस्ती पसेपछि बर्सेनि ८० प्रतिसत भूभाग डुब्ने गरेको छ । बाढीले बगाएर र डुबानमा परी कैयौंले ज्यान गुमाउँदै आएका छन् ।

२०५० सालदेखि डुबान र बाँध राजनीतिक मुद्दा बन्दै आएको छ । तर यसले स्थायी समाधान पाउन नसकेको प्रदेश सांसद बाबुलाल साहले बताए । ‘बर्खाका बेला सीमा क्षेत्रका बासिन्दालाई ज्यान जागाउनै मुस्किल पर्छ । सरकार जहिले पनि रमिते बन्ने गरेको छ,’ उनले भने, ‘जुनसुकै समस्याको पनि समाधान हुन्छ । तर मधेसको डुबानको समस्या ज्युँकात्युँ छ ।’

दुई दिनअघि प्रशासनले जिल्लाभरका स्थानीय तहका प्रमुखलाई विपद्विरुद्धको तयारीमा लाग्न निर्देशन दिएको थियो । बर्खामा प्रशासनले यसरी बैठक र निर्देशन दिने काम हुँदै आए पनि समस्या समाधान भने हुन नसकेको स्थानीयको बुझाइ छ । दुर्गाभगवती गाउँपालिका ५ स्थित वाग्मतीको बाँधको आडैमा घर बनाई बसेकाहरू पनि बर्खाको बेला ज्यान जोगाउन घरै छाड्ने गर्छन् । यहाँ बर्सेनि ठूलो धनजनको क्षति हुन्छ ।

२०४८ सालदेखि यो बस्तीका मानिस वाग्मती नदीबाट पीडित छन् । त्यसबेला झन्डै ५ सय बिघा जमिन बगाएको स्थानीय बताउँछन् । ‘बर्खाको बेला आफू र परिबारको ज्यान जोगाउने चिन्तामा बित्छ,’ स्थानीय प्रमोद दासले भने, ‘२९ वर्षदेखि गाउँले त्रासमा छन् । तर सरकार सुन्दैन् ।’ बांधमुनी झण्डै ३ सयको हाराहारीमा घर छन् । बर्खामा ति सबै डुब्छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले रौतहटको मुख्य समस्या भनेकै बाढी र डुबान भएको बताए । ‘हामीले यसपालि क्षति न्यूनीकरणका लागि सबै पालिकालाई तयारी अवस्थामा रहन भनेका छौं,’ उनले भने, ‘सीमा क्षेत्रको बाँधले डुबानको समस्या निम्त्याएको छ । यो माथिल्लो निकायबाटै पहल हुनुपर्छ । हैन भने बर्सेनि समस्या उस्तै हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार २०७६ यता ३ वर्षमा जिल्लाका विभिन्न स्थानमा बाढी र डुबानबाट ९० जनाको ज्यान गएको छ । दुई महिलासहित ६ जना बेपत्ता भए । झन्डै ७० हजार घर प्रभावित भएका छन् । २० हजार घरपरिवार विस्थापित र ४ सय घर पूर्ण रूपले क्षति भएका छन् ।

प्रकाशित : असार ९, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकामा ५ वर्षमुनिका बालबालिकालाई कोरोना खोप लगाउन सुरु गरियो

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकामा ५ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सीडीसी) ले अनुमति प्रदान गरेसँगै अमेरिकामा ६ महिना पुगेका बालबालिकालाई समेत कोरोनाविरुद्धको खोप लगाउने बाटो खुलेको हो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण सामान्य रूपमा बढ्दै गएकाले पनि बालबालिकालाई खोपको अनुमति दिइनु महत्त्वपूर्ण भएको जनस्वास्थ्यविद्हरूले जनाएका छन् ।

महामारी सुरु भएयता अमेरिकामा ५ वर्षमुनिका करिब २० हजार बालबालिका अस्पताल भर्ना भएको र २०० जनाको मृत्यु भएको तथ्यांक छ । अमेरिकामा ५ वर्षमुनिका करिब १ करोड ७० लाख बालबालिका खोपका लागि योग्य भएका छन् ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनको अनुमतिअनुसार बालबालिकालाई मोडर्नाको दुई डोज दिइनेछ । चार हप्ताको अन्तरालमा २५ माइक्रोग्रामका दरले दुई डोज खोप लगाइने छ । त्यस्तै ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई फाइजर/बायोएनटेकको भने ३ माइक्रोग्रामका दरले ३ डोज खोप दिइनेछ । फाइजरको भने सुरुमा २१ दिनको अन्तरालमा दुई डोज र तेस्रो डोज दोस्रो डोज लगाएको दुई महिनापछि लगाउनुपर्नेछ ।

यो उमेरसमूहका बालबालिकालाई संक्रमणबाट बचाउन मोडर्नाको खोप ५०.६ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । यो उमेरसमूहमा फाइजरको खोपको प्रभावकारिता भने सार्वजनिक गरिएको छ ।

प्रकाशित : असार ९, २०७९ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×