भारतीय अर्केष्ट्राबाट उद्धार गरिएका ९ नेपाली चेली अझै फर्किन सकेनन्- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय अर्केष्ट्राबाट उद्धार गरिएका ९ नेपाली चेली अझै फर्किन सकेनन्

शंकर आचार्य

पर्सा — झण्डै तीन साताअघि भारतका विभिन्न अर्केष्ट्राबाट उद्धार गरिएका ९ नेपाली चेलीहरू अझै स्वदेश फर्किन सकेका छैनन् । भारतको बिहारस्थित रामगढवा प्रहरी थानाले जेठ २१ गते रामगढवा क्षेत्रका विभिन्न आर्केष्ट्राबाट ती नेपाली चेलीहरूलाई उद्धार गरेको थियो ।

९ मध्ये ४ सुनसरी, २ सिराहा, १/१ जना बारा, धनुषा र कास्कीका छन् । उनीहरू १६ देखि २५ वर्ष उमेर समूहका छन् । तीमध्ये ६ नाबालिका हुन् । माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार हाल मोतिहारीस्थित बालिका गृहमा आश्रित ती नेपाली चेलीहरूलाई भारतीय प्रहरीले उद्धार गरेपछि मोतिहारी जिल्ला अदालतमा पेस गरेको थियो ।

अदालतको आदेशपछि उनीहरूको स्वास्थ्य र उमेरसमेत परीक्षण गरिएको थियो । त्यसपछि अदालतले मोतिहारीस्थित मानव बेचबिखन विरुद्ध सक्रिय संस्थाहरू आइडिया र प्रयासलाई ती नेपाली चेलीहरूलाई नेपाल फर्काउन सहजीकरणको भूमिका खेलीदिन आग्रह गरेको थियो ।

दुवै संस्थाले माइती नेपाल वीरगन्ज आवधिक गृहसँग यस सम्बन्धमा समन्वय गरेपछि माइती नेपालले ती चेलीहरूको घर ठेगाना र अभिभावकसमेत पत्ता लगाएको पौडेलले बताइन् ।

‘भारतको अदालतले माग गरे बमोजिम माइती नेपालले ती चेलीहरूको घर ठेगाना र अभिभावको पनि पत्तो लगाइसकेको छ,’ उनले भनिन्, ‘चेलीहरूको जन्मदर्ता, नागरिकता लगायत आवश्यक कागजात करिब संकलन भइसकेको तथा सबैका अभिभावक सम्पर्कमा आइसकेका छन् र उनीहरू आफ्ना छोरी भारतबाट फर्काउन आतुर रहेका छन् ।’

माइती नेपालले चेलीहरूको जन्मदर्ता, नागरिकता लगायत कागजात संकलन गरी आइडिया र प्रयास संस्थालाई बुझाएपछि ती संस्थाले मोतिहारी अदालतमा उनीहरूको कागजात पेस गर्ने छन् । त्यसपछि अदालतले बालिग चेलीहरूलाई उनीहरूको अभिभावकको जिम्मा लगाउने आदेश दिने छ भने नाबालिक चेलीहरूलाई त्यहाँस्थित बाल कल्याण समितिको जिम्मा लगाउने छ ।

समितिले आवश्यक प्रक्रिया पूरा गरी नाबालिका चेलीहरूलाई माइती नेपालको मार्फत उनीहरूको अभिभावकको जिम्मा लगाउने छ । उद्धार गरिएका चेलीहरू आकर्षक जागिरको प्रलोभनमा परी विभिन्न नाकाबाट फरक फरक मितिमा भारत पुगेका थिए । अर्केष्ट्रामा उनीहरूलाई बन्धक बनाएर गीतमा अश्लिल नृत्य गराइन्छ । मानसिक र शारीरिक शोषणसमेत हुने र आफ्नो पारिश्रमिकसमेत नपाउने हुँदा उनीहरूको जीवन कष्टकर हुन जान्छ ।

प्रकाशित : असार ८, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्

ललितपुर महानगरले ल्यायो घाइते जनावर बोक्ने एम्बुलेन्स

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स सेवा सुरु गरेको छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरपालिकाले एम्बुलेन्स सेवा सन्चालनमा ल्याएको हो ।

मेयर चिरीबाबु महर्जनले बुधबार एक कार्यक्रमकाबीच एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरे । मेयर महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्‍याउन सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरेको बताए ।

'हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडक पेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदो रहेछ, त्यसैले महानगरले एम्बुलेन्सको व्यवस्था गरेको हो,' उनले भने ।

स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताइन् । 'बिरामी गाईलाई बोक्न निकै अप्ठ्यारो हुँदै आएको थियो, अब सजिलो भएको छ,' उनले भनिन् ।

महानगरले ४० लाखमा एम्बुलेन्स खरिद गरेको हो । महानगरपालिकाले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो ।

प्रकाशित : असार ८, २०७९ १४:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×