मासिएको कुलो सफा गर्दै जनप्रतिनिधि

चन्द्रपुरको टेकान र चिडियादह हुँदै दक्षिण भेगमा निर्माण भएका एक सयभन्दा बढी कुलो मासेर बाटो
शिव पुरी

रौतहट — प्लटिङले मासिएको कुलो जनप्रतिनिधिले फेरि बनाउन थालेका छन् । चन्द्रपुर नगरपालिकामा पुरिँदै गएका र मासिएका कुलो फेरि बनाउन थालिएको हो ।

चन्द्रपुर नगरपालिका, ५, ६, ८ र ९ नम्बर वडामा प्लटिङ र केही किसानले नै पुरानो कुलो मासेका थिए । नगरपालिकाका कार्यपालिका सदस्य नेत्र कुशवारले पुराना मासिएका र पुरिएका कुलो धमाधम सफा गर्ने काम भइरहेको बताए । ‘चुरेदेखिको पानी कुलो हुँदै किसानको खेतमा पुग्थ्यो,’ उनले भने, ‘कुलो मासिएपछि बर्खाको बेला निकास नभएर पानी जति सडकमा आउन थाल्यो । त्यसैले कुलो सफा गर्न थालेका छौं ।’ केही समयअघि वडा नम्बर ८ स्थित घोडदेवी मन्दिर छेउमा कुलो मासेर ह्युमपाइप राखेर बाटो बनाउन लाग्दा स्थानीयले भत्काइदिएका थिए ।

कुलोको माध्यमबाट किसानको खेतमा पानी लाग्ने गरेकामा मासेपछि समस्या हुने भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । तर बेवास्ता भएपछि प्लटिङको नाममा कुलो मास्ने काम भएको किसानको भनाइ छ । यस क्षेत्रमा चार दशक पुराना कुलो र पैनी छन् । ती सबै मासिएपछि किसानले बोरिङ, पम्पसेटको माध्यमबाट सिँचाइ गर्न थालेका हुन् ।

चन्द्रपुर–६ स्थित झनझने टोलमा चार दशक पुरानो कुलो मासिएको छ । अहिले वडा अध्यक्ष सहदेव केसी आफैं जेसीबी लगाएर कुलो खन्न र सफा गर्न थालेका छन् । नापी कार्यालयमा नक्सा पास भएका कुलोसमेत मासिएका छन् । प्लटिङ व्यवसायीले कुलो मासेर बाटो बनाइसकेका छन् । नापी कार्यालय चन्द्रपुरका प्रमुख सबिक विकले नक्सामा पैनी, कुलो कायमै रहे पनि धेरै ठाउँमा मासेको गुनासो आएको बताए । ‘नगरपालिकाबाट नाप्न पत्र आयो भने हामीले तत्कालै त्यस्ता ठाउँमा गएर कुलो यकिन गर्न सक्छौं,’ उनले भने, ‘सार्वजनिक कुलोहरू संरक्षण गर्ने दायित्व नगरपालिकाको पनि हो ।’

चन्द्रपुरको टेकान र चिडियादह हुँदै दक्षिण भेगमा निर्माण भएका एक सयभन्दा बढी सार्वजनिक कुलो, पैनी प्लटिङको नाममा मासेर बाटो बनाइएको छ ।

नापी कार्यालयको नक्सामा उल्लेख भए पनि अहिले मासेर प्लटिङ व्यवसायीले धमाधम बाटो बनाएर जग्गा बिक्री गरिरहेका छन् । नगर प्रमुख सञ्जय काफ्लेले कुलो मास्न नदिने बताए । ‘पहिला जे भयो थाहा छैन । अब कुलो–पैनी मास्न दिँदैनौं,’ उनले भने, ‘कुलो, पैनी किसानको लाइफलाइन हो । यसको संरक्षण गर्नुपर्छ ।’

प्रकाशित : असार ८, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?