जिसस सर्लाहीमा कांग्रेसका सिंह निर्विरोध 

ओमप्रकाश ठाकुर

सर्लाही — जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका कौशलकिशोर सिंह निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रमअनुसार शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवार मनोयन दर्ताको समय छुट्याइएकोमा कांग्रेस र माओवादी गठबन्धनबाट सिंहको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला समन्वय समितिको प्रमुखसहित उपप्रमुख र सात जना सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । 

जिसस सर्लाहीमा कांग्रेसका सिंह निर्विरोध 

कांग्रेसले प्रमुखसहित छ जना सदस्य र माओवादीले उपप्रमुखसहित एक जना सदस्य भागबन्डा गरेर मनोनयन दर्ता गराएका थिए । उपप्रमुखमा माओवादीबाट जीतेन्द्रकुमार महतो निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा कांग्रेसका तर्फबाट रामबहादुर बोम्जन, अलाउदिन मियाँ, रामशिलाकुमारी यादव, रेखादेवी साह, पासवतीदेवी थरुनी र सोनावतीदेवी निर्वाचित भए । अर्का एक सदस्यमा माओवादी पार्टीको तर्फबाट हेम कार्की निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले एकलरुपमा मनोनयन दर्ता भएपछि निर्विरोध भएको जनाएको छ । यद्यपि औपचारिकरुपमा भने असार ५ गते घोषणा गरिने निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिए ।

जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसलाई स्पस्ट बहुमत भए पनि माओवादीसँग तालमेल गरेको थियो । २० पालिका रहेको सर्लाहीमा ४० मतदाता छन् । जसमध्ये कांग्रेससँग १२ पालिकाको प्रमुख तथा ११ पालिकाको उपप्रमुख गरी २३ मत रहेको छ । माओवादीसँग ८, जसपासँग ४, एमालेसँग ३ र लोसपासँग २ मत रहेको छ ।

कांग्रेसले समन्वय समितिमा घात हुने शैका गर्दै तालमेल गरेको बुझिएको छ ।

नेताहरुले स्पस्ट बहुमत हुँदाहुँदै तालमेल गर्नु पार्टी हीतविपरित भएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

प्रकाशित : असार ३, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?