कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सिर्सिया नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाहीको माग

शंकर आचार्य

पर्सा — सिर्सिया नदी एवम् वीरगन्ज प्रदूषणमुक्त अभियान वीरगन्जले सिर्सिया नदी प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई कारबाहीको माग गरेको छ । वीरगन्ज महानगरपालिकाबाट निस्कने फोहोरसहित पानीलाई ‘वाटर ट्रिटमेन्ट’ गरी नदीमा हाल्न माग पनि अभियानले गरेको छ ।

सिर्सिया नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाहीको माग

अभियानले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, वीरगन्ज उद्योग वाणिज्य संघका सचिव आशीषकुमार लाठ र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई सोमबार छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानका संयोजक सुरेन्द्र कुर्मीसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको थियो ।

नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक र अनुसूची ८ मा रहेको आधारभूत स्वास्थ्य सरसफाइ वातावरण संरक्षण र जैविक विविधता स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेको उल्लेख गर्दै पत्रमा वीरगन्ज महानगरपालिकाको बीच भएर बग्ने सिर्सिया नदी बाराको रामवनबाट निर्मल जलसहित सुरु भई वीरगन्ज महानगरपालिका- १ छपकैंयासम्म पुग्दा विषमा परिणत हुने गरेको उल्लेख छ ।

‘यस नदीलाई महानगरपालिकाभित्र रहेका नेसनल लेदर इन्डस्ट्रिज प्रालि, बायोटेक इन्डस्ट्रिज प्रालि, नेपाल लेदर इन्डस्ट्रिज प्रालि, सुशील वनस्पति प्रालि, अर्निका प्रोसिस, मोरियम लेदर, त्रिशक्ति सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कलश सिमेन्टलगायत उद्योगहरूले आफ्ना उद्योगबाट निस्केको बोसो, रौं, रसायन, पशु शरीरको ठोस अवशेष पानीमा मिसाएर नालामार्फत सिर्सिया नदीमा पुर्‍याउँछन् साथै उद्योगबाट निस्कने छाई (खरानी) नदीको किनारमा थुपार्ने गर्दछन्,’ पत्रमा भनिएको छ, ‘वीरगन्ज महानगरपालिकाले आफ्ना सबै फोहोर पानीको नाला नदीमै झारेको छ, जसबाट सहरभरिका स-साना उद्योग र शौचालयबाट बग्ने पानीले पनि नदीलाई दुर्गन्धित पार्दछन् ।’

सिर्सिया नदीको पानी प्रदूषणबाट नदीका सम्पूर्ण जलचरहरू मरिसेका छन्; माछा, भ्यागुता देखि सर्पसमेत अब नदीमा देखा नपर्ने गरेकाले नदी प्रदूषणको कारण जैविक विविधता समाप्त भइरहेको र नदीसँगै जोडिएका गाउँमा नदीकै पानीबाट तरकारी खेती हुँदा तरकारी पनि विषादीयुक्त हुन्छ; प्रदूषित नदीले गर्दा छाला, मुटु, क्यान्सर, दमा रोगीहरूको संख्या बढ्दै गएको पत्रमा उल्लेख छ ।

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले सिर्सिया नदी प्रदूषणमुक्त बनाउन वीरगन्ज महानगर र जीतपुर सिमरा उपमहानगरपालिकाको सरोकारवालाहरूको संयुक्त बैठक राखेर त्यसपछि के-कसरी अघि बढ्ने तथा काम कारबाही अघि बढाउन आफू तयार रहेको बताए । यसैगरी, वीरगन्ज उद्योग वाणिज्य संघका सचिव लाठ र वीरगन्ज महानगरपालिकाका मेयर सिंहले पनि सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सक्दो सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरेका थिए ।

प्रकाशित : असार ६, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?